Nepali Poems | नेपाली कविता
Offline Thinker has been publishing Nepali Poems since day one of its establishment. We have received more than 100+ submissions from across Nepal and beyond. Writers here are free to choose their words and language.
Presenting you a compilation of their works:
Nepali Poems/ नेपाली कविता
गुनासो | Nepali Poem | Akash Suyal
#गुनासो
बादल लाग्दैमा आज
घाम अस्तायो नभन्नु
बोलिन भन्दैमा तिमीसित
म रिसायो नभन्नु
म त सधैँ तिमीलाई नै हेर्ने गर्छु
कहिलेकाहीँ आँखा झिम्काए भन्दैमा
मैले भुल्न खोजे नभन्नु।
खोल्सामा पानी जम्दैमा
त्यसलाई नदी नभन्नु
म उनीसित नजिकिए भन्दैमा
म तिम्रो होइन नभन्नु
म त सधैँ तिमीलाई नै पाउने आश गर्छु
कहिलेकाहीँ मेरो अँगालोमा च्यापे भन्दैमा
तिम्रो स्वतन्त्रता लुटे नभन्नु।
तिमीले हेर्दा मैले हेरिन भन्दैमा
मेरा आँखाहरु अर्कै तिर मोडिए नभन्नु
तिमी बोल्दा म बोलिन भन्दैमा
मेरा ओठहरुले तिमीलाई चाहेनन् नभन्नु
म त सधैँ तिमीलाई नै माया गर्ने गर्छु
कहिलेकाहीँ तिम्रो अँगालोमा म निदाए भन्दैमा
मैले तिम्रो निन्द्रा खोसे नभन्नु।
तिमीले अँगालो हाल्दा मैले वास्ता गरिन भन्दैमा
मैले तिम्रो माया बुझिन नभन्नु
खास म तिम्रो न्यानोपन र नसालु हेराइमा लठ्ठ परेको थिए
तिम्रो र मेरो तन नजिकिँदा पनि मैले टाउको फर्काए भन्दैमा
मैले तिम्रो आशय बुझिन नभन्नु
खास म तिम्रो ओठलाई सजिलो पार्न आफ्नो नरम गाला फर्काएको थिए।
म चिया लभर | Chiya Lover | Nepali Poem
चट्ट आधा चम्चा चिनी हालेर
चियापत्ती र पानीमा घोली
एक गिलास चिया चुस्की हान्दै
चिसिदै गरेको चाखलाग्दो साझमा
चियाउदै छु चित्त नबुझेको जीवनलाई।
चिटिक्क परेको मान्छेलाई
चिनेको नचिनेको सबैलाई
चट्ट हेर्दै, चियाको चुस्की हान्दै
चुर्लुम्म डुब्दैछु अन्योलको भविष्यमा।
अर्को चुस्की चिया
यस पटक फरक स्वादमा
चार दिन अघि चार बजे तिरको कुरा सम्झिँदै
घरको चोकमा चोरीको नाममा
चुरा बजार्दै चुसिएको काइलालाई
चौपटै पार्ने गरी चड्काएका थिए
चान्दनी आन्टीले।
तेस्रो-चौथो चुस्कीसँगका बातहरु
चुर्ना परेका समाजका नकचराहरुलाई समर्पित
जस्ले न चरालाई निस्फिक्री उड्न दिन्छन्
न चराझै उड्न चाहने कलिला सपनाहरुलाई
मात्र आफ्नै चाहना अरुमा थोपार्दै जान्छन्।
अन्तिम चियाको चुस्की
न जीवनमा सुखीका रस आए झै लाग्छ
न जीवनले जिउने जीउ पाएछ झै
सायद चिया जस्तै रहेछ साराको जीवन,
हरेक जीवनका चुक्सी लोभलाग्दो त हुने तर
तर अन्त्मा रित्तो गिलास झै खाली हुने रहेछ जीवन।
Direct Link: https://offlinethinker.com/chiya-lover/
निशब्द सम्बन्ध | Secret Thinker | Nepali Poem
एक शब्द, एक सोच, एक क्षण
काफी छन् सम्बन्ध छुट्टाउन।
भाग १
दिक्क लाग्यो, किचकिच भयो,
वाक्क दिन यहाँ, थिचमिच नै भयो-
‘पुग्यो’ अब बस्नु छैन तिमीसँगै
बाधिएका बन्धन छुट्टाउदै छु म
एक शब्द, एक सोच, एक क्षण
काफी छन् सम्बन्ध टुटाउन।
भाग २
कहाँ थियौ, को सित नि भन
झूठो नबोल, जालझेल नखेल,
‘ब्रेकअप’
जाउ तिमी त्यहि सित बस
बाच्न देउ एक्लै मायाको नाममा यो पापी संसारमा
एक शब्द, एक सोच, एक क्षण
काफी छन् सम्बन्ध बिथोल्न।
भाग ३
फरक वचन, फरक वरण, फरक व्यवहार-
तिमी फेरियौ, तिमी-तिमी रहिनौ
‘डिभोर्स’- बरु एक्लै नै जिउँछु
दानव र दुःखबाट टाढा बसेको बेस
एक शब्द, एक सोच, एक क्षण
काफी छन् सम्बन्ध छुट्टाउन।
आमाको युद्ध | Nepali Poem by Bijayata Bhandari
अभाव र ओजले उमारिएका उर्जाहरु
आगो बनेर बल्न नसके पछी अगेनामा
भयंकर युद्ध लडिरहेकी छिन् आमा !
छोराको भविष्य सिँन्चाउन बगाउँछिन् पसिना
र, ढुुङ्गालाई दिएर आफ्नै शरिर खाना
लड्छिन् गिट्टी-मार्तोलसँग युद्ध !
जब मार्तोलले निरन्तर ओकल्छ कर्कश ध्वनि
आमा सुन्न सक्दिनन् छोराको चिच्याहट पनि
जब सुन्छिन् आतिएझैं कतै
काखमा च्यापेर चुसाउँछिन् पालैपालो स्तन
र, खसाउँछिन् आमा-
पसिनाजस्तै आँसु तप्प-तप्प छोराको निधारमा !
धर्तीले बोझ बोकेर आँगनमा सुन्दर
फूल फुलाएझैँ-
फुलाउनु छ आमालाई पनि सन्तान !
आफू बनेर वेगवान पानीले छोडेको बगर जस्तै
हुर्काउनुछ आमालाई पनि सपना केही थान !
र, लगाइदिनुछ छोरालाई आङमा भोटो !
घामको तापले सुकाएको शरिर बनिसक्यो कंकाल जस्तै-
लाग्छ आमालाई गुमाएको छैन केही
आमा हरेक क्षण महसुस गर्छिन् छोराको मुख हेरेर-
संसार पाएको जस्तै !
हारे पनि जितेको जस्तै !
पानीले रङ्ग बदले जस्तै
बदलिँदो छन् अझ आमाका सपना र रहरहरु
अफसोच् !
त्यही ढुङ्गाझैँ फुटिरहेछन्
आमाका विश्वास र आशाहरु
दिनेहरुले उर्लदो नदिलाई जस्तै
भगवान, देवी हजारौं नाम दिए आमालाई
तर,
बुझ्न सकेनन् आमाको दुःखको वजन !
सोध्न चाहेनन् कति सुत्छन् दु:ख आमालाई सिरानी हालेर !
आमा शक्ति हुन् /आमा श्रोत हुन् !
आमा शब्द हुन् / आमा स्वर हुन् !
आमा लक्ष्य हुन्/ आमा श्वास हुन् !
विश्व परिक्रमा गर्ने ए घाम, जून…हो
भनिदिए हुन्छ ती नालायक सन्तानहरुलाई-
बगरलाई साथी बनाएर तिम्रो खुसी किनीदिने आमा
यतिबेला, निरीह नदिझैं रोइरहेकी छिन्
त्यो रैथाने बगरले पनि
तिमीले जस्तै चिन्न छोड्यो रे तिम्रो आमाको अनुहार !
ढुङ्गा फुटाएर नियति जोड्ने क्रममा
भिजेको आमाका आँखामा लागिरहेछ आजसम्म घाम !
गिट्टी बटुलेझैं सपना बटुलेर बगरमा माया रोप्ने आमाहरु
अस्ति अभावसँग युद्ध गर्थे सन्तानलाई फूल जस्तै फुलाउन
आज पनि युद्ध गर्दैछन् त्यही सुन्दर फूल जस्तै फुलेको काँडाले घोचेको तिरस्कार भुलाउन !
रित्तिए हजारौं खुसीहरु-
रित्तो हुनै सकेन दु:खको भकारी !
सकियो लालुपातेझैं फुलेको जवानी-
सकिँदै सकिएन तर आँसुको जिन्दगानी !
काखमा च्यापेर सन्तान
चुसाउँदै पालैपालो स्तन
ढुङ्गा कुट्ने आमा जस्तै
हजारौं आमाको युद्ध
हिजो जस्तै छ आज पनि….!
चोखो प्रेम | नेपाली कविता | Nepali Poem by JS Thakuri Hambradge
प्रेमको अंकुरा टुसाए पछि,
मनसँग मन साँटिए पछि,
भेट तेस्रो,चौथो जति होस,
पहिलो पल्ट जस्तै लाग्छ,
ठिहिर्याउँदो पुष-माघको जाडोको ,
चिसो-चिसो बतासको,
आँखा तन्काई हेर्ने अपरिचितको,
कसैको बाल लाग्दैन,
हात समाएर,
उनको साथमा,
चिसो मौसममा,
चिसै आईसक्रिम चुस्दै,
पाईला गिन्दै,
हिन्दै गर्दा पनि,
कस्तो तातो-तातो
न्यानो-न्यानो पनको,
आभाष हुँदो रहेछ,
र त,
झम्सिखेलका गल्लिहरुमा,
पाटनको कृष्ण मन्दिरमा,
बसन्तपुरका चोक-चोकमा,
यस्तै-यस्तै,
हेर्दा सामान्य लाग्ने,
अपरिचित पनि होइनन,
तर अनौठा,
दृश्य भनौं कि,
परिदृश्य,
सहजै देख्न पाइन्छ्न् !!!
के चोखो प्रेम यस्तै हुन्छ र ???
नेपाली कविता ‘आशा साहनी’ | Nepali Poem | जनक कार्की | Offline Thinker
ऋतु मेरो प्राण्
धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट
मलाई स्पर्श गरेर गएका छन्।
नछोएको त तिमीले मात्रै हो ऋतु
किन प्रकृतिमा ऋतू जस्तै सन्तान फर्किने नियम छैन?
यो मेरो शयनकक्ष भित्र
धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर
एकचोटि मात्र एकचोटि आएर धुलो पुछेर जाउँ
मेरो दृष्टि बन्द हुनु भन्दा पहिले
म तिमीलाई हेर्न चाहन्छु ऋतू।
तिम्रो बाबाले ल्याएको क्लाशिक घडी
तिमी आउने पछिल्लो समयको घोषणामा
अवरुद्ध भएर झुण्डिएको छ
यो स्थिर समय; तिम्रो आगमनले चलायमान होस्
हाम्रो बगैँचाको त्यो आँपको वृक्ष
जाहाँ तिमीलाई आँप खुवाउथे म
आज बूढो भएको छ म जस्तै
थोती,कुप्री,उजाड, उदास छ
गुँड लगाएर बसेका जुरेली पनि बसाइँ सरिसके
ढल्नु भन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ ऋतू। सास त चलेकै छ
ऋतू
यो आशाको आश मर्दैछ
सास चल्नु मात्रै पनि जीवित हुनु रहेनछ
आश नभएको जीवनको अनुराग भएन।
कुनै दिन तिम्रो व्यस्त समयमा
यो आशा तिम्री आमालाई सम्झियौ भने
धेरै त केही भएको हुनेछैन
मेरो माशंपेशीहरू गलिसकेका हुनेछन
अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ।
मेरो हातमा एउटा चिठी हुनेछ
जसमा लेखिएको हुनेछ
मेरो अन्त्योष्टीमा; मेरो अस्थी सङ्गै तिम्रो पश्चाताप जलाइदिनु
तिमी दुखी भएको हेर्न सक्दिन
यो बूढो घर बेचिदिनु
र तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनु
जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन
अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान्
तिम्रो सन्तानलाई सिकाउनु
पैसा भन्दा ठूलो ममता र करूणा हो
तिम्री आमा आशा साहनी।
बाबालाई चिठी | Suman Ghale | Nepali Poem | Offline Thinker
यो वर्षदेखि बा तिम्रो अठासी लाग्यो है?
तिम्रा ती गह्रौँ काँध मल्लिन भयो है ?
तिम्रा ती हत्केलाहरुमा चिरा पर्यो है ?
तिम्रा ती बहादुरी गालाहरु चाउरियो है ?
तिम्रा ती नयनहरु
अनि तिम्रा ती पाँउहरुको चाल खस्किए पनि,
बा तिम्रा ती ओष्ठे शब्दहरु अझै ताजै छन् ।
सानो छँदा हात समायौ तिमीले,
अनि जब म वयस्क भएँ जिम्मेवारी थमायौ तिमीले,
तिम्रा ती गह्रौँ शव्दहरूको इन्कार गर्दिन म,
कारण ती त मेरा पथप्रदर्शक भएका छन् ।
तिम्रा ती चम्किला मुहारलाई बिर्सिदिन म,
कारण ती त मेरो जिउने आधार बनेका छन्,
निराशामा जिउने आश बनेका छन्।
हो मलाई थाहा छ म निर्बल छु,
यो राजधानीको कोलाहलबिच एक्लिएको छु,
अपरिचितहरु सामु आफ्नो पहिचान खोज्न मिसिएको छु
तर संकोच नमान्नु है बा
यी नै भिडबाट तपाईंको शिर उठाउने
अनि यिनै अपरिचितहरु सामु परिचित गराउने प्रयत्न गर्दैछु।
खिन्न त लाग्ला बाबा कारण म तपाईंदेखि टाढिएको छु,
बुढेसकालमा सहारा दिन छोडेर परदेशिएको छु,
तर बाबा चिन्तित नहुनुहोस्
म एक दिन अवश्य फर्केर आँउनेछु
कारण मलाई तपाईको शरीरमा टालिएको त्यो पुरानो गेला पनि त फेर्नु छ
आमाको त्यो चिराचिरा भएर सिलाइएको चोलाको तुना पनि त रङ्गाउनु छ
बहिनीले पनि त्यही पोहोर दशैंमा कान्छा मामाले ल्याइदिनु भाको गुन्यु नै लाइरा होलिन् है बाबा ?
उनलाई पनि त एक जोड नयाँ लुगा लाउने इच्छा होला नि है ?
म सबै आकांक्षाहरुको संसारलाई नयाँ रुप दिन फर्कि आउनेछु
अस्ती बिहान पल्लाघरे कृष्ण झ्यालखानामा पर्यो रे
त्यो माइलाको छोरो हरि लागुऔषधमा समातियो रे
रामे र श्यामे त सुन तस्करीमा समातियो रे
जस्ता समाचारहरुदेखि नआतिनु है बाबा
कारण तपाईंका पुत्रका हत्केला अनि नयनहरु
तपाईंको मार्गदर्शनले अभिप्रेरित छन्
मानवतावादी सोचले ग्रस्त छन् ।
बधुराम काकालाई एउटा पत्र थमाइदिएको छु
जहाँ तपाईं मेरो सन्चो बिसन्चोका खबरहरु मात्र पाउनुहुनेछ
अह साच्ची! आमालाई पनि ढोक प्रणाम छ भनिदिनु है
बिचरा उनी मेरो बाटो हेर्दै बस्तिहुन्
मिठो मसिना हातमा पर्नासाथ मलाई सम्झिदो हुन्
हरेक दिनको दुर्घटनाका सामाचारहरुदेखि तर्सिदो हुन्
उनलाई ढुक्क हुनुहोस भनी भनीदिनुस् न है बा,
समाज नवीकरणको गह्रौं भारी बोकिरहेको म
समाज परिवर्तनका वकालतहरु लिई तपाईहरुसामु अवश्य उपस्थित हुनेछु।
सुतेपछि… | नेपाली कविता | Nepali Poem| Aryan Dhimal
सुतेपछि म प्रधानमन्त्री भएको देख्छु
देशलाई समृद्ध भएको पाउँछु
हेर्छु जता ततै समृद्धी छाएको देख्छु
चिसो पेटीमा निदाएका दाजुभाईलाई सपनाको महलमा बसाउँछु
खाडीमा गलेका ति हातखुट्टा आफ्नै जन्मभूमिको हिलोमा रमाएको देख्छु
अनि बिरानो सडकमा टिलपिल गर्दै हेर्दै बसेका ती बुढा बाबै बुढी आमोइलाई आफ्नै सन्तानकोझै आभाष दिलाउँछु
सिमानामा काँडेतार लगाएको पाउँछु
यो सबै देखेर खुशीको आशु झार्छु
त्यही आशुले म ब्यूँझन्छु
र घडीको त्यो ट्वाक ट्वाकसँगै लामो स्वास फेर्दै भन्छु,
कास यो विपना भइदिएको भए हुन्थ्यो तर, (२)
तर दुर्भाग्य त्यो त सपना मात्रै थियो त्यसपछि उठेर
क्यामेरा समाउँछु र आफ्नै कर्ममा म फर्कन्छु
म मेरो ‘म’ अनि अरूको ‘तँ’ | नेपाली कविता | Sulochana Adhikari
म अनि मभित्र लुकेको मेरो परिचय
कस्तो भएछ,
धेरै आँखा, देखिने फरक फरक चेहेरा
हरेक चेहेरामा मेरो छुट्टै स्वरूप
तर मैले चाहि सधै बोकेको त्यही ‘म’
तर पनि केही
नभई केरिदिन्छन् आफै
अनेकौ ‘तँ’ का काहानीहरू
नाम मेरो एउटै हुन्छ
तर बुझ्ने चाहि फरक फरक हेराई
बल्ल बुझ्दै छु म
‘म’ भित्र त आखिर कति ‘तँ’ बनाइएछ
हरेकले उठाउने प्रश्नको लागि
मेरो एउटा छुट्टै ‘तँ’ वाला जवाफ पो रहेछ
विवेकका पानामा छरिएका रहेछन्
मेरा धेरै थरी ‘तँ’ रूपी गुलालहरू
फरक फरक पारामा बुनिएका रहेछन्
मेरो व्यवहारको अस्तिवहरू
तर,
म त त्यहि ‘म’ नै हुँ जुन मलाई थाहा छ
जुन सायद मैले मात्र चिनेको छु,
साँचचै
एउटा प्रश्न चाहि सोध्न मन लाग्छ अरूलाई,
ती ‘म’ रूपी ‘तँ’हरुमा खोई कसरी मलाई पायौ?
नजरको धोका
सोचको दागलाई कसरी स्वीकार्यौ?
म त यहि यहि ‘म’ सँगै छु जस्तो लाग्छ
यहि ‘म’ नै म हुँ जस्तो लाग्छ
कि मलाई नै थाहा छैन त्यो ‘म’ हराएको?
पैसा | कविता | सुसन चौधरी | Nepali Poem
पैसा,
एक रुपैँया, पाँच रुपैँया,
पचास कि हजार?
पैसाले कसरी हुन्छ सपना साकार?
जाबो कागजको टुक्रा
नहुनेलाई दिनको छाकको चिन्ता
हुनेलाई लोभको जन्मदाता,
पैसा-पीडाको रचनाकर्ता,
अनि संसार चलाउने सृष्टिकर्ता ।
पैसा,
अंक कोरिएको जाबो पानाको टुक्रा
अंकजाल र अंग बिक्रेता
खुसीको चिनो या मायाको थुंगा?
झगडाको कारण यहि पैसा,
विकासको बोझ, विनाशको दाता,
विलासीको मित्र यहि पैसा।
पैसा,
दुई शब्दको खेल,
दुई दिनको मोज, अनि दुइटा यातना-
उडाउनु कहाँ र लुकाउनु कहाँ
पाए त सबै मेरा, नपाए लाखापाखा
जसरी पनि चाहिन्छ पैसा,
अन्न नखाइ फेरि कसरी बाँच्नु यहाँ?
पैसा,
यहि त हो सबैलाई डुबाउने,
लाचार बनाउने, सताउने, रुवाउने, मुर्छयाउने ।
नभए कराउने, भए नि कराउने
जाबो पैँसा- खान, लाउन, जिउन
हास्न, रम्न, रुझ्न
कति दिउँ पैसा? मन बुझाउन?
पैसा,
एक रुपैँया,
भिख मागेको भएर दिएँ, लिएर जाउ
कमाउन कति गाह्रो छ,
काम, चाकरी गरेर आउ
सेटिङ मिलाउ,दस जनालाई फकाउ
सित्तैमा पैसा दिन देउता होइन म
धनी हुन भिख माग्दै नआऊ।
पैसा,
एक रुपैँया धैरै हो- अरब भए निन्द्रा उड्छ
मागी लाग्छन्, चोरी हुन्छ
बरु सय जनासित माग,
खानेकुरा किन, आजलाई सुत ।
लाख, करोड सबै भुल।
जीवन एउटा पाइन्छ
एक रुपैँयामा आनन्दको जीवन चल्छ
यहाँ एक रुपैँयाले पूर्ण जीवन नै पाइन्छ।
“मैले कहाँ भुल्न सकुंँला र” | Poetry | Anup Thapa
त्यो दिन, म जन्मेको दिन, सायद
हजुर बा को मन खुसीले नाचेको थियो होला
सायद बा को अनुहारमा सूर्य जतिकै चमक अनि
मन, चन्द्रमा जतिकै शितल भएको थियो होला l
कसैले “नाति भयो कि नातिनी?” भनी सोध्दा सायद
आकाश जतिकै विशाल छाती फुलाइ
शिर, हिमाल जतिकै उच्च बनाइ, बा ले
“नाति भयो, एक नाति अनि एक नतिनी भए अब”
भनी मुसुक्क हाँस्दै अनि
ठट्टा शैलीमा “बोक्नलाई एउटा काध बढ्यो”
भन्नु भयो होला सायद ।
कसैले “तपाईको भाग्य कति चम्किलो । ओहो, नातिनी पनि नाति पनि पाउनु भयो है” भनी भनेको सुन्दा
तपाईको मन अझ बढी हर्षले उफ्रेको थियो होला,
है बा ।
हजुरबाको रुप,ओहो,
शिरमा ढाका टोपी शरीरमा दौरा सुरुवाल
अनि टमक्क परेको इस्टकोट
कालो कपडाको जुत्ता ती पाउमा
यी सङ्गै दायाँ हातमा बाँसको लौरी
आहा! उधुमै सुहाएको,
अनि बायाँ हातको चोरी औंला समातेर
ओराली उकाली हिँडेको म
कहाँ सजिलैसङ्ग भुल्न सकुँला र बा ।
दराजमा राखिएको काजु, बिस्कुट, घिउ, मिस्री,
आदि इत्यादि सुटुक्क “ला खा” भनी दिनुभएको
अनि कहिले २ रुपैया त कहिले ५ रुपैया
हातमा “खाजा खा है” भनेर थमाइ दिनुभएको मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
बाहिरी कुशक्तिको प्रभाव पर्दा ती पवित्र
हत्केला फिजारी मलाई बचाउनुभएको
अनि संस्कार, संस्कृती, संघर्ष र कर्मको
मीठो ज्ञानसङ्गै बताउनु भएको
ती मनोरञ्जनात्मक कथा मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
“यो खेती म गर्छु बा” भन्दा
त्यो हर्ष मुहारमा झल्कदा
सबै काम सकि म पसिनाले नुहाएर घर आइ
थचक्क बस्दा तपाईंले “ला तलाइंँ खर्च”
भनी १०० २०० रुपैया दिनुभएको मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
“ल हिड पहिरोमा बाख्रा पाठा चराउन”
भनी सङ्गै गोठालो बनाइ लैजानु भएको
अनि चिया पसलमा पुर्याइ
चिया र बिस्कुट किनि दिनुभएको मलाई
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
यस्तै गरि समयको नदिमा बगिरहेको जीवनको डुङ्गा
कहाँ ठोकियो अत्तोपत्तो भएन
जन्मिसकेपछि मृत्युको सामना गर्नु पर्छ है भन्ने
प्रकृतिको नियम नै रहेछ भन्ने अत्तोपत्तो रहेन ।
बा! ए बा! भनी बोलाको मैले कति कति
नचलेको देख्दा तपाईंको शरीर र श्वास
स्थिरमा थिएन, बिग्रीएका थिए मेरो मन र मति
मौन थियो सब मौन हुनुहुन्थ्यो तपाइँ
त्यो दु:खका आँसु, त्यो मौनता र त्यो कालो दिन
मैले कहाँ सजिलैसँग भुल्न सकुँला र बा ।
साथ तपाइँको अहिले नभएपनी
तपाईंले छोडी गएको प्रेम, संस्कार,
संघर्षसंगै कर्मको ज्ञान अझै पनि अमर छ्न् बा
चयन गर्दैछु म सधै गरिरहन्छु पनि
तपाइँका ती अमृतरुपी शब्दहरु बा ।
शिर ठाडो पारी, छाती ठूलो बनाइ
हिड्छु आजभोलि म बा।
सम्झना सधै आउँछ बा तपाईको
अनि तपाईंले गर्ने माया मलाई
मैले कहाँ सजिलैसङ्ग भुल्न सकुँला र बा
मैले कहाँ सजिलैसङ्ग भुल्न सकुँला।
याद | छोटो कविता | राहुल
तिमीले पो बुझ्छौ
यो मनको पीडा
त्यो तिम्रो याद छ नि
त्यसले त कहिले बुझेन
न आउने समय छ
न मलाई सताउने सिमा छ
लाचार हुन्छु म त्यसको अगाडी
म र मन दुबैलाई
निराश निराश बनाएर जान्छ
र फेरि
धेरै दिनसम्म कता हराउँछ
आउँछ सताउँछ
र फेरि हराउँछ
यस्तै गरि त मलाई
त्यो तिम्रो यादले सताउँछ
म जिउँदो लास ! Poem by Muskan Pandey
मैले देखेको छु, बुवाले आफ्नो सपना त्यागेको,
परिवारको लागि भनेर आफ्नो दुखसँग खुसी साँटेको,
आफ्नो काम र मिहेनतसँग साइनो गाँसेको,
मैले देखेको छु, बुवाको थाकेको अनुहार,
कयौँ ठक्कर खादै अप्नाएको त्यो हार।
मैले बुवाहरुको आँखा पनि चिन्ताले भरिएको देखेकी छु,
प्रेमका झिल्काहरुले लाचार बनाएको देखेकी छु।
मैले देखेको छु, आमाले आफ्नो भोको पेट
पटुकीले कसेर पेटभरी पहिले परिवारलाई खुवाको,
जाडो याममा आफ्नो त्यो आङलाई धोतीको फेरले बेरेर न्यानो पछ्यौरी उनले सबलाई ओढाको,
लोभ अनि लालचलाई त्यागेर आफ्नो घर बसाको,
आफुलाई नै बिर्सिएर अरुलाई सम्हालेको,
मैले आमाहरुले आफ्नो दुःखको पोका एकान्तमा खोलेको देखेकी छु
मनमा दबिएका भावनाहरु आँखाबाट बगाएको देखेकी छु।
मान्छेको मुहारमा दुःखका रेखा भएपनि
दिल खोलेर हाँस्दा रेखाहरु पनि मुस्कुराएको देखेकी छु,
रुँदा रुँदा मुहारमा झल्किएका रेखाहरु
रुँदा मुर्झाएको र मुस्कुराउन खोज्दा
कति दिन देखि खुम्चिएर बसेको मन जस्तै
मान्छेको मुहारहरु पनि खुम्चिएको देखेकी छु।
मैले मानिसको जीवनमा संघर्ष देखेकी छु,
संघर्ष , दुःख र अभावमा पनि रमाएको देखेकी छु,
अनि मैले देखेकी छु सबै पाएर पनि केही नपाए जस्तै
केही गुमाएजस्तो केही हराए जस्तो,
मैले खुम्चिएका मनहरुले सुल्झाउन खोजेको उल्झान देखेकी छु,
आँखामा सजिएका रंगिन सपनाहरु बेरंगिन हुँदै गएको पनि देखेकी छु,
ओठको कुनामा झुल्किएको मुस्कानसँगै
आँसुका धाराले आफ्नोपन कतै बिलाउँदै गएको पनि देखेकी छु।
कास मैले मरेको मान्छे फर्केर आएको देखेकी भए,
कास कसैले ओठको मुस्कान साँचो मानेजस्तै
मनको पीडा अनि दुःखको मकान नियाल्न सक्ने भए,
केही शब्द नपाएर लाचार भएर स्तब्ध हुँदा
कसैले मनमा कुण्ठित भावनाहरु केलाएर बुझिदिए,
कास यो एक्लोपनमा कसैले साथ दिए,
कास मान्छेको हरेक हार पनि जित भैदिएको भए,
कास मान्छे मान्छे नभएर अरु नै केहि भैदिएको भए,
कास कास यो जिन्दगी चाहे जस्तै भैदिएको भए,
कास यो कास भन्ने शब्द नै नभइदिएको भए,
यो “कास” शब्दले कहीं कतै केहि आश पैदा गर्ने थिएन,
यो कास शब्दले उब्जाएको आशमा जिउँदो लास हुनुपर्ने थिएन।
अरे कसलाई सुनाऊ यो नयनले देखेका कथा,
कता गएर बिसाऊ यो मनले नियालेका व्यथा,
यहि नयनले देखेका अनि
मनले नियालेका कथा कोर्दा आज
म मर्नुभन्दा पहिले नै मरेको छु,
मरेका मान्छेहरु को बीचमा आज
सायद म आफै एउटा जिउँदो लास बनेको छु।
Nepali Poem | “मैले लेख्न नसकेको कविता” | Prabhat Paudyal
Nepali Poem | उसले छाडेर गएको किताब | Sajira Shrestha
तिमी नआइकनै
तिमीलाई नभनिकनै
रित्तो कोठा जस्तो मेरो मनमा
तिम्रा यादहरू बसाई सर्न आएका छन्।
बाँसुरी र सारंगीको धुनले
बादलमा ढाकिएको जूनले
चरीहरूको चिरबिर
र झ्याउँकिरीको किरबिरले
डोहोर्याउँदै ल्याएका ती फरार यादहरू
फेरी आफ्नै घर फर्किएछन्।
जसरी बगैँचाको फूल
मालीको नभएर डालीको हो
त्यसैगरी तिम्रा यादहरू पनि तिम्रै हुन्।
अत्यास लाग्दा भनिदिनू
आएकै बाटो पठाइदिनेछु पाहुना यादहरू
जसले कतै बाटैमा छुटेको
“तिमी” बोकेर आउनेछ, तिमीमा।
Nepali Poem | निष्ठूर समय | Nir Shrestha
समय,
तिमी यति धेरै बलवान् बनिदियौ की
म तिम्रो महत्वलाई महसुस गर्दै
आफ्नै मन र मष्तिष्कलाई सन्तुलनमा राख्दै
एउटा दूर्गन्तव्यमा पुग्ने अठोटका साथ
उडान भर्नेक्रममा
अगाडि, पछाडी, दायाँ अनि बायाँका बादलहरू
छिचोल्ने प्रयास गर्दागर्दै
कतै अनकन्टार जङ्घारमा
अलझिएर अड्किरहेको छु
तर तिमी
निष्फिकृ भएर आफ्नै गतिमा
कुनै चिजको पर्वाह नगरी
कसैको चासो, चिन्ता अनि ख्याल नराखि
एउटै गति, लय र सुरमा
निरन्तर अगाडी बढिरहेका छौ
आफ्नो गन्तव्य भेट्न
सायद
तिमीलाई तिमी हुनुको बोध छ
तर म
म कहिल्यै हुन सकिनँ
सधैँ अल्झिरहे कुनै बन्धनमा
भए विचल्लित यो या त्यो नाममा
परिनाम
आज तिमी
तिम्रो गन्तव्य नजिक छौ
म कतै हराइरहेको छु
अनि
तिमी मलाई हेर्दै गिज्याइरहेका छौ।
Nepali Poem | सडकबालक | Saujan Dhakal
म, “म” हुँ
बिन्ती मलाई मेरो नाम नसोध
म लुक्न खोजेको हैन , मलाई गलत नसोच
मेरा आङका दागहरुको रहस्य नखोज
तिम्रा खाली पाना भर्न मेरो कथा नरोज
बिन्ती मलाई मेरो नाम नसोध ।
टाढैबाट चिलले शिकार ताके जस्तो
स्यालहरुले सिनो साचे जस्तो
यी मान्छेका आँखा,
अनि ती आँखाभित्र लुकेका आँखीझ्याल,
प्रष्ट देखिन्छन्
गिद्दहरुले भरिएको यो आकशमा
पंख फिजाएर उड्न नसक्ने सानो गौथली म
मेरो आफ्नै गुड पनि छैन
मलाई बादल छुनु छैन
त्यो उचाईसम्म पुग्ने मेरो हैसियत हैन।
म जब आँखा खोल्छु , वरिपरि सिनो गनाउछ
छेउछाउमा कुकुरहरू कराउँछन्
सडकको पेटीबाट मलाई लात्तीले हान्दै पर भाग भन्दै अराउछ
मन, मनै थर्काउछ तर मुख बोल्न डराउछ ,
हो मेरो परिचय त्यही निर हराउँछ ।
ती सुकिला मुकिला, अनुहारमा मखोटा लगाएका
दस थरी पहिरनले सजाएका, यी निर्जिव पुत्ला
बजारको चोकचोकमा डेरा जमाएर बसेका छन्
ती चमिक्ला सिसाले मेरो बस्त्र छर्लङ्ग ऐनामा उतार्दा
म आधा शरीर नाङ्गो छु, खुट्टा खाली छन्
पैताला फाटेका छन्, म रित्तो छु
त्यो प्रष्ट छ हो, यो समाज भ्रस्ट छ ।
फालेको फ़ोहोरभित्र म मेरा दुई छाक खोज्छु
पसल अगाडि उभिएर मन पर्ने खेलौना म पनि रोज्छु
अहिले त सानै छु, पाखुरामा मासु लगेको दिन
म पनि आफ्नो घर आफै खोज्छु भन्दै मन मनै सोच्छु
म मलाई जन्म दिने मेरा बाआमा कहाँ गएर खोजु?
तर सबैले भन्छन् म धर्तीको बोझ हुँ
त्यसैले म “म” हुँ, बिन्ती मलाई मेरो नाम नसोध ।
म हराएको यात्री, सायद नहराएको भए
यी सडकहरुले मेरो ठेगाना सोध्दै हाँगा फिजाएर
मलाई एक पछि अर्को बाटो देखाउदैन थिए होलान् ,
समुन्द्र खोज्दै बग्छ खोला पनि
म त बोटमै सुकेर झरेको पात रैछु ,
हावाले जता बगाउँछ म त्यतै बहन्छु ।
म खाते हैन ,
मैले मेरो बध्यताको लागि आफ्नो चाहानाहरु साटेको छैन
यी पैतलाहरु यतिकै फाटेका हैनन्
मेरा सपनाका डोरी आफै चुट्टिएका हुन्,
मैले आफै काटेको हैन।
असारमा पानीले कुट्छन् , माघमा चिसो सिरेटोले चुट्छन्
अनि गर्मीमा पसिनाले आँसु पुस्छन्
छाहारी खोज्दै कुद्छु म जब आकशमा बादल फुट्छन्
म भागेको भागै देखेर, माग तलाई जे माग्नु छ भन्दै
प्राय रात आकशमा तारा तुट्छन्।
मलाई कसैको आफन्त बन्नु छैन्, मलाई मेरो बिगत खन्नु पनि छैन्
न मलाई भविष्यको कर छ, न मलाई आफ्नै भर छ
तर हात फिजाएर नजिक जाँदा मलाई मेरो नाम सोध्छन्
मेरो इज्जतमा औंला उठाउँदै मेरो परिचय खोज्छन्
मेरो कर्मलाइ दोशछन्, थाहा छैन् यिनीहरु मलाई के के सोच्छन्
तर म “म” हुँ, बिन्ती मलाई मेरो नाम नसोध ।
बिसौनीमा बसी आउने जाने हरेक यात्रुको मुहार हेर्ने गर्छु
हरेकको आँखा पढ्ने कोसिस गर्छु
मौसम बदलिन्छ, म पनि एक ठाँउबाट अर्को ठाँउ सर्छु
कलिलो छु तर यो बुझ्छु कि पैसा भए रहर आफ्नो अनि सहर आफ्नो,
नत्र यहँ को साथी अनि को आफ्नो ।
यो बनावटी संसारमा,
मायाजालको भन्सारमा दैव पनि शान्त छन्
मैले नखोजेको हैन बोल्न, मनका व्यथा खोल्न
मन्दिर अगाडि घुँडा टेकेर म कति पल्ट रोइन
सिर झुकाएर मान्छेको खुट्टा कति पल्ट छुइन
तर कसैले आस्वासनसम्म पनि दिएनन्
कसैले पनि मेरो कुरा मनमा लिएनन् ।
त्यसैले सुन चरी तिमी उडी गई माथि भनीदेउ तिम्रो अदृश्य दैवलाई
तिम्रो एउटा रचना तिमीले रचेको संसारमा एक्लै डुब्न लाग्यो है,
हो देख्ने आँखा पाएको छु, लेख्ने हात पाएको छु
कति ठाँउ प्वाल होलान् तर इज्जत ढाक्ने कपड़ा मैले पनि लाएको छु
मिठो नमिठो, सडेको डढेको जस्तो होस्, कम्सेकम खाएको छु
कति अन्जान ठाँउ म हिडेरै गएको छु
हो यसमा खुसी छु कि जस्तो होस्
आखिर जिन्दगी त पाएको छु ।
मैले टेकेको धरातलले कहिले मसँग मेरो परिचय मागेन
यो बहने हावाले कहिले मलाई अरुसँग दाँजेन
घामले एउटै राप दियो मेरो अस्तित्वमा कहिल्यै बाधा हालेन
समयसँग मौसम बदलियो, तर
मलाई पनि अरु जस्तै बदलिनु पर्छ भनेर इशारा मागेन
एउटै प्रश्न छ मेरो, आखिर यो समाजले मलाई किन स्वीकारेन ?
हो कमजोर छु म किनकी म एक्लै छु
म एक्लै भएको देखेर संसार हाँसेको म देख्दै छु
कस्ले मेरो चरित्रमा प्रश्न गर्यो र कस्ले मेरो हैसियतमा?
म भित्रभित्रै सबै कुरा लेख्दै छु
मेरो पनि दिन आउँछ भन्दै चिसिएको मुटु धैर्यताको रापले सेक्दैछु
औला उठाउने हातहरुलाई म परैबाट छेक्दैछु
म यस्तै छु, जस्तो छ समाज, म त्यस्तै छु ।
म खोज्दै छु मेरो नामको अर्थ
यो जात र धर्मले बेरिएको संसारमा सायद मेरो परिचय होला व्यर्थ,
न धेरै सम्पती कमाउनु छ, न कमाउनु छ नाम मलाई
आँखामा आँखा जुधाएर हेर्न सकु यति भए पुग्छ मलाई
हेपेर बोल्ने समाज अनि औकातको आड दिने तँलाई
होस् मा ल्याइ एक दिन भन्नु छ मलाई
“मेरो नाम किन चाइयो तँलाई?”
दोष | Pari Vikram || Nepali Poem |
तिमी एउटा नदी
आफ्नै छुट्टै मूलबाट निस्किएकी
आफ्नै छुट्टै गन्तव्य भएकी
र, गन्तव्य चुम्न आफ्नै बाटो भएकी
म पनि एउटा नदी
तिम्रो जस्तै विशेषता भएको
तर तिम्रो भन्दा छुट्टै भएको
तिमी बग्दै आयौ
आफ्नै बलबुतामा
म पनि बग्दै आएँ
आफ्नै दु:ख सङ्घर्षमा
छुट्टाछुट्टै लक्ष्य लिएर
छुट्टाछुट्टै यात्रामा
तर संसार त साँघुरो रहेछ
समयले भेटायो – दोभानमा
तिमीलाई थाहा थियो –
तिमी त्यस्तो मूलबाट आएकी नदी
मिसिइनु हुँदैन – मेरो मूलको नदीमा
बिटुलाउनु हुँदैन – यसरी मोल्युकुल सम्मन्
मलाई पनि थाहा थियो –
हामी यदि मिसियौँ भने
तिम्रो मूलले
सुकाइदिनसक्छ – मलाई
– मेरो मूललाई
तिमी कठोर बने – तिमी स्वयम्लाई
हामीले थाहा भएर पनि थाहै पाएनौँ
एकअर्कामा समाहित भइदियौँ
एटम – एटम सम्मन् बिटुलियौँ
एउटा यात्रा बनाएर
एउटै लक्ष्य खोज्न थाल्यौँ
अलि तल बग्दै गएपछि
समयले अकस्मात् सम्झायो
हामीले थाहा नपाएको थाहालाई थाहा पायौँ
अनि, समय, मूल, बाटो सबैलाई दोष दिएर छुट्टियौँ
किनकी
हामी प्रेममा यति सर्वहारा भएछौँ कि
हामीसँग दिनलाई दोष बाहेक केही थिएन ।
सट् द एफ्* अप् | Nepali Poem | Sudarshan Poudel
यहाँ बोल्ने अनुमति छैन!
मेरो अविस्मरणीय यात्रा
एक पलमै जिन्दगीको हुन्डरी झैँ आयो
यसले छोडेको छाप
आजीवन मेरो साथ नछोड्ने गरि रहिरह्यो।
आफ्नो पवित्र पाँउ
त्यस अपवित्र गाडीमा टेकी
मैले मेरो जीवनको नयाँ यात्रा आरम्भ गरे
मेरो त्यो पछ्यौरी ढोकामा अल्झिँदा
हरेकको दुष्ट नजर
मेरो खस्किएको पछ्यौरीमा आकर्शित भयो
मेरो काधमा चोली अलिकति च्यातिँदा
ती हात मतिर अग्रसर भइ उक्सिन थाले ।
म त एक सानी परी
आफू फसेको जालबाट उम्किन पाइन
पवित्र शरीर मेरो अपवित्र भएको पत्तो पाइन ।
ती घिनलाग्दा सोच,
अनेकौं बहाना पारी मलाई छुन थाले
हर अस्लिल हर्कत तिनका
मेरो छालामा कयौं दाग छर्न थाले।
मेरो आङबाट चोली खस्काइ
ती पापी आँखा मेरो अंगमा गडिरहे
सारा भीड जम्मा भइ मेरो दुर्दशा हेरिरहे
मूर्ति झैं मेरो तमाशा हेर्न आतुर भइ उभिरहे ।
मेरो लाज र इज्जत त्यही दिन लुटियो
जुन दिन मेरो चरीत्रमा मोहर लगाइ
अस्मितालाई लान्छित गरियो ।
मेरा यी ओठ गुहारे,
मेरा यी हात बाधिन बाध्य भए
तर कसैले सुनेनन्
हिजो बहिनी ठहर्याउने आवाज
मेरा लागि श्राप निस्किए
सधै उचो रहने सिर
आज सारा सामु झुक्न विवश भए।
दिनको उज्यालोमा पनि अन्धकार महसुस गर्न थालेँ
चिच्याए, कराए, आफूलाई समाती
ती च्यातिएका कपडा आङमा भिरेर
आफ्ना पाइला चाले ।
सायद
त्यो दिन मैले यात्रा नगरेकी भए
समाजले मलाई स्विकर्थ्यो होला
सायद
साहसको चादर भिरेर
रक्षा गर्ने शक्ति डोर्याएकी भए
आफ्नै नजरमा गिर्दिन थिएँ होला ।
सायद यो यात्रा कहिले समाप्त नहोला
तर म अघि बडिरहने छु
आफ्नो अस्तित्व त बचाउन सकिन
अब यो यात्रा अरुको जीवनमा पुग्नबाट रोक्नेछु
कुनै पनि कोपिला फक्राउनु अघि टुट्न दिन्न
म कसैको यात्रा नस्ट हुन दिन्न ।
Nepali Poem | मेरो अपवित्र यात्रा | Anushma Dhungel
Nepali Poem | मातृभूमिको रक्षा | Anushma Dhungel
हरपल हरक्षण मातृभूमिको प्रेम
मुटुभित्र सजाएर राखेकी छु,
यस भूमिमा असुरक्षाको कालो बादल
मडारिँदा म एक्लै रोएकी छु,
आक्रोशित छ यतिखेर मेरो नेपाल
अतिक्रमणविरुद्ध घन्किएका छन् नारा
हस्तक्षेप भएको छ मेरो देशमा।
नेपालको माटोमा रम्ने नेपाली
पुछिरहेका छन् आक्रोशका आँसु,
खुकुरीको धारमा खेल्ने गोर्खाली
रगतमा लत्पतिएको विगत सम्झेर
पुर्खाको वीरतायुक्त रगत
खेर जान नदिन
टाउकोमा कफन बाध्न छन् तयार।
एकीकरणले अखण्ड भूमि
परेको छ अतिक्रमणको चपेटामा,
प्राकृतिक सुन्दरताको चुली यो
संरक्षणको जोखिम मोलिरहेको छ।
उठौँ, जागौँ, वीरताको उदाहरण प्रस्तुत गरौं
मेचीदेखि महाकाली हाम्रै हो,
पश्चिमबाट घाम उदाउन नदिन
कहिल्यै कसैसँग नझुकेको
आत्मसम्मानको सगरमाथा झुक्न नदिन,
दासत्व स्वीकार नगरेको वीरताको गाथा
दुई ढुंगा बीचको तरूल भई
इज्जत कमाएको मेरो देश
नेपालीपन जगाई वीरताको गाथा
अनि मातृभूमिको रक्षार्थ जीवन उत्सर्ग गर्न
यस भूमिमा आफ्नो अस्तित्व खोज्न
हरहमेसा तयार।
आँखा नलगाऊ छिमेकी
हाम्रो स्वाभिमानमा धावा बोल्न दिन्नौं कदापी
सक्छौं भने वीरतासँग
सिँगौरी खेल्न आऊ
गोर्खालीको वीरताको परीक्षा हुनेछ फेरि
आफ्नो पुण्यभूमिको रक्षामा
नेपाली मन जागृत भैसकेको छ।
नेपाली एकता र बहादुरीकै बलमा
आफ्नो कलेजो तिमीहरूबाट
हाँसीहाँसी फिर्ता लिनेछौँ
हाम्रो वीरताको पहिचान दिनेछौँ फेरिफेरि।
Nepali Poem | को हो कवि? | Prabhat Paudyal
कसरी भनौं खै को हो कवि
आकाश हो कि या हो उ रवि
के भनौं खै उसको बारेमा
ऊ ऐना हो या हो एक छवि
विछोड होकि साथ हो
प्रभात हो या रात हो
खै मिलनको त्यो बात हो
या छुट्न लग्या त्यो हात हो
के भनौं खै उसको बारेमा
ऊ घाम हो कि वर्षात हो
हार भित्रको जित ऊ
घृणा भित्रको पृत ऊ
बिहानीको शीत ऊ
अनौठो एक रित ऊ
के भनौं खै उसको बारेमा
आफै शब्द, आफै संगीत ऊ
कसरी भनौं खै को हो कवि
आकाश हो कि या हो ऊ रवि
के भनौं खै उसको बारेमा
उ ऐना हो या हो एक छवि
Nepali Poem | मनातीत जीवन | Bizay Sangroula
मेरोपन हराएर
आफ्नोपन भेटियो
जब
हृदय खुलेर
मेरो मन मेटियो ।
मनसँगै हरायो
अहंको भ्रम
जब
छुट्यो मोह
रह्यो केवल प्रेम ।
मन मेटिएसँगै
मेटियो
द्वेष
राग/अनुराग
वैमनस्य ।
प्रेम भेटिएसँगै
भेटियो
आनन्दित
जीवनको
रहस्य ।
अब
जीवनको स्थिति
परिस्थिति
शून्य-शून्य छ
जहाँ
स्वार्थ छैन
परार्थ छ
जहाँ
ऐश्वर्य त छ
तर छैन विलास ।
अब
जे छ पूर्ण छ
प्राप्तिको छैन आस
अभावको छैन त्रास
छ त्याग र भोग
दुवैको योग
छैन त बस् !
मनको बन्धनमा
आत्माको बास
हुनु/नहुनुको आभास
केही बन्ने प्रयास ।
त्यसैले त
संसारको ऐनामा
छैन कुनै
मेरो प्रतिबिम्ब
नभएर मन ।
सबै भएर पनि
केही नभए जस्तो
केही नभएर पनि
सबै भए जस्तो
छ मेरो जीवन ।
Nepali Poem | मृत्यु त भयो ! | Bizay Sangroula
मृत्यु त भयो !
तर म छु
के मर्यो ममा
त्यही खोज्दैछु ।
…
केही बन्ने मन
त्यो मरेछ
शिखर चढ्ने अहम्
त्यो झरेछ
के के न थाहा छ भन्दै
डुक्रने यो बुद्धि
हृदयको गहिराइमा खस्दा
हराएछ सुद्धी
अनि पो
ब्यूँझे झल्याँस्स
त्यही मेरो अहम् पो
मरेछ फ्यास्स
संसारमा मलाई
खाली र रित्तो पारेर
जित्नुपर्ने प्रतिस्पर्धामा
भागै नलिई हारेर !
अब थाहा भयो
जे मर्यो त्यो’थ्यो
मेरो आत्माभिमान
अनि सँगसँगै
व्यर्थ हुँदै गयो
क्षणिक मानसम्मान ।
तर डर छैन
अब मेटिए पनि
मेरो अस्तित्व
केही नहुनुमै
केही हुनु रहेछ
जानेँ पहिलोपल्ट ।
म त पहिल्यै हारिसकेँ
अब कसले
मलाई हराउँछ
जो जित्ने कला जान्दैन
ऊ मात्र
हारसँग डराउँछ ।
म त पलपल मर्दैछु
अब कसले मलाई
मार्न सक्छ
आफ्नै मृत्यु देखेको म
बरु मृत्यु मसँग
हार्न सक्छ ।
जीवन रहस्यमा
तिरोहित गरिदिएँ
मेरो बोझ मेरो ज्ञान
बस् ! थाहा छ अब यही
थाहा छैन अरु केही
सिवाय मेरो भित्री मौन ।
यही मौनतामा
नितान्त एक्लै डुब्दैछु
छोड्दै आफूलाई
संघर्ष छैन केही बन्ने
जे हुँ जस्तो हुँ
स्वीकार्दै आफूलाई ।
यही आत्मस्वीकृतिमा
परमानन्दको झल्को छ
थोरै भए पनि
फैलिँदैछु सारा अस्तित्वमा
स्वयंमा केन्द्रित हुँदै
गइरहे पनि ।
***
मृत्यु त भयो !
तर अब प्रेम छ
शाश्वत रूप धरी
जसको आलोकमा
म बाँचिरहेछु
क्षणक्षण मरीमरी ।।
Nepali Poem | नारी~ब्रह्माण्डको छोरी | Muskan Panday | Women’s Day
म एक नारी हुँ,
यो जीवन मेरो आफ्नै लडाई हो,
पितृसत्तात्मक सोचको बोझले नथिच मलाई,
मभित्र संसार छ,
अनि म यहि ब्रह्माण्डको छोरी हो।
म एक नारी हुँ,
फुकेर आफ्नो पाइला चालेको भोगाई छ मसँग,
सम्झेर कम्जोर मलाई,
आफ्नो हक ममाथि जताउन नखोज,
मभित्र तुफान छ,
यहि ब्रह्माणको हलचल रोक्न सक्ने
सारा तेज छ मसँग।
म एक नारी हुँ,
मैले तिमीलाई दु:ख बिसाउन
आफ्नो काँध दिएको छु,
आफ्नो स्वार्थको भुमरीमा अल्झिएर
मेरो मुटु दुखाउने आँट नगर्नु,
मभित्र सागर छ,
यहि ब्रह्माण्डको सम्पूर्ण भाव अटाउने
गहिराई छ मभित्र।
म नारी हुँ
म फूलका पत्रपत्रमा
जीवनका अनेकन पात्र देख्ने गर्छु,
तिमी झुक्किएर पनि मेरो चरित्रमाथि प्रश्न नगर्नु
म भित्र थुप्रै कथा छ,
समेटेर शब्द र पानाहरु,
यहि ब्रह्माण्डको सर्वश्व ईतिहास लेख्ने
साहस छ मभित्र!
म नारी हुँ,
म चिरेर अन्धकारलाई,
घामको किरण बन्ने हौसला राख्छु,
अथाह उज्यालो छ मसँग,
मेरो अन्धकार जीवनलाई तिमी नजरअन्दाज नगर्नु,
मभित्र थुप्रै जीवन छ,
यहि ब्रह्माण्डको बोझ उठाउन सक्ने
इमान्दार भावी रक्षक छ मसँग।
म नारी हुँ,
लगन, धैर्य, सहनशीलता
मेरो बाध्यता होइन रोजाई हो,
म डराएर कहिल्यै डग्मगाउने छैन,
म नदी हो, निरन्तर बगिरहन्छु,
म थरथराउने छैन, म आँट हो,
मेरा खोटहरु नियालेर मलाई चोट पुर्याउन छोडिदिनु,
मभित्र पहाड छ,
म कहिल्यै नटुट्ने यहि ब्रह्माण्डको चट्टान हो।
मभित्र तुफान छ,
मभित्र सागर छ,
मभित्र पहाड छ,
मभित्र जीवन छ,
मभित्र संसार छ!
म तेज हो,
म साहस हो,
म नदी हो,
म गहिराई हो,
म आँट हो,
म चट्टान हो,
म यो ब्रह्माण्डको,
एकमात्र छोरी हो।
मभित्र संसार छ,
म नारी हो।
म एक नारी हुँ,
मेरो योनीबाट बगेको रगत
मेरो शक्ति हो,
मेरो गर्भमा हुर्कदैँ गरेको भविष्य
मेरो गर्व हो,
मेरो अस्तित्व मेरो पहिचान हो।
नारी दिवस मेरो स्वाभिमान हो।
नारी दिवस मेरो स्वाभिमान हो।
Nepali Poem | आकाङ्क्षापत्र | Umesh Pun
मैले देश छोड्ने दिन
सुसेलिरहेको बतासले देखाउने छ
समयको गति
शीतलता बोकी
आधा मुस्कुराउँदै गरेको जूनले
बुझाउने छ भूगोलभरि छाएको मौनताको रंग!
शरणार्थी शिविरहरुमा
पराधीनता र विस्थापनका कयौं खडेरी सहेर
फुलेका
बहुरङ्गी कलिला फूलहरुको गरेर हत्या
सल्काइएको छ चारैतिर
अमेजन जङ्गलमा झैं मानवीय आतंकको डढेलो
सदियौंदेखि
धर्म र दर्शनको आवरणले छोप्दै – छोप्दै
बचाइएको छ मानव हुनुको अस्तित्व
निरन्तर दमनको प्रचण्ड ताप झेलेका
भियतनाम र सिरियाका खण्डहर बस्तीहरुमा
खोजेर
खरानी भएका तिनै कलिला फूलहरुको
सबैभन्दा संवेदनशील आँखा
बटुलिदिनु छ आँसुहरुको लामो नदीले तय गरेको
हजारौं माइलको यात्रा
इरान र प्यालेस्टाइनका जङ्गलहरुमा
नयाँ इतिहास कोर्ने भ्रमित विश्वास देखाएर
दिनहुँ
अराजक मानसिकताको बन्दुक बोकाइएको
एक प्यालेस्टाइनी बालकलाई भेटाएर
खिचिदिनु छ आफूसँगै – जसोतसो बोकिहिँडेको
एकथान निर्दोष मुस्कान
जो कुनै बखत
खोसिनसक्छ प्रतिकूल समयको निरंकुश हातबाट
युद्धले ग्रस्त बग्रेल्ती लासहरुमाथि
बुझेर
मृत्युको कुनै देश,धर्म र दर्शन हुँदैन
चढाइदिनु छ संवेदनायुक्त श्रद्धाञ्जलीको पुष्पगुच्छा
कर्णालीको तीरैतिर
युगौंदेखि ईन्द्रेणी सपना बोकेर
हिँडिरहेका धमिला आँखाहरुलाई
फर्किदा
ल्याइदिनु छ चेतनाको सबैभन्दा उज्यालो घाम
उन्मुक्त भइ
पहिल्याउने छ जसले
आफैंले खनेको विकासको साँघुरो गोरेटोसम्म
देशको सुनौलो भविष्य
निराशाको अन्धकार क्षितिजमा हाम फाल्नुपूर्व
योजनाको अलिकति नौलो अनुभूति लिएर
जसरी पनि
आइपुग्नु छ म आफ्नै देश ।
-उमेश पुन
रुकुम पश्चिम्
युद्ध~ प्रश्न | Nepali Poem | Muskan Pandey
जीवन यसै जटिल छ
तिमी किन जन्जिरले यसलाई बाँध्न खोज्छौ?
तिम्रो क्रुरताले मेरो देशको खुशी लुट्दैछ,
तिमी मान्छे भएर कसरी यस्तो निर्दही हुन सक्छौ?
युद्धको झिल्काले छोएपछी,
लथालिंग देशले विरहीको गीत गाउँछ,
आशाहरुको घर भत्किएपछि,
अस्तव्यस्त जीवन त्यसै खरानी भइजान्छ,
हाम्रो सुरक्षाको चिन्ता कसले गर्छ?
सिथिल भएको मेरो देशलाई अब कसले बचाउँछ?
यो दुई देश बीचको लडाईमा,
तिमीले बीच सडकमै मारेका छौ कयौँ सपनाहरु,
लुछेर जवान योद्धाहरु,
कुल्चिएका छौ प्रेम गर्ने छातीहरु,
घेरेर मेरो देशलाई एकैपटक,
अन्धकार बनाएका छौ भविष्यहरु,
फालेर बम र बारुद जलाएका छौ भवनहरु,
बगाएका छौ रगतका भेलहरु,
यसरी युद्ध गरेर तिमीले कहाँ पाउनेछौ
शान्तिका बिम्ब-प्रतिबिम्बहरु?
तिमीले क्षति पुर्याउँदै गर्दा,
मेरो देशको क्षितिजको रङ्ग उड्छ,
तिमीले त्राही-त्राही मच्चाउँदा,
विक्षिप्त भई मेरो मुटुले सास फेर्न बिर्सन्छ।
युद्धको यति गहिरो तरंग फैलाएर
आखिर तिम्रो देशले के पाउँछ?
तिमीले मेरो देशको अस्तित्व लुट्दै गर्दा,
मेरो मन भासियो भने,
मैले आफूलाई बचाउन भाग्नु पर्ने हुन्छ,
अस्थिर यी पाइलाहरु भाग्दा भाग्दै
घाइते भए भने?
तिम्रो सत्ता र सोचको भुमरीले
मलाई अठ्याउन सक्छ,
युद्ध जस्तो भयानक रोगमा च्यापिएर
मेरो शरीर रगतमा लत्पत्तियो भने,
भोलि रातो रङ्ग फेरि कसले मनपराउँछ?
मैले ज्यान गुमाएर तिमीले युद्ध जित्छौ भने,
मेरो सन्ततीको अस्तित्व भोलि कसले जोगाउँछ?
मानस्पटलमा डर र त्रास भरेर तिमीले,
कति आमाको काख रित्याएको छौ,
खोसेर ओठको मुस्कान तिमीले
कलिला बालकलाई टुहुरो बनाएका छौ,
अंगालेर युद्धलाई तिमीले,
मेरो देश र जीवन दुवै आसुँमा डुबाएका छौ
युद्धले लिइआउने यस्तो परिवर्तनमा
तिमीले गर्व गर्न कसरी सकेका छौ?
वित्थामा युद्ध गरेर तिमी कहाँ पुग्छौ?
अन्त्य तिम्रो पनि हुनेछ कुनै दिन,
जितेर युद्ध तिमीले आफूसँग के नै लान्छौ?
सक्छौ भने,
युद्ध जितेर होइन मन जितेर देखाउ,
दुखेको घाउमा मलम लगाएर पठाउ,
युद्ध भन्दा ठूलो जित त्यही हुनेछ,
खुशी, शान्ती र सन्तुष्टी सबै
त्यही जितमा भेटिनेछ।
Nepali Poem | मलाई फेरि बालक हुन मन छ | Bizay Sangroula
जिज्ञासा र कौतुहलले भरिएर पनि
रित्ता रित्ता देखिने ती शान्त आँखाहरू
धारणा र मान्यताले भरिइनसकेको
पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको
त्यो स्वच्छ, शुद्ध अनि पारदर्शी मन
फेरि त्यही बालापनमा फर्कन मन छ
विचार र सिद्धान्तको बोझ टाउकोबाट बिसाएर
मलाई फेरि त्यही अबोध बालक हुन मन छ ।
अस्तित्वको चरणमा पुन: आफूलाई चढाई
ज्ञानाभिमानको वृथा अहममा हराइसकेको
त्यो आश्चर्यभाव फेरि जीवनमा ल्याउन मन छ
सामाजिक स्वार्थले बनाइदिएको व्यक्तित्व भुलेर
मेरो साँचो स्वरूपको दर्शन गर्न मन छ
हृदय खोलेर हाँस्न नपाएको वर्षौं भयो
भित्र आँसु लुकाएर बाहिर कति हाँस्नु !
झुटो मुस्कानको मुखौटो हटाएर
धीत मरुन्जेल बेपर्वाह रून मन छ
मलाई फेरि त्यही निर्दोष बालक हुन मन छ ।
खोला किनारमा बालुवाको घर बनाई
पानीको छालले बगाउँदा
खुसीले उफ्रँदै नाच्ने त्यो मन
केही पलको पाहुनामात्र हुँ यहाँ म
भन्ने थाहा हुँदा हुँदै
अरूको घर भत्काएर भएपनि
आफ्नो घर सजाउन तल्लीन यो मन
यो मन त्यागी पुन: त्यो मन पाउन मन छ
ब्रह्माण्ड सारा अटाउँने हृदय बनाउन मन छ
समयको अंकगणितीय श्रृंखलाबाट फुत्त उम्केर
मलाई फेरि त्यही रहस्यमयी बालक हुन मन छ ।
Nepali Poem | सोचमा म एक उच्छृङ्खल विदारित | Bipin Tiwari
सुदूर
एक सँगिनीले भनेकी थिइन्
कृपया तपाईं
आफू भएर होइन
अरू भएर सोचि दिनु
वा त सोच्नु अघि
अरुको स्थान ओगटेर
सोचि दिनु
अनि
मेरो सन्धिपत्र च्यातेर
मलाई विदा दिइन्
र
म विदारित भए ।।
आज
म सोच्ने भएको छु
अनि म सोच्छु
अरु भएर ।।
जस्तै कि
बखत बखतमा
म सोच्छु
पहाड तराई झरना भएर
कन्दमूल तृणमूल भएर ।।
चरीबरीका
लैबरी गीतहरूमा
कामधेनुका ज्वार भाटाहरूमा
म सोच्छु।।
अनि तम तमास
म सोच्छु
एक
उच्छृङ्खल वादमा
उच्छृङ्खलित विदारित भएर ।।
Nepali Poem | बिर्सिदेऊ विगत | Nir Shrestha
मलाई थाहा छ
विगत बिर्सन सजिलो छैन
विगतलाई बिर्सन पनि हुदैन
तर
विगतले वर्तमानको बाटो नै बन्द गरिदिन्छ भने
अनिश्चित भविष्यलाई झन् अनिश्चित बनाइदिन्छ भने
त्यो विगत बिर्सनै पर्छ।
विगतलाई बिर्सनु भनेको
विगतलाई मेटाउनु होइन
ना कि विगतलाई अनदेखा गर्नु
बिर्सनु भनेको त नसम्झेसम्मको लागि
कतै लुकाउनु मात्र हो
अनि त्यसरी लुकाउँदा तिम्रो वर्तमान सहज हुन्छ भने
किन तिमी विगतदेखि चिन्तित छौँ।
हो, म अनुभूत गर्न सक्छु
विगतले पोल्छ,
विगतले पग्लाउछ,
विगतले जमाउछ पनि
अनि विगतले पलपल सताउछ
र त
वर्तमानका बाटाहरू निकै कठिन हुन्छ
तर सम्झ त,
के विगतले तिमीलाई चयन दिएको छ?
के विगतले तिमीलाई प्रेमको आभास दिलाएको छ?
के विगतले तिमीलाई खुसी दिएको छ?
अहँ छैन।
यदी त्यसो हो भने
लुकाइदेऊ त्यो विगतलाई मनको कुनै कुनामा
सम्मान अर्पण गर त्यो सुन्दर विगत निर्माण गर्ने पात्रलाई
अठोट गर विगतबाट सिक्दै वर्तमानलाई अगाडी बढाउने
अनि
स्वीकार त्यो पात्र जसले
तिम्रो विगतलाई स्वीकार्दै वर्तमानको सारथी बन्न खोजिरहेको छ
अनि
उडान भर त्यो प्रेमिल संसारमा जहाँ
तिमी आफूले चाहेको खुसी र आनन्द भेट्ने छौ।
मुटुको कुनामा लुकाइराखेको विगत्
कहिलेकाहीँ मनमा आउन सक्छ
स्वीकार्नु यो एक सामान्य प्रकृया हो
किनकी
विगतको यादले नै त हो
वर्तमानलाई थप सशक्त बनाउने।
Nepali Poem | एउटा अपुरो कथा | Bizay Sangroula
आँखामा सपना विस्मित थियो
ऊ सोचमग्न भयो-
धेरै भएछ उसले सपना नदेखेको
देखोस् पनि कसरी ?
कुनै रात ऊ निदाएकै छैन
सपना देख्न त निदाउनु पर्छ
तर ऊ त छटपटीमा हुर्केको मान्छे
अशान्त मन लिएर भड्केको मान्छे
इच्छाहरू दबाएर बाँचेको मान्छे
जति पाए पनि रित्तो तड्पेको मान्छे
अनि कसरी ऊ निदाउन सक्थ्यो
सारा व्यथा र वेदनालाई सुटुक्क भुलेर
यसरी नै छटपटीमा उसको बिहानी हुन्छ
यसरी नै ऊ अनिदो लम्पसार सुत्छ;
सधैँ ।आँखा खोलेर एक नजर घुमायो उसले
रातभरि सिरेटोको पीडाले आत्तिएर
बिहानीको अनुरागसँगै निदाएको एउटा अनुहार
छेउमा उसलाई गिज्याइरहेको थियो
उसको मनमा चिसो पस्यो
ठूलो मान्छे बनाउन
छोरालाई उसले ‘बोर्डिङ्’ हालेको छ
आज ‘फी’ नबुझाए स्कुलबाट निकाल्ने धम्की छ
ऊ सोच्छ-
घरमा कति रुपैयाँ होला ?
फेरि सम्झन्छ-
त्यो पैसाले त चामल पो किनेको !
जति गरे पनि खानै नपुग्ने…
ऊ पापी पेटलाई सराप्छ
र, छोरालाई हेर्छ एक नजर
उसको कोमल मुहारमा कठोर भविष्य देखापर्छ
ऊ विचलित हुन पुग्छ
मनको बाँध फुटेर उसका आँखा रसाउँछन्
तर कर्तव्यपथमा दृढ ऊ आफैँ सम्हालिन्छ
मनमनै गुनगुनाउँछ—
म कहिल्यै हारेको छैन र हार्दिनँ
म कर्तव्यबाट चुकेको छैन र चुक्दिनँ
म मानव संवेदना बोकेको प्राणी हुँ
मैले बाँच्न जानेको छु भने बचाउन पनि सक्छु
यति सजिलै म हार्दिनँ;
ऊ जुरूक्क उठ्छ ।
आशा अभिलाषाका तानाबाना वरिपरि घुम्छन्
ऊ किञ्चित् विचलित नभई पाइला सार्छ
दिनभर इच्छा र आकांक्षासँग लडिरहन्छ
ऊ जित्छ
यसैमा ऊ असाध्यै खुसी मनाउँछ
तर अचानक उसका बाटाहरू बन्द हुन्छन्
ऊ बीच सडकमा अलमल्ल पर्छ
अगाडी बढ्न उसको सामर्थ्यले भ्याउँदैन
ऊ अघिको पर्खाल ऊ भन्दा दह्रो छ
थकित ऊ असफल हुन्छ
फर्कनु बाहेक उसको कुनै विकल्प हुँदैन
ऊ कराउँछ, चिच्याउँछ अनि रुन्छ
एक्लो ऊ गन्तव्यहीन हुन पुग्छ
अन्तत: ऊ आँफैँमा हार्छ
नमीठो हार लिएर ऊ रित्तो फर्कन्छ
बीच बाटोबाट ।
थाहा पाएदेखि उसले कहिल्यै हाँस्न पाएन
आँसुमा हाँसो खोज्न उसले जानेन
ऊ सपनासँग नाता तोडेको मान्छे
इच्छाहरूलाई उसले कहिल्यै छाती बाहिर निकालेन
ऊ स्वाभिमानी थियो
कसैसँग उसले कहिल्यै भिख मागेन
उसले कुनै खुसी हाँस्नु थिएन
उसले कुनै स्वप्न सजाउनु थिएन
उसले कुनै महत्वाकांक्षा पूरा गर्नु थिएन
तर पनि ऊ हार्यो
जिन्दगीको यो यात्रामा ऊ पूरापूरी गल्यो
लामो सुस्केरा हालेर ऊ थ्याच्च बस्यो
एउटा तीतो आत्मावाज उसले सुन्यो—
छोराको ‘फी’..!
उसको आत्मा डाँको छोडेर रुन थाल्यो
ऊ नराम्ररी पछारियो
सधैँ सत्यको पक्ष लिने उसले
अरू कुनै विकल्प जीवनमा खोजेको थिएन
आफैँलाई धिक्कार्नु सिवाय
उसले कुनै अर्को उपाय देखेन ।
पर साइँलीको भट्टीमा ठूलो हल्ली खल्ली थियो
ऊ निकैबेर सोचमग्न उभिइरह्यो
लामो समयको अन्तराल पश्चात
उसका पाइलाहरू त्यही भीडमा विलीन हुन पुगे ।
पर्पल प्रेम | Nepali Poem by Madhav Khanal
सहिदको आवाज
सजिलै धान्छौ र निरंकुशता? विश्राममा छौ तिमी
तुर्छु भनेर सिङ्गो देश,परिश्रममा छौ तिमी
साउनमा आँखा फुटेको गोरुले हरियो देक्छ भन्छन्
सक्दैनौ लुट्न मेरो देश ,भ्रममा छौ तिमी।।।
मेरो राष्ट्र छेड्ने गोली चलाउन सक्छौ र तिमी?
मलाई जलाएर मेरो राष्ट्रियता जलाउन सक्छौ र तिमी?
मेरो जस्तो छातीको कमी छैन यहाँ
त्यो त्रासले मेरो समर्पण भगाउन सक्छौ र तिमी?
म रगतको अन्तिम थोपा देशलाई दिन्छु
बली मेरो थाम्न सक्छौ र तिमी?
मेरो त नाडीमा पनि देश धड्कन्छ
सजिलै छाम्न सक्छौ र तिमी
म मर्ने बेलामा पनि जय नेपाल भन्छु
हेर्छु अट्टहासमा तिम्रो कतिबेर सुहाउँछौ तिमी।।।।
#सहिद दिवस सम्पूर्ण सहिदहरुमा हर्दिक श्रद्धा सुमन
मिडल क्लास | Nepali Poem by Sudarshan Poudel
ठूलो अवधि
सानो परिधि
पसिना बेच्यो
मुस्कान किन्यो
साँझ घरमा चुलो बलेकै छ
खुट्टा खोच्याएरै भएपनि
चल्नु जीवन चलेकै छ
सानो विवाद
ठूलो संवाद
ठूलो सोँच
सानो संकोच
१०-१२ हजार सहकारीमा राखेकै छ
हप्ता दिनमा एकचोटी त मासु पाकेकै छ
देख्नलाई सपना छदैछ
भोग्नलाई दुःख
त्यो उद्रिएको कमिज खुटाउनु छ
साँझमा थोरै पिउने बानी छ, छुटाउनु छ
अरु त! साँझ घरमा चुलो बलेकै छ
खुट्टा खोच्याएरै भएपनि जीवन चलेकै छ
माया | Nepali Poem | Pravash Dhamala
तिमीले दिएको त्यो मायाको चिनो
आजसम्म पनि छ माया..
तिमीले भनेको हरेक शब्द
मनमा बसेको छ माया
टाढा भएर पनि त्यही यादहरु
मेरो मनमा बसेको छ माया
थाहा छैन हाम्रो भेट अब कहिले हुन्छ
जसरी माछा पनि पानीबाट बाहिर आउँदा तड्पिन्छ
हो म त्यसरी नै तड्पिन्छु माया..
हो थाहा छ टाढा भए पनि माया गर्न छोदैनौं तिमीले
तर यो मेरो सानो मन तिमी तिरै छ माया
बसेर धेरै कुरा गर्छु छ माया…..
चोरिएको पुस्तक | Nepali Poem | Prabhat Paudyal
विश्व जित्ने सोच भएको
अनुसन्धान अनि खोज भएको
जसले मानवता अघि सार्थ्यो कि कतै
नोवल पुरस्कार हात पार्थ्यो कि कतै
जसले खोज्थ्यो होला
अन्त्तरिक्षमा शहर कतै
जसले निकाल्थ्यो होला
समुन्द्रको कहर कतै
जहाँ थियो पढ्किन नजानेको
e=mc2 को इक्वेसन
सल्किन नजानेको
COCl2 सोलुसन
इतिहास तर युद्ध नभाको
कृष्ण क्राइष्ट या बुद्ध नभाको
महाभारत तर द्वन्द नभाको
विचार विवेक मन्ध नभाको
प्रेम भको
भ्रम नभको
निलो जंगल
हरियो खोला
चाँदिको चपल
सुनको झोला
भेटिएर हराए जस्तो
हराएर घर आए जस्तो
ननाथरि
अजिव वस्तु भएको
पुस्तक छ
जुन मैले चोरेको हो
प्रभात निदाएको बेला
उसकै सिरानीबाट
त्यही पुस्तकबाट
चोरिएको हो
यो कविता
जुन आफ्नै भएर नि
मेरो आफ्नै होइन
भोक | Nepali Poem | Sudarshan Poudel
एक टुक्रा रोटीको आशमा रोहिरहेको पेट
बुझ्दैन राष्ट्रियता,
एक गाँसका लागि तड्पिरहेको ऊ
उसका लागि शून्य छन् मर्यादाका सिमाहरु
मरिसकेकाछन् महत्वाकांक्षाहरु
सपनाको चिहान बोकेर हिँड्ने ऊ
शोक बुझ्दैन
ऊ केवल भोक बुझ्छ
जति भोक भएपनि
पच्दैन ती काँचो सान्तवनाहरु
सकिदैन निल्न दुषित सिद्धान्तहरु
वेस्वाद लाग्छन् विद्वानहरु
उ श्रम बुझ्छ
प्रेम, भ्रम बुझ्दैन
जसरी पेट भरिएको तपाईं
भोक बुझ्नुहुन्न
अधुरा सपनाहरू | Nepali Poem | Nir Shrestha
अचेल मलाई
मेरो अनुहारको मलिन धब्बाहरू हेर्दै
मुस्काउन बिर्सिएर सुख्खा भएका अधरहरूलाई संकेत गर्दै
चाउरिएका शरीरका रक्तनसाहरूलाई थमथमाउँदै
ठडिन नसकेका शिरलाई समाउँदै
मेरै सपनाहरूले गिज्याउँछन्।
अचेल म
पाक्दापाक्दै ग्यास सकिएर अधकल्चो भएको भातजस्तै
हावा सकिन लागेर मुजा परेको भकुन्डोजस्तै
गुड्दागुड्दै पत्ता भाँचिएर उकालो घुमाउरो बाटोमा अलपत्र परेको बसजस्तै
निर्थक र महत्वाहिन मानवरूपी शरीरजस्तै भएको छु।
सपनाको पछाडी दौडदादौडदै
सङ्घर्षरूपी छालमा पौडदापौडदै
खुल्ला पखेटा फिजाएर उड्दाउड्दै
कतै विशाल जङ्घारभित्र फस्न पुगेको छु
सन्तुलन मिलाउन नसकेर समुद्रभित्र डुबेको छु।
अझै पनि अन्योलग्रस्त छु
कहाँ चुड्यो मेरो पङ्खाको धागो
कहाँ छुट्यो दिशा छुट्याउने कम्पास
कहाँ टुट्यो मेरो सपनाको गन्तव्य।
सफलताको भोको म
सबै सपनाहरू साकार पार्न चाहन्थे
तर
सफलता अनिश्चित भएपछि
सपनामा नै भए पनि यथार्थको संसार नियालेर
आफू सफल भएको भ्रमलाई
मष्तिष्कभरी अङ्कुराउन थालेको छु
थाहा छैन
यो भ्रममा कतिन्जेल बाँच्न सक्छु
आफैले आफैलाई कतिन्जेल ढाट्न सक्छु
हिनताबोध अनि आत्मग्लानीलाई कतिन्जेल सम्हाल्न सक्छु।
Read More Nepali Poem: https://offlinethinker.com/category/poem/
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com