Nepali Poem | अजान यात्री | Bizay Sangroula

Bizay Sangroula

बाहिर हेर्न खप्पिस आँखा
एक्का‍सी
भित्र हेर्न सकून् कसरी ?

अरूलाई देख्न सिपालु आँखा
एक्कासी
आफूलाई देख्न सकून् कसरी ?

खोलेर आँखा
लाख कोसिस गरे पनि
देखिएन आफूलाई

चिम्लिएर आँखा
यात्रा गरेथेँ सुरु
अन्धकार सिवाय
देखिनँ केही पनि ।

बाहिर त प्रकाश नै प्रकाश
तर भित्र !
भित्र किन घनघोर अन्धकार ?

अहँ !
बाहिरको प्रकाशले
भित्र उज्यालो छर्न सकेन
व्यर्थ भए
दुई-दुईओटा आँखा
यो यात्रामा ।

अँध्यारोको त्रासमा
कति तर्सिएँ
कति भट्किएँ
उज्यालोको खोजीमा ।

बस् !
चाहिएको थियो मलाई
भित्री प्रकाश
मेरो आफ्नो ज्योति

त्यो शाश्वत ज्योति
जसलाई
मृत्युले पनि निभाउन नसकोस्

जसको आलोकमा
देख्न सकूँ म आफैँलाई
भेट्न सकूँ म स्वयंलाई ।

अफसोच !
थाहै भएन
मेरै पछाडि रहेछ त्यो…

तर
अगाडि हेर्न अभ्यस्त मेरा आँखा
एक्कासी
पछाडि हेर्न सकून् कसरी !?

 

अस्तु

~विजय संग्रौला

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *