Nepali Poem | मलाई फेरि बालक हुन मन छ | Bizay Sangroula

Bizay Sangroula

जिज्ञासा र कौतुहलले भरिएर पनि
रित्ता रित्ता देखिने ती शान्त आँखाहरू
धारणा र मान्यताले भरिइनसकेको
पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको
त्यो स्वच्छ, शुद्ध अनि पारदर्शी मन
फेरि त्यही बालापनमा फर्कन मन छ
विचार र सिद्धान्तको बोझ टाउकोबाट बिसाएर
मलाई फेरि त्यही अबोध बालक हुन मन छ ।

अस्तित्वको चरणमा पुन: आफूलाई चढाई
ज्ञानाभिमानको वृथा अहममा हराइसकेको
त्यो आश्चर्यभाव फेरि जीवनमा ल्याउन मन छ
सामाजिक स्वार्थले बनाइदिएको व्यक्तित्व भुलेर
मेरो साँचो स्वरूपको दर्शन गर्न मन छ
हृदय खोलेर हाँस्न नपाएको वर्षौं भयो
भित्र आँसु लुकाएर बाहिर कति हाँस्नु !
झुटो मुस्कानको मुखौटो हटाएर
धीत मरुन्जेल बेपर्वाह रून मन छ
मलाई फेरि त्यही निर्दोष बालक हुन मन छ ।

खोला किनारमा बालुवाको घर बनाई
पानीको छालले बगाउँदा
खुसीले उफ्रँदै नाच्ने त्यो मन
केही पलको पाहुनामात्र हुँ यहाँ म
भन्ने थाहा हुँदा हुँदै
अरूको घर भत्काएर भएपनि
आफ्नो घर सजाउन तल्लीन यो मन
यो मन त्यागी पुन: त्यो मन पाउन मन छ
ब्रह्माण्ड सारा अटाउँने हृदय बनाउन मन छ
समयको अंकगणितीय श्रृंखलाबाट फुत्त उम्केर
मलाई फेरि त्यही रहस्यमयी बालक हुन मन छ ।

 

 

Nepali Poem by -विजय संग्रौला 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *