मेरो बिन्ती | Nepali Poem | Nir Shrestha
यो खुल्ला आकाशमा म
त्यो चरीझैँ उड्न चाहन्थेँ
यो कञ्चन पानीमा म
निस्फिक्री माछाझैँ पौडन चाहन्थेँ
त्यो घना जङ्गलमा म
कस्तुरीले झैँ सुगन्ध फैलाउँदै हिँड्न चाहन्थेँ
तर बिडम्बना
मेरा उड्ने पखेटा भाँचिदिए पछी
पौडने पानीमा विष घुलाएपछी
सुगन्ध सहन नसकेर जाल थापिदिए पछी
तिमीले दिएको स्वतन्त्रता नामको रथ चढ्दै
म कहाँ अघि बढ्न सक्छु र?
तिमीसँग कहाँ सिङौरी खेल्न सक्छु र?
कहाँ म तिमी समानको हैसियत भेटाउन सक्छु र?
अनि पो विवश हुँदै छु म
त्यो तिम्रो मौन दासता स्वीकार्न
आफ्ना खुसीहरूलाई तिलाञ्जली दिन
तिम्रै सपनाहरूमा आफूलाई समर्पन गर्न
त्यसैले,
मेरो बिन्ती
अबदेखि यो महिला अधिकारको कुरा नगर्नु,
नारी पुरुष समान छौँ भन्ने बुट्टा नभर्नु
अनि
न्यायपूर्ण र समतामुलक समाजको परिकल्पना नगर्नु
रचना: निर श्रेष्ठ
दोष | Poem | Aditya Dahal | [Offline Thinker] | #justicefornirmala
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com