-Sneha Jha
यो लकडाउनले मेरो लगायत सम्पूर्णको जीवनमा अमूल परिवर्तन ल्याएको छ। घरैमा थुनिएर बस्नुपरेको छ।
भागदौडमै बित्ने जीवनमा अहिले हल्का भए पनि पूर्णविराम लागेको छ। बेफर्सदिलो म, धेरै फर्सद भएर सोचमा डुब्ने थालेकी छु । लाग्दै छ म कति कृतघ्न रहेछु भनेर । जीवनले मलाई खुशी हुने अनेकौँ मौका दिँदो रहेछ तर म भने आफ्नो हत्केलामा लगाएको घडीको सुई हेर्दै एक क्षण रोकिएर खुशी पनि हुँदिन थिएँ।
अहिले घरमा एक्लै कोठामा टोलाएर बसिरहँदा मैले महामारी भन्दा पहिलेको समयमा त्यहाँ पारि रहेको बारीको फूल एकछिन नियाल्दै प्रकृतिको बयान गरेको भए हुन्थ्यो नि । व्यस्त समय भएता पनि समय मिलाएर आफ्नो साथीहरुलाई अहिले काममा छु पछि कहिले भेटौँला भन्दै नटारिकनै भेट्न गएको भए के थाहा मैले अझै सुमधुर यादहरु समेट्न सक्थे कि ! यस्तै यस्तै सोचहरुले आजभोलि मलाई झस्काइ रहन्छ । अब त भर्चुअल माध्यम बाहेकको उपाय नै छैन् । भिडियो कलमा बोलेको भेटेर बोलेजस्तो आन्नददायी कहाँ नै हुन्छ र ? मैले यो सटडाउनमा धेरै कुराहरु सम्झी रहेको छु । जुन हामी पहिलेको समयमा एकदमै रमाएर गर्ने गथ्यौँ ।
आफ्नो घरको चार भित्तामा सिमित भएर बस्दा मेरो जीवन कति मूल्यवान रहेछ भन्ने मलाई आभास भइरहेको छ ।
मलाई सबैभन्दा यी पाँच कुराको सबैभन्दा याद आइरहेछ। र लकडाउन पछि मैलै सबैभन्दा अगाडी गर्ने ५ वटा बकेट लिस्ट यस प्रकार छन्।
आफ्ना आफन्तजन र साथीभाईलाई भेट्ने :
ईन्टरनेटले हामीलाई एक अर्कासँग जोडी राखेता पनि भौतिक रुपमा कसैसँग भेट्नुमा धेरै फरक हुने हामी सबैलाई थाहा छ। मेरै कुरा गरौँ। हात मिलाउँदै, अगाँलो हालेर चिया कफीसँग मीठो गफगाफ साटासाट गर्न पाउँदा म खुशीले हर्षित हुने गर्थे । साथीको जन्मदिन मनाउनलाई होस् वा आफ्नो जीवनमा घटिरहेको केही नयाँ नौलो सुनाउन, भेटघाटले जीवनमा एक रमाइलोपल थपिदिने गर्थ्यो। समय बितेको पत्तै नहुने । हप्तादिनको थकाई आफू नजिकको मान्छेको अनुहार हेरेर, कुरा गरेर विलाप हुन्थ्यो। इष्टमित्रसँगै बसेर काँचो चिउरा खाँदा पनि स्वादिलो लाग्दथ्यो। बेलुकी ढिला गरे मम्मीले घर छिटो आइज ढिलो भइसक्यो भनेर फोन गर्दा चाँडै अस्ताउने सूर्यलाई रिस पोख्थे।
अहिले सटडाउने गर्दा तिनै कुरा याद आउछन्। एक्लै थरीथरीको परिकार बनाएर खाँदा पनि खासै खुसी लाग्दैन। दिन काट्न गाह्रै पर्छ। लाग्छ, त्यो समय फेरि फर्केर आइदिए कति रमाइलो हुन्थ्यो होला है?
रेष्टुरेन्टमा गएर खान
म स्ट्रीट फुड र फास्ट फुड खान एकदमै रुचाउँने मान्छे। थाहा छ यस्ता कुरा स्वास्थयका लागि हानिकारक हुन्छन् भनेर तर कहिलेकाहीँ त अवश्य पनि यो सबैलाई मनपर्ने नै कुरा हो।
तर अहिले फेसबुकको न्युज फिड स्क्रोल गर्दा पनि कतै मःमः, लाफिङ, बर्गर, चिकेन विङ्गस् जस्ता खानेकुराको तस्बीर देख्दामन कटक्क खान्छ। घरमा पाकेको कुरा मन नपरेको चाँहि होइन तर रेष्टुरेन्टमा गएर थुप्रै फोटो खिचेको र थरीथरीको खानेकुरा खाएको चाहिँ एकदमै सम्झना आउँछ । फुड पेजहरुलाई केही समयका लागि मैले त अनलाइकनै गरिदिएकी छु नत्र त आकाशकी फल आँखा तरी मर झैँ हुन्छ।
विभिन्न ठाउँहरु घुम्न गएको
नयाँ नयाँ ठाउँ घुम्न जानुको मज्जानै बेग्लै हुन्छ। हावासरी उड्दै, डुल्दै, बग्दै नविन ठाउँ घुम्न पाउँदा निकै अनुभव बटुलिन्थ्यो। सामाजिक सञ्जालमा नयाँ ठाउँहरुको फोटो खिचेर साथीभाईसँग सेयर गर्न पनि निकै खुशी लाग्थ्यो । कसैले सित्तैमा घुमाउँछु, हिड् घुम्न भन्दा झन कति फुरुङ हुन्थे।
तर अहिले? एउटा कोठाबाट अर्काे कोठा चहार्दा चहार्दा थाकी सकेँ। कहिले सबै सामान्य हुन्छ र म फेरी घुम्न जान पाउँ? त्यहि दिनको आशमा छु म।
कक्षामा भौतिक रुपमा पढ्ने
अनलाइन कक्षाको आफ्नै फाइदा भएता पनि भौतिक कक्षा अझै बढि प्रभावकारी भएको मैले अनुभव गरेकी छु । शिक्षकसँगसँगै बोल्दै अन्तर्क्रिया गरेर पढ्दा पठनपाठन पनि रमणीय हुने गर्दथ्यो । शिक्षकले अगाडि नै रहँदा गलत सही पनि सच्याई दिनुहुन्थ्यो । अहिले त माइक अन गरेर शिक्षकसँगै अन्तर्क्रिया गरेर पढौँ भन्यो, वरीपरीको अरु हल्लाले पुरै कक्षा नै समस्यामा पर्ने डर। मान्छेको आफ्नो पढ्ने इच्छा भन्दा पनि प्रविधिले साथ दिन्छ कि नाई भन्ने कुराले मलाई बढि चिन्तित बनाइरहेको हन्छ । त्यस्तै कलेज गएर पढ्दा विभिन्न कार्यक्रमहरुमा पनि सहभागी हुन पाइन्थ्यो । प्रतियोगितामा प्रस्तुती दिन पाइन्थ्यो। अनलाइन क्लासमा त्यो कुरा साह्रै मिस् हुन्छ।
सिनेमा हलमा गएर फिल्म हेर्न
अहिले थुप्रै ओटिटी प्लेटफर्महरुमा राम्रो शोहरु आउन थालेका छन् । तर सिनेमा हलमा गएर ठूलो स्क्रिनमा आफ्नो परिवार साथीभाईसँग त्यहि फिल्म हेर्दा एकदमै रमाइलो हुने गर्दछ। सिनेमा हलको पपकर्न र त्यहाँको वातावरणले मलाई फिल्म भन्दा बढि प्रभाव पार्ने गर्दथ्यो । ठूलो स्क्रीन र त्यो साउण्ड इफेक्टमा फिल्म हेर्नु र मोबाइलमा हेरे फिल्मको तुलना गर्न सकिदैन ।
यसपालिको निषेधाज्ञा कहिले सकिन्छ र म यी ५ कुराको लाइभ मजा लिन पाउँ भनेर कुरी बसेको छु। मलाई फेरी खुलेर बाँच्न मन छ । जे जस्तो कुरा मैलै अहिलेसम्म गरेको छैन् त्यो सबै अनुभव गर्न मन छ । मास्क नलगाइकनै निर्धक्क बाँच्न पाउने दिन हेर्न मन छ। सबै ठीक भएर सबै रमेको हेर्न मन छ।
अहिलेलाई भने सुनौलो दिनहरुको आश गर्दै दिनहरु काट्दै छु। तपाई पनि सुरक्षित भएर कोठामै बस्नुहोला है।
Read more from Sneha Jha:
What Students Are Really Thinking During Online Classes | Sneha Jha
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com