समय,
तिमी यति धेरै बलवान् बनिदियौ की
म तिम्रो महत्वलाई महसुस गर्दै
आफ्नै मन र मष्तिष्कलाई सन्तुलनमा राख्दै
एउटा दूर्गन्तव्यमा पुग्ने अठोटका साथ
उडान भर्नेक्रममा
अगाडि, पछाडी, दायाँ अनि बायाँका बादलहरू
छिचोल्ने प्रयास गर्दागर्दै
कतै अनकन्टार जङ्घारमा
अलझिएर अड्किरहेको छु
तर तिमी
निष्फिकृ भएर आफ्नै गतिमा
कुनै चिजको पर्वाह नगरी
कसैको चासो, चिन्ता अनि ख्याल नराखि
एउटै गति, लय र सुरमा
निरन्तर अगाडी बढिरहेका छौ
आफ्नो गन्तव्य भेट्न
सायद
तिमीलाई तिमी हुनुको बोध छ
तर म
म कहिल्यै हुन सकिनँ
सधैँ अल्झिरहे कुनै बन्धनमा
भए विचल्लित यो या त्यो नाममा
परिनाम
आज तिमी
तिम्रो गन्तव्य नजिक छौ
म कतै हराइरहेको छु
अनि
तिमी मलाई हेर्दै गिज्याइरहेका छौ।
रचना: निर श्रेष्ठ
Read More From Nir Shrestha:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com