प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

Muskan Pandey

“अतितका पाना”

नयनराज पाण्डेको “यार” उपन्यास पढ्दै थियो केशव। ऊ  आफूलाई मनपरेको पुस्तक एकै रातमा सकाउँथ्यो। ‘एयरगन’- पृष्ठ ४८ मा पुगेका थिए…

केही स्मृतिहरु जोडिएका छन् उसित। केही धमिला छन् ती स्मृतिचित्रहरु। तर, चित्रअगाडिको बाफलाई मनको नरम हत्केलाले पुछ्दा ती चित्र सफा भएर आउँदा रहेछन्। मनको किताबमा थुनिएका गुलाबका सुकेका फूल फेरि फक्रिन थाल्दा रहेछन्। स्मृतिबाट पनि ताता बाफ उड्छनमनको ऐनामा धमिलो भएर बस्छन्। त्यही बाफमा लेख्न सकिन्छ स्मृतिचित्रका लागि एउटा सुन्दर शिर्षक। तर मलायति बेला शिर्षक होइन, सिङ्गै स्मृतिलाई ऎनामा दुरुस्त हेर्नुछ।”

यो हरफ पढिनसक्दै केशव आफ्नै स्मृतिहरु केलाउन पुग्छन्।

***

समय ले पनि मानिसलाई कहाँ कहाँ पुर्याउँदो रहेछ।” केशव एक्लै बर्बराउँदै थियो।

अतीतका पानाहरु पल्टाउँदै ऊ आफूले बाँचेको जिन्दगी र विगतसँग जोडिएका वर्तमानलाई मुल्यांकन गर्दै थियो।

‘म कति टाढा आइपुगेछु। यति लामो यात्रा, सम्झँदा भने कत्ति छोटो लाग्ने रहेछ।’ उ भन्दै थियो, ‘ओहो! उमेरको त ख्यालै नगरेको, बूढो पो भइएछ।’ ढल्कँदै गएको उमेर र फुल्दै गरेको कपाल सुम्सुम्याउँदै थियो ऊ।

उता उपन्यास बन्द हुन्छ। यता केशवका स्मृतिका पन्नाहरु पल्टिन्छन्। वर्षौँदेखि थन्किएको एल्बममा उ आफ्नो जवानीका तस्विर हेर्दै मुस्कुराउँछ।

एक्छिनमै मुस्ताङ पुग्थ्यो, फेरि अर्को पलमा तराईका फाँटहरुमा। ऊ कहिल्यै आमाको काखमा हुन्थ्यो, कहिले साथिभाइहरुको साथमा। तस्विरबाटै फेरि एकपटक ऊ आफ्नो जिन्दगी जिउँदै थियो।

बाल्यकालका तस्विर हेर्दा ऊ फुरुङ्ग थियो। केशव एल्बम पल्टाउँदै जान्छ। पल्टाउँदै। अकस्मात् रोक्किन्छ जब आफ्नो विवाहको तस्विर देख्छ।

सायद यतिखेर उसको मन अमिलो भएको हुनुपर्छ। या त ‘यार’ उपन्यासमा भनिएको जस्तै स्मृतिचित्रहरु धमिलिएको हुनुपर्छ।

***

उसले एल्बम बन्द गर्छ। खाटको कुनामा थन्क्याउँछ। तर एल्बम थन्क्याए पनि याद भने अझै थन्क्याउन नसकेको अवस्था थियो। ऊ कोठाको मधुरो प्रकाशमा आफ्नो दराजभित्र केही खोज्दै आट्दै थियो।

‘यहिँ थियो कहाँ गएछ?’ उ मुर्मुराउँदै गयो।

उसले सम्हालेर राखेको के होला त्यस्तो? सायद अतीतसँगै जोडिएकै केही हुनुपर्छ।

‘भेट्टियो। उफ!’ दराजभित्रबाट तीन-चार वटा पत्र निकाल्यो। ‘मेरा प्रेम पत्रहरु।’

ऊ अब प्रेमपत्र पल्टाउन थाल्यो। पहिलो प्रेमीको। जुन प्रेम विवाह पछि परिणत भइसकेको थियो। प्रेमपत्रहरु पढ्दा उसका आँखा रसाए। सायद उसलाई यतिखेर आफू उपन्यासको कुनै एउटा पात्र जस्तै लाग्दै होला। जिन्दगी कथा जस्तै अनि आफ्नो प्रेम, उपन्यासको कुनै शिर्षक जस्तै।

केशव आफ्नो आँसुले धमिल्याएको शब्दहरु जस्तै वर्तमानबाट धमिलिँदै गयो। उहि पहिलो प्रेम जस्तै। पुरानो सम्बन्ध जस्तै। भाग्यले साथ नदिएपछि कसको  के लाग्छ र? आफूले चाहेको व्यक्तिसँग जीवन जिउन भाग्य चाहिने रहेछ। प्रेम गरेर मात्र कहाँ हुँदो हो?

केशव यतिखेर पृष्ठ ४८ को पहिलो हरफको अन्तिम वाक्यमा लेखिएजस्तै सिङ्गै स्मृतिलाई ऎनामा दुरुस्त हेर्दै थियो। फरक यत्ति थियो उपन्यासमा कोरिएका कथा काल्पनिक थिए र केशवले केलाइरहेका स्मृतिहरु उसका विगतका यथार्थ।

आफ्नो प्रेमिकासँग विवाह गरेको महिना दिन नपुग्दै उनी एक्लोजो भएका थिए। प्रेमिकाले छाडेर गएको हप्तादिनसम्म अत्तोपत्तो नहुँदा आफै खोज्न हिँड्यो। एकदिन केशवको कानमा उसकी श्रीमती अर्कैसँग सल्केको कुरा पुग्यो। पहिले उसले यो कुरा नकार्यो। पत्याएन। तर भोलिपल्टै बाटोमा आमनेसामने जम्काभेट हुँदा उनी तर्किएको देखेर केशवले आश मार्यो। अनि वास्ता गर्न छोडेको नाटक गर्यो। त्यस बखत उसको मन भित्रभित्रै छियाछिया भएको हुँदो हो। मनपर्ने व्यक्ति तर्किएको कसले सहन सक्छ र?

‘२५ वर्ष भइसकेछ उनीहरु छुट्टिएको।’

केशवले सम्बन्ध तोडे पनि प्रेम गर्न छोडेको थिएन। त्यसैले त उपन्यास पढ्न छोडेर ऊ प्रेमका पत्रहरु पल्टाउँदै थियो। वर्तमानमा  खुशी हुने बहाना अतितमा खोज्दै थियो। ऊ अझै पुराना यादका घेराभित्र आफ्नो अस्तित्व खोज्दै थियो, भ्रमको दुनियाँमा अल्झिएको आफ्नो मनलाई सम्झाउँदै थियो।

केशव त्यो बेला प्रेमको भ्रममा थियो। खुशी थियो। किन कि ऊ सत्यबाट अन्जान थियो।

‘भ्रमको दुनियाँ पनि साँच्चै कति रमाइलो हुँदो रहेछ जति सपना र कल्पनाको दुनियाँ हुन्छ।’

***

समय जति अघि बढे पनि,  उमेर जति ढल्किए पनि मानिसको मनको तलाउ भने सधैँ उस्तै।

मनमस्तिष्कले सोच्न कहिले नछोड्ने रहेछ । जति नै सुन्दर या मन कोक्याउने स्मृति किन नहोस् उसले आफ्नो अतितलाई भुल्न नचाहने रैछ।

***

विगत सम्झेर केशवलाई निराशाले छोइसकेको थियो ।

उसका नयन टिल्पिलाइसकेका थिए। आँखाबाट झरेका मोतीका दानाले पत्रका अक्षर मेटाउन थालेपछी बल्ल उसलाई यथार्थले झस्कायो।

‘मैले यतिका दिनहरु एक्लै बिताएछु। मेरो आधा जीवन त सम्झनामै बितेछ।’, उ मनमनै बर्बराउँदै थियो।

प्रेममा अल्झेको मनले केही सुल्झाउन सक्दैन भन्थे। हो रहेछ। यो प्रेम भन्ने कुरा ठूलो उल्झन रहेछ।

सम्हालिएन बाँकी मनलाई सुम्सुमाउँदै उसले प्रेमपत्र मिलाएर पट्याउँछ। फोटो एल्बमभित्र सम्हालेर राख्छ। स्मृतिहरु मनमनै खुम्च्याउँछ। फेरि यार उपन्यासका पाना पल्टाउँछ। ‘इजार’ पृष्ठ ८…..

सम्झना अजङ्गका हिमालजस्तै रहेछन्, जति उक्लिन गाह्रो, ओर्लिन पनि उति नै जटिल सम्झना समुद्र रहेछ, हजार गाग्री पानी उबाए पनि कहिल्यै नरित्तिने सम्झना बतास पनि रहेछ, जसले जति तानेर आफ्नो फोक्सोमा भरे पनि कहिल्यै नसकिने….,केशव पढ्दै थियो!

रातीको १ बज्दै थियो।

पृष्ठ ४८ सम्म पढेर भ्याइसकेको उसले पुन: पृष्ठ ८ देखि पढ्न सुरु गर्यो।

 

Read More From Muskan Pandey:

आखिर के मात्र होइन जिन्दगी? | Muskan Pandey

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *