म अझै पल्टिरहेकै छु..! | Muskan Pandey | Offline Thinker
म पल्टिरहेको छु मेरो घरको सानो कोठाको एक कुनामा। कोठाको अर्को कुनामा टि.भी खुल्ला छ। आज नेपालभरि १९ हजार ८ सय ४६ जनाले मात्रै पिसिआर जाँच गराएका छन्। कोभिड पोजिटिभ देखिनेको संख्या ८३,४५३ पुगेको छ। मृत्यु हुनेको संख्या ३,००० नाघेको छ। मृत्यु हुनेहरु सबै कोभिडको कारणले मृत्यु भएको भनी पुष्टि गरिएको छ।
कोठाको अर्को कुनामा खुल्ला राखिएको टि.भीबाट यस्तै समाचार म बेला बेलामा सुनेर पल्टिरहेकै ठाउँमा झस्किन्छु। ठिक हुने भन्दा संक्रमित हुनेको संङ्ख्या झन झन बढ्दै छ। कतै पल्टिरहेकै बेलामा केही हुने त होइन? कतै खोक्दा खोक्दै यो सास रोक्किने त होइन। अहिलेको समयमा केवल यहि थियो बिडम्बना। न बाहिर निस्कन पाउनु, न कसैसँग नजिकिन पाउनु। कस्तो दिन आएछ यो। कस्तो भयानक रोगको महामारी फैलिएछ सारा संसारमा।
लगभग दुई वर्ष नै हुन लागिसक्यो यो अपत्यारिलो रुघा, खोकी, टाउको दुखाइ , हाडजोर्नीको दुखाइ र श्वासप्रस्वास समस्याले विश्वभरीका मान्छेलाई सताएको। हस्पिटलमा बेडको कमी, अक्सिजन सिलिन्डर र आइ.सि.यु को अभावले विरामीलाई अत्याएको। वर्ष बितेर गयो तर यो रोग अझ उस्तै छ। झन झन छिटो फैलिने र छिटो संक्रमण हुँदै मान्छेलाई आक्रमण हुने बन्दै छ। म मात्रै होइन, सारा मान्छेहरु अहिले त्रसित छन्। केही अत्तोपत्तो नभएको यो जीवन र मृत्यु बिचको समयलाई अङ्कमाल गर्दै छन्। अस्पतालको अवस्था र मृत्युको खबरले यति बेला सबै स्तब्ध छन्।
लकडाउन कायम गरेको पनि थुप्रै दिन भइसक्यो। छट्पटिरहेको मनहरुलाई शान्त गराउने केही उपाय भेटिएको छैन। कोरोना कै कारण आफन्त गुमाएकाहरुलाई सान्त्वना दिलाउन केही शब्द बटुल्न सकिएको छैन। लाखौँ, कयौँ जिन्दगीमा आएको उतारचढाव र देशमा भइरहेका यी उथलपुथललाई सम्हाल्न सकिएको छैन। जति कोसिस गर्दा पनि असफल भइरहँदा यहाँ कसैको मुहारमा हाँसो देखिएको छैन। यहाँ कयौँ मनहरु दुःखी छन्, कयौँ घरहरु शून्य छन्। त्यसैले कोठाको भित्ता र कुनाकाप्चाहरुसँगै मानिस आफ्नो मनको गुनासो पोख्दै छन्। सायद म जस्तै कति आफ्नो घरको सानो कोठाको एक कुनामा लम्पसार होलान्। दिग्दार होलान्। केहि कुराको टुंगो नभएको यो समयमा लाचार होलान्।
उफ! सार्है पो सतायो यो रोगले। शरीर मात्र नभएर कयौँ मनहरुलाइ नै कमजोर बनाइसकेछ यो कोभिड नामक भाइरसले।
गर्ने के? म सँग कुनै शक्ति भए म यो रोगलाई मेरो एक मुठी सास फोक्सोदेखि तान्दै मुखभरी जम्मा गरेर एकैचोटी लामो फु… गर्दै त्यही सासलाई बाहिर फालेर यो भाइरसले फैलाएको महामारीलाई हटाउने थिएँ। मिल्ने भए यो रोगले मानिसको जीवन यति तनावग्रस्त बन्न दिने थिइन। तर खै सोचेजस्तो त कहाँ हुँदो रहेछ र। सोचेजस्तो त के नै भयो र। कसले सोचेको थियो होला र यस्तो रोगले मानिसको सारा काम नै रोकिदिन्छ भनेर। बिग्रिएको घडीको सुइ अड्किएजस्तै सबैको जिन्दगीले यसरी टक्क विश्राम लिन्छ भनेर, कसले सोचेको थियो ररु मानिसको जिन्दगीमा यस्तो एउटा भयानक रोग वाधा बनेर आउँछ भनेर कसले कल्पना गरेको थियो र? यसले मानिसको तन र मनलाई यति नमज्जाले गलाइदिन्छ भनेर, कसले नै पो सोचेको थियो र?
परिस्थिति यति धेरै बिग्रिसकेको छ कि मानिसहरुसँग केवल अलिकति आश बाँकी छ। कोरोनासँग लडिरहेकाहरुलाई सान्त्वना दिलाउने थोरै हिम्मत भएपनि बाँकी छ। त्यहि सानो आशाको त्यान्द्रामा बाँचिरहेका छन् मानिस। अब डराएर होइन मनमस्तिष्कलाई बलियो बनाएर रोगसँग लड्ने क्षमताको आवश्यकता छ, लकडाउनको नियम पालना गर्दै सचेत हुनु पर्ने दिन आएको छ। आँत्तिएर होइन हौसला र सकारात्मक सोचाइलाई प्राथमिकता दिएर लर्खराएका पाइला अघि सार्नुपर्ने अवस्था सिर्जना भएको छ। यो कोरोनाले सिर्जना गरेको झमेलाहरुलाई हारेर होइन लडेर खत्तम गर्नु पर्ने शक्तिको खोजी गर्नु पर्नेछ ताकी मानिसको जीवनमा यो कोरोना फेरि कालो बादल बनेर नआओस्। जिन्दगीको गोरेटोमा यो कोभिड या अरु कुनै भाइरसले यसरी कसैको गन्तव्य नअल्मल्याओस्।
देशमा यतिका दुविधाहरु उत्पन्न भइसके कि मेरो मस्तिष्कले सोच्न नै छोडिसक्यो। यत्तिका धेरै कुराहरुले भित्र भित्रै खाइसक्यो। म बिरामीको बारेमा अझै सोच्छु, जब समाचारमा मृत्युको खबर सुन्छु, म ती जलेर खरानी हुने लासलाई सम्झिन्छु जब पशुपतीमा लासको लाम र धुवैँ धुवाँको दृश्य देख्छु। हो म अझै पल्टिरहेकै छु त्यही सानो कोठाको एक कुनामा तर म अझ पनि सोच्दै छु, आखिर कहिले सम्म?
एउटा कैदीलाई जेलमा थुनिए जस्तै! मैले आफूले आफूलाई एउटा सानो कोठाभित्र थुनेको छु, मैले आफूलाई मात्र नभएर आफूभित्रको डरलाई आफ्नो मनभित्र थुनेर राखेको छु। सारा भ्रमलाई त्यागेर यो मनलाई बलियो बनाएको छु। कोरोनासँग लड्ने हिम्मत र शक्ति बटुलेर बसेको छ।
त्यसैले म आज निर्धक्क छु। एउटा आश नै काफी रहेछ जिन्दगी कटाउन। त्यस्तै म अब कोरोनाको अन्त्य छिट्टै हुने आशामा छु, अस्पतालमा भर्ना भएर मृत्युुसँग लडिरहेकाहरु घर फर्केर पक्कै आउँछन् भन्ने बिश्वासमा छु। कामको अभावले एक छाक मीठो भोजन नपाएका रु फेरि काममा छिट्टै फर्किनेछ्न् भन्ने प्राथना गर्दछु। सबैको जिन्दगीमा फेरि खुशी एकपटक उदाउनेछ भन्ने भरोसामा आजको दिन म त्यही सानो कोठाको एउटा कुनामा पल्टिएर कटाउँदै छु।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com