Nepali Poem | मृत्यु त भयो ! | Bizay Sangroula

Bizay Sangroula

मृत्यु त भयो !
तर म छु
के मर्यो ममा
त्यही खोज्दैछु ।

केही बन्ने मन
त्यो मरेछ
शिखर चढ्ने अहम्
त्यो झरेछ

के के न थाहा छ भन्दै
डुक्रने यो बुद्धि
हृदयको गहिराइमा खस्दा
हराएछ सुद्धी

अनि पो
ब्यूँझे झल्याँस्स
त्यही मेरो अहम् पो
मरेछ फ्यास्स

संसारमा मलाई
खाली र रित्तो पारेर
जित्नुपर्ने प्रतिस्पर्धामा
भागै नलिई हारेर !

अब थाहा भयो
जे मर्यो त्यो’थ्यो
मेरो आत्माभिमान

अनि सँगसँगै
व्यर्थ हुँदै गयो
क्षणिक मानसम्मान ।

तर डर छैन
अब मेटिए पनि
मेरो अस्तित्व

केही नहुनुमै
केही हुनु रहेछ
जानेँ पहिलोपल्ट ।

म त पहिल्यै हारिसकेँ
अब कसले
मलाई हराउँछ

जो जित्ने कला जान्दैन
ऊ मात्र
हारसँग डराउँछ ।

म त पलपल मर्दैछु
अब कसले मलाई
मार्न सक्छ

आफ्नै मृत्यु देखेको म
बरु मृत्यु मसँग
हार्न सक्छ ।

जीवन रहस्यमा
तिरोहित गरिदिएँ
मेरो बोझ मेरो ज्ञान

बस् ! थाहा छ अब यही
थाहा छैन अरु केही
सिवाय मेरो भित्री मौन ।

यही मौनतामा
नितान्त एक्लै डुब्दैछु
छोड्दै आफूलाई

संघर्ष छैन केही बन्ने
जे हुँ जस्तो हुँ
स्वीकार्दै आफूलाई ।

यही आत्मस्वीकृतिमा
परमानन्दको झल्को छ
थोरै भए पनि

फैलिँदैछु सारा अस्तित्वमा
स्वयंमा केन्द्रित हुँदै
गइरहे पनि ।
***

मृत्यु त भयो !
तर अब प्रेम छ
शाश्वत रूप धरी

जसको आलोकमा
म बाँचिरहेछु
क्षणक्षण मरीमरी ।।

~विजय संग्रौला

 

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *