अब सुमनले लेख्छ ! | Suman Bhattarai

suman bhattarai

अब सुमनले लेख्छ !

म गाउँ जादा पाइतला नफुटेका गोडाहरु आजसम्म भेटेको छैन्। उनीहरूको निधारको रेखामा त्यही लेखिएर आएर पनि होला, हातका रेखाहरुलाई सधै दुःखका फोकाले छेकी मात्रै राख्छन् । मेरा गाउलेका आँखाहरु पनि खडेरीको खेतझै सुक्खा भइदिए पनि त हुने । तर गाउँमा उल्टो छ । खेतमा हुनुपर्ने रह आँखामा छ । अनि आँखामा हुनुपर्ने खडेरी खेतमा।

गाउँमा, उमेर पुगेका मुहारहरु थकान र बुढ्यौलीको रितले चाउरिएका छन् । उमेर हुनेका मुहारहरु उदासिनता र महत्वाकांक्षाको मुजामा थिलिएर चाउरिएका छन् । लाग्छ यहाँ सुख छुटेझै यिनका कथाहरु पनि आजसम्म छुटिरहे । मुलधारको मिडिया र लेखकको कलमको मसिबाट मेरो गाउँ सधै ओभानो रह्यो । अब, त डर लाग्छ गाउनै छुटिने तर्खरमा छ । मिल्ने भए मानिसहरू झै सिङ्गो भूगोल पनि अहिले सहर झरिसक्थ्यो होला । ती गोडा, पाइतला, हातका रेखाहरु, आँखा, अनुहार र सिङ्गो गाउँको कथा अब लेखिनुपर्छ । उँ छुट्नुभन्दा अगाडि नै लेखिनुपर्छ । अब सुमनले तिनै कथा मात्र लेख्छ ।

समयको गतिमा कति मेटिए । कति आफ्नो अस्तित्वको अन्तिम पल कुरि भग्नावशेष भएर बसेका छन् । ती अहिले लेखिएनन् भने सायद पछि कहिल्यै लेखिदैनन् । ती सबै हाम्रा साक्षी हुन् । हाम्रा थकाइ, बिराम र आरामहरुका साथी हुन् । हाम्रा हरेक भावनाहरुको संगी हुन् । त्यसैले अब सुमनले तिनकै कहानी मात्र लेख्छ ।

मेरा पहाडका बजारहरु पनि त उस्तै छन् । प्रेमिका छुटेको सन्तापमा बाचिरहेको एक असफल प्रेमी जस्तै भएर बाच्दै छ बजार ! बजारहरु पर्खाइमा मात्रै बाचिरहेछन् । दिनभरी अशान्त मुहार बोकेर मोहोर कुरी बस्छन् पहाडका पसलका सटरहरु । हरेकक्षण अहिले एस्ट्रेमा टकटकी रहन्छन् बजारका पर्खाइ, निराशा र पीडाहरु । भट्टीका टेबलमा बजारिइरहन्छन् आक्रोश, पछुतो र थकाइहरु । लाग्छ, गुट्का र सुर्तीमा  हरेकले आफ्नो दुःखेसोहरु थुकिरहेछन् । अब मेरा पहाडका बजारका कथाहरु पुरै फेरिए ! यहाँ हर बिहान, हर मध्यान्ह र हर साझ एउटै गफ चल्छ । सबै एकै निराशाको सुस्केरा मात्रै सुसेल्छन् । आजसम्म लेखी छापिएका मेरा बजारका कथाहरुले अब उसको चित्र बोक्दैन । उसको प्रतिनिधित्व धान्दैन । ठूला सहरका प्रकाशक र छापाखानाको आँखामा बसेको मेरो बजारले उहिल्यै आत्महत्या गरिसक्यो । त्यसैले, अब सुमनले बजारको नयाँ कथा लेख्छ । असली कथा लेख्छ ।

यहाँ गुन्जिने कोइलीको भाकाहरुले कवितामा स्थान पाए ! साहित्यको बिम्बमा सुन्दरता थपिदिए । खोला, नाला, झरना र हरिया पहाडहरले साहित्यको सुनमा सुगन्ध बढाइरहे । तर हाम्रो आफ्नो गाउँका गीतहरु सुनिएनन् । बुझिएनन् । सहर पुग्दा हाम्रा गाउका भाकाहरु अर्कै भएर गुन्जिन थाल्छन् । तिनको संगीत फेरिन्छन् । आधुनिकताको लाली लगाएर गाइन थाल्छन् । सायद बाहिरी चस्माले हाम्रो गाउँको गीत र भाकाको ठेटपना हेर्दा तिनका आँखाहरु झस्किन्छन् । यथास्वरुपमै तिनको कानहरुमा गुन्जिदा तिनलाई झिझो लाग्छन् । तर यसको असली मिठास, मर्म, साहित्य, दर्शन, भाव,पीडा अनि सौन्दर्यता यसकै ठेट स्वरुपमा छ । ती भाकाहरु कति हराएर गए ! कति हराउनै आटेका छन् । तिनलाई फेरि लेखिनुपर्छ । बुझिनु पर्छ अनि गाइनु पर्छ । तिनकै आमुल अस्तित्वमा स्वीकारिनुपर्छ । अब सुमनले तिनै गीतहरु खोज्छ । तिनै भाकाहरु बटुल्छ । अनि लेख्छ: सुमनले निरन्तर लेख्छ ।

हाम्रा त चौतारुहरुका पनि आफ्नै कहानी छन् । मठ: मन्दिरहरुका आफ्नै कथा छन् । इतिहास छन् । गोरेटो-घोडेटोको आफ्नै कहानी छन् । समयको गतिमा कति मेटिए । कति आफ्नो अस्तित्वको अन्तिम पल कुरि भग्नावशेष भएर बसेका छन् । ती अहिले लेखिएनन् भने सायद पछि कहिल्यै लेखिदैनन् । ती सबै हाम्रा साक्षी हुन् । हाम्रा थकाइ, बिराम र आरामहरुका साथी हुन् । हाम्रा हरेक भावनाहरुको संगी हुन् । त्यसैले अब सुमनले तिनकै कहानी मात्र लेख्छ ।

साहित्य मात्रै होइन हाम्रा लागि लेखिएका नीति, नियम र कानुनले पनि हामीलाई न्याय गर्न कहिल्यै सकेनन् । साहित्यले यसमा सघाउनु पर्थ्यो । सकेन !

हामी त कच्ची बाटो हुँदै सहर झर्नुको यात्रा पनि आत्महत्या गर्न हिडनु जत्तिकै सकस लाग्दो यात्रा हुन्छ   । जीवनको बाटो जस्तैः हाम्रा मोटर कुद्ने मोटरबाटो अप्ठ्यारो खाल्डोहरुले मात्रै भरिएको छ । संघर्षका घुम्तीहरुले मात्रै मोडिएको छ । दुःखहरुले मात्रै घेरिएको छ । त्यसैले अब राजधानीमा बसेर पजेरो चढनेहरुले लेख्ने नीति र योजना हामी बोलेरो चढ्नेलाई मान्य हुनु हुदैन ।  तिनका नियम, कानुनले हाम्रो दुःखलाई गिज्याइ मात्रै राखे ! मर्सिडिजमा सिसा लगाएर कुद्नेहरुको कुदाइ र हाम्रो जीवनको घिस्राइको ताल मिल्दैन । त्यसैले अब हामीले आफ्नो ताल आफै मिलाउनुपर्छ । आफ्ना योजना आफै कोर्नुपर्छ । आफ्नो साहित्य आफै लेख्नुपर्छ । यहाँ नमिलेका क्रमहरु तोडिनुपर्छ । भ्रमहरु चिरिनुपर्छ । अब सुमनले यसैको लागि लेख्छ । लेखिरहन्छ ।

आज मुलधारको मिडियाले समयसमयमा नेपाली समाजलाई रोल मोडलहरु टाँगिदिन्छ । आइकनहरुको बिस्कुन सुकाइदिन्छ। कहि स्वर्गीय नेताको श्रीमती, त कहि स्वर्गीय नेताको छोरालाई धपक्कै सिगारेर नेपाली समाजको प्रकाशमा बालिदिन्छ । उनैलाई चम्काइदिन्छ । समय समयको स्वार्थ र फरकफरक राजनीतिक चाहना अनुसार यहाँ पात्रहरु लाइमलाइटमा ट्क्र्याइन्छ । तर हाम्रा असली रोल मोडलहरु साहसी देशप्रेमीहरु कहि अरबको तातो घाममा बाध्यताको चिथोराईले हरपल आफैसंग पग्लिरहेछन् । हारिरहेछन् । कही राजधानीमा छोराछोरी पढाउने सपनालाई रित्तो गोजीले गिज्याउँदा अत्तालिन चौपारीमा पुर्पुरो समाउँदै सुसाइरहेछन् । कहि हलोकोदालो र गैतीको सहारामा जीवनमा हरियाली खोजिरहेछन् ।

जहीँत्यहीँ छन् दुःख उछुनेर समाज र परिवार सघाउनेहरु । तिनका कथाहरु खोतलिनु पर्थ्यो । खोजिन पर्थ्यो । जीवन बुझुनु पर्थ्यो अनि बुझाइनुपर्थ्यो । तिनका पीडा र साहस बुझाइनुपर्थ्यो । तर मुलधारको मिडियाको टिआरपी र अर्थ प्रेमले गर्दा देशले असली रोलमोडलहरु चिन्नै पाएन । साहसीका कथाहरु पढनै पाएन । सुमनले अब इनकै कथाहरु मात्र लेख्छ ।

हाम्रा कति दुःखहरु समुन्द्रपारी नै अलप भए ! कति दुःखहरु सिमापारी नै हराइराखे । कति दुःखहरु यहि ओझेल हुन बाध्य भए । हाम्रा कति दुखहरु: दुखै कुरेर गाउमै छन् । केही दुःखहरु दुःखै बोकेर सहर बिसाए । खोज्दै जाँदा अलिअलि रोमान्स इनै दुःखभित्र भेटिएलान ! हासखेल, ठट्टा: आक्रोश इनै भित्र भेटिएलान ।

मिलनका कथाहरु इनै दुःखमा छन् अनि बिछोडका पनि ! विरोध र अन्तर्विरोधका सबैका कहानी छन् । छोचोल्न मात्रै सक्नुपर्छ । दर्शनको सार पुरै इनमै  निहित छ ।

सुमनको कलमले यहि छिचोल्न प्रयत्न गर्नेछ । लेख्नेछ ! निर्धक्क लेख्नेछ ।

 

Read More Nepali Poem:

Nepali Poster Poetry | पोस्टर कविता | Sahitya

Nepali Poem | प्वाल | Pari Vikram – Offline Thinker

Read More from Subin Bhattarai:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *