ए सरकार!
ए सरकार! तिमीलाई एउटा प्रश्न छ?
सहि निर्णयको उचाइ नभेट्ने,
तिम्रो खोक्रो कानुन कस्को अधिनमा छ?
ए सरकार! रातो रगतको दागमा लत्पत्तिएर,
लाजले मुहार रातो बनाउँदै,
बीच बाटोमा असुरक्षित उभिएकी
एक नारीप्रति,
प्रष्ट्याइदेउ तिम्रो धारण कस्तो छ?
ए सरकार!
‘रातो कर माफ गर’
चर्को नारा चल्दै छ सडकमा,
नारीले भोग्नु पर्ने रजस्वला,
र तिमीले तोक्नु पर्ने मुल्यमा,
बुझाइदेउ के को तौल बढी छ?
ए सरकार!
नारीको रागरस परिवर्तन हुँदै
योनीबाट बगेको रगतलाई
चाहिने स्यानिटरी प्याडलाई
तिमी विलासिता मान्छौ,
भनिदेउ स्वास्थ्य सेवाका कानुनहरु
के का लागि बनाएका छौ?
ए सरकार!
‘प्याड सार्है महन्ङ्गो भो’,
अभियान चल्दै छ सहरमा,
खुलाइदेउ औचित्य कारणहरु,
आखिर ‘स्यानिटरी प्याड’ मा किन
भन्सार एवम् करको अभिवृद्धि छ?
ए सरकार,
आमा सुनाउँदै छिन्
रजस्वला हुँदाका व्यथाहरु,
अझै भोग्दै छिन्,
प्रजनन स्वास्थ्यमा देखा परेका समस्याहरु,
कसरी बचाउने पैसा?
पोख्दै छन् वेदना साथीहरु,
स्कुलको ड्रेसमा लाग्ने भो रगतका दागहरु,
कुनामा रुँदै थिए
भर्खर रजस्वला अनुभव गरेका बालिकाहरु,
खोइ कस्ले कहिल्यै नियाल्ने नारीका यी पीडाहरु?
ए सरकार!
सडकमा उत्रिएका नारीहरुले
सुनाउँदैछन् आर्तनादका ध्वनीहरु,
जुन ध्वनी गाउँदेखि सहरसम्म गुन्जिने गर्छ
नारीका मनहरुमा,
भनन कहिल्यै लगाउछौ मलम
ती नारीका चित्कारहरुमा?
ए सरकार!
म नारी हुँ,
म पछि हट्ने छैन,
कानमा कपास राख्ने छैन,
तिमीले बढाएको कर विरुद्ध
सडकमा नारा लगाउन छोड्ने छैन,
परिवर्तनका अभियानहरु रोक्ने छैन,
निर्णय नबद्लिएसम्म,
अभियानमा ढलेको रातो शरीर
र राता अक्षरमा लेखिएका ठूला पर्चाहरु,
सडकबाट उठ्ने छैन,
यस्तो अपहेलना र उत्पीडन
अब कुनै नारीले सहने छैन।
ए सरकार!
म नारी हुँ,
म मेरो शरीर र कपडामा
रगतको रातो दाग लाग्न दिन्न्,
मेरो स्वाभिमानमा तिम्रो निर्णय
हावी हुन दिन्न।
तिमी उपेक्षा गर,
म अभिव्यक्त गर्छु,
शासक र शोषणको दाग,
म मेरो अस्तित्वमा लाग्न दिन्न।
ए सरकार!
म प्रतीक्षा गर्छु,
तिम्रो जवाफको
किन कि मलाई अपेक्षा छ,
तिमी थाक्नेछौ एकदिन ,
जुन दिन नारीको चित्कार
तिम्रो कानमा पर्नेछ,
गहिरो तन्द्राबाट ब्युँझेजस्तो
जब तिम्रो मन काँप्नेछ।
ए सरकार!
त्यस दिन
मैले मेरो प्रश्नको
जवाफ पाउनेछु,
र
म आफैमा प्रष्ट हुने छु।

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

