‘हामीले कस्तो देश बनायौ? जहाँ युरोप अमेरिकाले आफ्नो देशको भिसा दियो भने आधाभन्दा बढी देश खाली हुन्छ।’
यो भनाइ मेरो निजी होइन। रविन्द्र मिश्रको हो। निकै लामो समयदेखि बिबिसी नेपाली सेवामा कार्यरत मिश्र अहिले विवेकशील साझा पार्टीमा सक्रियरुपमा आवद्ध छन्। उनले धेरै कार्यक्रममा धेरै पटक दोहोराएको यो भनाइले यदाकदा सामाजिक संजालमा राम्रै ठाउँ ओगटेको देखिन्छ।
वास्तवमा यो भनाइ अहिलेको तीतो सत्य भइसक्यो।। युरोप, अमेरिकादेखि अस्ट्रेलिया होस् या खाडी सबै ठाउँमा पुग्न चाहनेको अहिले ठूलै घुइँचो छ । म्यानपावर र कन्सल्टेन्सीहरुलाई जनताको सपनाको उडान भरिदिन भ्याइनभ्याई कस्सिएका छन् । रहर र बाध्यतामा फुल्ने वैदेशिक चाहानाको गुलाफी फूल फुलाउन सबै लालायित छन् ।
विडम्बना, जब नेपाली इतिहासकै सबैभन्दा भाग्यमानी पुस्ताको यो हालत छ भने आगामी पुस्ताको अवस्था के रहला?
समाजको उज्ज्वल भविष्य र सम्मपन्नताको सपना समयको कुन घुम्तीमा दुर्घटनामा पर्छन् ? सबै अन्योल छ। अन्धकार छ ।
समय, समस्या, राजनीतिक व्यवस्था, अवसर, स्वतन्त्रताको हिसाबमा हाम्रो पुस्ता नेपाली इतिहासकै सबैभन्दा भाग्यमानी पुस्ता हो । जीवन र मृत्युको माया मारेर खुकुरीको धारमा जहानिया शासन विरुद्ध आन्दोलन चलाउने स्थिति आजको राजनीतिमा छैन ।
“कसैले बकस दिएको ज्यान लिएर हामी बाच्न चाहान्नौ” भनी मुद्दाको इमानदारिता र आन्दोलनको लागि ज्यान समर्पण गर्नुपर्ने सहिद गंगालालको जस्तो परिस्थितिबाट हामी उम्किसक्यौ । शासकको ‘जि हजुरी’ नगर्दा र असन्तुष्टि प्रकट गर्दा कुनै यातना भोग्नुपर्ने त्रासदीबाट हाम्रो पुस्ता मुक्त छ ।
त्यस्तै हाम्रो देशको एउटा सिङ्गै पुस्ताको जीवनकै सबैभन्दा उर्जावान र महत्त्वपूर्ण समय, आन्दोलन, बनवास र चिसो छिडीमै बित्यो । साथिभाइ घर परिवार र निजी चिठ्ठीहरु र संचार बन्देजसरह रहे । सबैको स्वतन्त्रता र निजी संचारमै पञ्चायती सेन्सरले घाँटी निमोठिरह्यो । राजनीतिक स्वतन्त्रता दुर क्षितिजको कुरा, अध्धयन लेखन र वाक स्वतन्त्रताबाट त्यो पुस्ता सबैभन्दा महत्त्वपूर्ण समयमै बन्चित रह्यो । कैयौ वर्ष चिसो छिडी, भूमिगत र बनवासको जीवनबाट माथि उठि त्यो पुस्ताले निमोठिएको प्रजातन्त्रको घाँटी फुकाउन सफल भयो । आजको हाम्रो पुस्तालाई यी सबै जटिलताबाट गुज्रन जरुरी छैन ।
लगत्तै नेपालको एउटा पुस्ताको जीवन दस वर्षे जनयुद्धको आगोमा सल्किरह्यो । बन्दुकको नेलले भविष्यको सुरक्षा गर्नुपर्ने आम नेपालीको बाध्यता थियो । उद्धोग, शिक्षा, प्रशासनदेखि सबै क्षेत्रसबै प्रभावित रहे । एउटा सिङ्गै पुस्ताको जग नै जनयुद्धले भत्काइदियो । त्यो पुस्ताको निरीह अवस्था भोग्नुबाट कम्तिमा हामी टाढा छौ ।
फेरि त्यही पुस्ता जनआन्दोलनको रापमा पुलिसको लाठी र बुट थाप्दै रगताम्मे भएर व्यस्थाको विरुद्ध लड्नु पर्ने स्थिति पनि हाम्रो पुस्तामा छैन । नेपाली इतिहासकै सबभन्दा उन्नत अवस्थामा हामी छौँ । त्यसैले मुद्दा व्यवस्था र आन्दोलनको सापेक्षतामा हाम्रो पुस्ता अहिलेसम्मकै भाग्यशाली पुस्ता हो ।
आर्थिक स्तर, सहजता र अवसरको हिसाबमा पनि हामी पछिल्ला पुस्ताभन्दा धेरै अगाडि छौ । हाम्रो बुवाको पुस्ताले खाली चप्पल खियाउँदै सिमाना पारी भरी पेट पाल्ने सपनामा बिक्नुपर्ने स्थिती हाम्रो पुस्तामा कमैमा छ । अपवाद बाहेक, २-३ दिन लगाएर नुन बोक्न जानुपर्ने अव्यवस्था पनि अब रहेन । कम्तीमा आम नेपालीहरु भोकको लडाइभन्दा केही माथि छन् । निजी क्षेत्रको तिब्र विकास र रेमिट्यान्सले हाम्रो भोक र विलास दुबैलाई जसोतसो धानेकैछ ।
अझ प्रविधिको कुरा, प्रविधिको सबभन्दा बढी प्रयोग हाम्रै पुस्ताले गर्न पायो । ईन्टरनेटबाट आज हामी देश विदेश चहार्छौ । क्षमता अनुरुपको पूर्ण प्राविधिक स्वतन्त्रता छ हामीलाई, जुन पछिल्लो पुस्तालाई सम्भव थिएन ।
समय र समाज, मुद्दा-व्यवस्थादेखि स्वतन्त्रता र अवसरको हिसाबमा हेर्दा छर्लङ्ग छ; हाम्रो पुस्ता नेपाली इतिहासकै सबैभन्दा भाग्यमानी पुस्ता हो । तर सबैभन्दा ठूलो दुर्भाग्य यो पुस्ताको अभागा चेत हो ! जसलाई आफ्नो भाग्यको अनुभुतीबोध नै छैन । आफ्नो अवसरको आत्मबोध हाम्रो पुस्तामा छैन । त्यसैले हाम्रो पुस्ता कहि इतिहासकै सबभन्दा पङ्गु पुस्ता नबनोस् !
यो पुस्तालाई जहानिया शासन विरुद्ध लडने आवश्यकता त रहेन तर राजनीतिक दल र सत्तामा हाबी हुने परिवारवाद र नातावादका विरुद्ध हामी चुइक्क गर्दैनौ ! फलस्वरूप आज मुलधारका राजनीतिक दल र तिनले ओगट्ने सत्ताको भागबन्डामा त्यहाँका प्रमुखका आसेपासे र जहान छन् । समावेशीताको नाममा भरौटेहरु जम्मा गरि सक्नेलाई पाखा लगाइदै छ । तर हामी मौन बस्छौ । लाग्छ, यो पुस्तामा आफ्नो स्थानको लागि लड्ने जागर नै छैन ।
राजनीतिक, वाक स्वतन्त्रता अध्धयन लेख्न पढ्नको स्वतन्त्रता जस्ता हकको लागि चिसो छिडीमा बैँस गुजारेर एउटा पुस्ताले सुनिश्चित त गरिदियो तर हाम्रो अभागा चेत बोकेको यो पुस्ताले यस्ता हकहरुको सुरक्षा गर्नुपर्दा टाउको पुच्छर लुकाउछन् । आजका हाम्रा मौलिकहकहरु बकस पाएका होइनौं भन्ने बोध नै यहाँ छैन । यीनै हकको लागि एउटा सिंगो पुस्ताले बैँस बलिदान गरेको यो पुस्ताले सम्झन चाहदैन । त्यसैले प्राप्त स्वतन्त्रता र हकको सस्तो प्रयोग गरिदिन्छ । वाक स्वतन्त्रताको नाममा संजालमा एकले अर्कोलाई नङ्ग्याउने काम मात्र गर्छ । अराजकता र विकृति फैलाउने काम गर्छ । त्यसैले हाम्रो पुस्ता सचेत नभएर अचेत पुस्ता हो । एउटा मूर्ख पुस्ता हो । जसले आफ्नो भाग्य चिन्दैन ।
व्यवस्था विरुद्ध लड्ने अवस्था त छैन व्यवस्थाको कुरिती जटिलता र विकृति समस्याहरू विरुद्ध लड्ने जागर पनि यो पुस्तामा देखिदैन । आज हामीलाई दिनैजसो पत्रिकामा छापिने बलात्कारका घटना सामान्य लाग्न थालिसके । ठूलाठूला भ्रष्टाचार काण्ड र अबैध प्राकृतिक उत्खननका समाचार पानी सामान्य लाग्छन् । छिट्पुटका कुरीतिका लागि यो पुस्तालाई झन बाल मतलब?
अरु त के कुरा, सबभन्दा ठूलो प्रजातान्त्रिक अधिकारको समेत ज्ञात रहेन यो पुस्तालाई । सधै एउटै असफल अनुहार र एउटै विकृत पद्धतिलाई बढावा दिन तत्पर देखिन्छौ हामी । चुनाव होस् या निर्णय लिने अरु समय, हामीले हाम्रो चेतना र बौद्धिकतालाई ताला लगाइ देशको जिम्मा नालायकलाई दिइ राख्यौं । मताधिकारको बेइज्जत गराएको छ हाम्रो चेतले ! यो समयको सबैभन्दा ठूलो दुर्भाग्य हो यो ।
यद्यपी अझैपनि परिवर्तनको चेत बोकेका यो पुस्ताको एक तप्का अनावरत खटिरहेका छन् । बेलाबेला छिटपुट देखा पर्ने जात व्यवस्था विरोधी आन्दोलन, केही साल यताको ‘इनफ इज इनफ’ आन्दोलन यसैको देन हो । कालो बादलमा चाँदीको घेरा हो यो तप्का ! तर यो एक तिहाईको आधा पनि ‘एनजिओ’, ‘आइएनजिओ’मा अर्थमानव भएर बसेका छन् । बौद्धिकतालाई धितो राखेर रुपैयाँमा परिजिवी हुनुपर्ने बाध्यताले गिजोलेको छ यो तप्कालाई। त्यसैले आशा र उर्जा बोकेका सानो समूह पनि बाडिएका छन् ।
मुख्यत हाम्रो राजनीतिक स्कुलिङ्ले नै हामिलाई पछाडी धकेल्दै छ । हाम्रो सामाजिक आर्थिक संस्कृतिक संरचना सबै बद्लिदो छन् । नयाँ समस्याहरु देखिएर आउदै छन् । मौसम परिवर्तन, ग्लोबल वार्मिङ जस्ता विश्वका साझा समस्याहरुमा अपनत्त्व बोध हामीमा पनि हुनु जरुरी छ ।
त्यसैले यो भाग्यमानी पुस्ताले आफ्नो भाग्य र अवसरको आत्मबोध नगरी यहि अभागा चेतसँग एक दशक बितायो भने हाम्रो देश आधा शताब्दी पछाडी धकेलिने पक्का छ । त्यसैले एउटै आह्वान र शुभकामना छ।
हाम्रो पुस्ताको घैटोमा घाम लागोस!
Read More Nepali Poem at Offline Thinker:
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com