म | Bizay Sangroula | Nepali Poem

Bizay Sangroula
म मृत शब्द मात्र हुँ कि
त्यसभित्रको जीवित अर्थ हुँ ?
म नाम हुँ कि सर्वनाम हुँ ?
म मान्छे हुँ भने
मान्छे भनेको के हो ?
म छु कि म हुँ ?
म गर्दै छु कि मबाट हुँदै छ ?
म नै नाम हुँ कि मेरो नाम हो ?
म संसारमा छु कि संसार ममा छ ?
म शरीर हुँ
त्यही भएर दृश्यमा छु
कि अशरीरी भावभित्र
आवाजमा मात्र छु ?
म कहाँ छु ?

म जहाँ छु
के म साँच्चै त्यहीँ छु ?
म परिस्थिति बनाउँदै छु या
परिस्थिति मलाई बनाउँदै छ ?
म हिजो जे थिएँ
के म आज त्यही हुँ ?
एक क्षण अघि म जो थिएँ
अहिले के म त्यही हुँ ?
एक क्षणपछि म को हुन्छु ?
म जीवन हुँ या
फगत जीवनको परिभाषामा रुमलिएको
एक कल्पना हुँ ?
म स्वप्न हुँ या निद्रामा डुबेको
यथार्थको प्रतिच्छाँया हुँ ?
म भीडमा हराएको एक्लो पात्र हुँ या
पात्रैपात्र बोकेको भीड हुँ ?
म के हुँ ?

इच्छा, आकाङ्क्षा र चाहनाहरूको
पोको बोकेको म एउटा भरिया
आशाका तरङ्गहरूमा सुख र दु:ख समातेर
कतै अडिएको पो छु कि ?
म गहिराइ हुँ कि उचाइ ?
म स्वयम् हुँ कि पराइ ?
म हृदय हुँ कि बुद्धि ?
म प्रेम हुँ कि वासना ?
म पदार्थ हुँ कि उर्जा ?
म यात्री हुँ कि यात्रा ?
म ब्रह्माण्ड हुँ कि ब्रह्म ?
म थोपा हुँ कि समुद्र ?
म बाटो हुँ कि गन्तव्य ?
म आदि हुँ कि अन्त्य ?
म पलपल बाँचिरहेको
जीवन्त उपस्थिति हुँ कि
त्यही पलमा मरिरहेको
समयको इतिहास हुँ ?
म को हुँ ?

म जो हुनुपर्ने हो के त्यही म हुँ त ?
प्रत्येक क्षणमा भिन्नभिन्न भूमिका
निभाइरहेको म
कर्तव्यहरूमा कर्ता बनेर प्रस्तुत
भइरहेको म
सम्बन्धहरूमा अलग-अलग उपमा
पाइरहेको म
मेरो नामले संसारमा परिचित म
के साँच्चै मलाई मैले चिनेको छु त ?
म प्रश्नैप्रश्नको भूमरीमा रन्थनिएर
उत्तर खोजिरहेको छु कि
स्वयम् अनुत्तरित यक्ष प्रश्न हुँ ?
म जिज्ञासु बालक हुँ कि
शास्त्र भरिएको पण्डित हुँ ?
म आफ्नै बन्धनमा बाँधिएर
स्वतन्त्र हुन खोजिरहेको कैदी हुँ कि
आफ्नो केन्द्र थाहा नपाएर
परिधिमा नै भड्किरहेको भ्रम हुँ ?
ऋतुझैं परिवर्तन भइरहने मेरा भावहरू
समयसँगै जन्मने मर्ने विचारहरू
अरुको आँखामा देखिएको मेरो रूप
अनि अरुका निम्ति भइदिनुपर्ने म नै
यथार्थत: म हुँ त ?

म सत्य हुँ
मिथ्या हुँ कि
माया हुँ ?
म ज्ञात हुँ
अज्ञात हुँ कि
अज्ञेय हुँ ?
म ज्ञान हुँ
ध्यान हुँ कि
भक्ति हुँ ?
म द्रष्टा हुँ
दृष्टि हुँ
दृश्य हुँ कि
दर्शन हुँ ?
म रूप हुँ
अरूप हुँ कि
ब्रह्म स्वरूप हुँ ?
कि केवल अहंकारको एउटा
क्षुद्र अभिव्यक्ति मात्र हुँ ?

म अस्तित्वमा छु कि
मेरो अस्तित्व हो कि
म नै अस्तित्व हुँ ?
जगतको अनित्यता र नश्वरता
देख्दै गरेको म
रोग, वियोग र भोगमा छु कि
उत्पत्ति, स्थिति, विनासमा छु ?
के साँच्चै म स्वयंमा स्थित छु ?
म / मभित्रको पूर्ण निरवतामा छु कि
म / म बाहिरको उग्र कोलाहलमा छु ?
आज म साक्षी बनेर हेरी मात्र रहेछु
मलाई मभित्र
मलाई म बाहिर ।

 

Read More From Bizay Sangroula

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *