Nepali Poem | मनातीत जीवन | Bizay Sangroula

Bizay Sangroula
मेरोपन हराएर
आफ्नोपन भेटियो
जब
हृदय खुलेर
मेरो मन मेटियो ।

मनसँगै हरायो
अहंको भ्रम
जब
छुट्यो मोह
रह्यो केवल प्रेम ।

मन मेटिएसँगै
मेटियो
द्वेष
राग/अनुराग
वैमनस्य ।

प्रेम भेटिएसँगै
भेटियो
आनन्दित
जीवनको
रहस्य ।

अब
जीवनको स्थिति
परिस्थिति
शून्य-शून्य छ
जहाँ
स्वार्थ छैन
परार्थ छ
जहाँ
ऐश्वर्य त छ
तर छैन विलास ।

अब
जे छ पूर्ण छ
प्राप्तिको छैन आस
अभावको छैन त्रास
छ त्याग र भोग
दुवैको योग
छैन त बस् !
मनको बन्धनमा
आत्माको बास
हुनु/नहुनुको आभास
केही बन्ने प्रयास ।

त्यसैले त
संसारको ऐनामा
छैन कुनै
मेरो प्रतिबिम्ब
नभएर मन ।

सबै भएर पनि
केही नभए जस्तो
केही नभएर पनि
सबै भए जस्तो
छ मेरो जीवन ।

▪️
~विजय संग्रौला
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *