वेगबहादुरः जसको बुढेसकाल दुःखको महासागर बन्यो | सुमन भट्टराई

दुःखको महासागर

वेगबहादुरः जसको बुढेसकाल दुःखको महासागर बन्यो

स्याङ्जा जिल्लाको गल्याङ बजारबाट केही घन्टा उकालो लागेपछि आउँछ तिन्दोबाटे गाउँ । जहाँ छन् करिब ४० घर । र त्यहाँ छ एउटा विद्यालय, व्यवस्थित पानी पधेरो, दुईटा चौपारी, तिनटा मन्दिर र चार घरानाको कुलथान । साथै चितडाँडा लाग्दै गर्दा, गाउँको पुछारमा छ हर्कबहादुरकी आमाको स्मृतिमा बनाइएको पौवा ।

गाउँको शिरानमा बस्थे शिरानघरे जेठो: बेगबहादुर । मुखिया दल बहादुरको जेठो छोरा । घर खाने छोरा । जो सङ्ग थियो गजक्क मिलेको जिउडाल र चट्के हेराइ ! जसमा भरिएको थियो बेलाको बल र बैँसको धाक !

अहिले त्यहाँ बस्छन् विरक्तिएका बेग बहादुर । जो खावो खस्किएको बूढो घर भएका छन् । एकभारी रोग र त्यसलाई थामथुम पार्न दुई भारी ओखतीको भरमा बाचेका छन् उनी जसको मुखमा राम, आँखामा सेतो चस्मा र घाँटीमा राधाकृष्णको गलबन्दीको सादा पहिरनमा काट्दै छन जीवन !

उमेरको अग्लो पहाडको शिखरमा आइपुग्दा बेगबहादुरले धेरै कुरा देखेका छन् । भोगेका छन् । हजारौं तिता मिठा अनुभव संगालेका छन् । धेरै पाएका छन् । केहि गुमाएका छन् । उनको जीवनलाई फर्केर हेर्दा एउटा सिङ्गो इतिहास भेटिन्छ । उमेरमा हर राजनीतिक निरङ्कुशता सङ्ग भिडेका थिए उनी । हैकम चल्थ्यो चार गाउँसम्म । जुन जस्तै धपधप बलेकी श्रीमती घर भित्राएका थिए झ्याइ-झ्याइ नौमती बाजा बजाएर !

७ गाउँ जन्ती बोकेर ढालेका थिए एक दर्जन घोर्ले खसी । बिहेको एक वर्षपछि जन्मेको छोराको छैटिमा उस्तै धुमधाम । एक रात बितेको थियो खेलिमा । खैजडिको छनछनमा गाउँ पुरै छमछम भएकै हो । पछि जन्मेकी छोरीको बेला पनि घुमाउ रोटिको भोज चलेको थियो । हुर्किनासाथ बेलैमा बेगबहादुरले छोराछोरीलाई सहर पढाएका हुन् । अझ अङ्ग्रेजी पढाउने स्कुलमा !

उता उनका छोराछोरीको पढाइ बड्दै जाँदा यता गाउँको जनसंख्या घट्दै थियो । उनको छोराछोरीले पढाइ सक्दा; गाउँको बसाई सक्किनै आटेको थियो ।
पढाइ सकेपछी उनका सन्तान अमेरिका पसेका थिए । त्यतिबेला बेगबहादुरलाई बधाइ दिने लामै थियो लाइन ! लड्डु र बर्फी मिठाई पुर्याइएको थियो गाउँभरी । बेमौसमी दसैं आएको थियो !

गाउँ बद्लिदै थियो । गाउँका युवा सबैमा विदेशीने होड चलेको थियो । तर अरब र बम्बैबाट भित्रिएको नगदले गाउँमा भित्रिएकी बुहारीलाई अड्याउन सकेन । समयसङ्गै थपिएको सुविधाले गाउँमा वस्ती थप्न सकेन । मधेस मोह अगाडि हरेक जोह फिक्का हुँदै गए । र अहिले रित्तिएको छ गाउँ । रित्तिएको गाउँमा भरिएको मन बोकेर बाँचेका छन् बेगबहादुर ! जसको आँखै अगाडि लामो विगत, विजोग वर्तमान र साँघुरो भविष्य पल्टेको छ ।

आज बेगबहादुरका सन्तान अमेरीका पसेको पनि एक दशक भएको छ । उनको घरमा अब बुढाबुढि मात्र बाँकी छन् । दिन काट्न लौरीको सहाराले उनी चौपारी पुग्छन् । रेडियोमा सुनेका केही घटनाहरु गाउँलेलाई सुनाउछन् । र फेरि घर फर्कन्छन् । घर युरिक एसिडले थलिएकी श्रीमतिले पकाएको दुई गाँस खाना खाएर पल्टनछन् । बस बेगबहादुरको जीवन अहिले यतिमै सिमित छ ।

उमेरसङ्गै उनको जीवनमा रोग र सन्तानको यादहरु व्यग्र बढेका छन् । दशैंमा खाडीबाट फर्केका साथीभाइका छोराहरू हेरेर केही चित्त बुझाउछन् । चाडपर्वमा छिमेकिको घरको रमाइलो हेरेर दङ्गदास भएर बस्छ्न् । त्यसैले यदी कोहि हजारौं सम्झनाको गह्रौं भारी बोकेर बाच्दै छ भने त्यसको जिउँदो उदाहरण हुन बेगबहदुर ।

बेगबहादुरका दम्पती अबेर उठ्दा कसैले दैलो उघारिदिने सुविधा उनीहरुलाई छैन । रोगले थलिएर ओछ्यानमा पल्टिदा तातोपानी तताएर दिने कोहि छैनन् । आँगनमा बादरले रमिता नाँच देखाउँदा ढुंगा टिपेर हिर्काउने खुबी उनमा हराइसकेको छ ।

बुढेसकालले छोपेपछि उनको पन्ध्र हलको खेत बाझियो । त्योभन्दा चोट पर्ने उनका छोराछोरी बाझिए । गुन्द्रुकको पोको बोकेर सहर छिरेका उनका सन्तान विलासिलताको सपनाको पोको बोकेर अमेरिका भासिए । उतै थिचिए गह्रौं सपनाको बोझले !

देशमा हर किसिमका निरङ्कुशतालाई घुंडा टेकाएका बेगबहादुरले आफ्ना सन्तान विदेशीएपछी आफ्नो आँगनमा उनीहरुको घुंडा टेकाउन सकेनन् । र त्यहीँ पीडामा छट्पटिँदै जीवनका अन्तिम नियती कुर्दै छन् उनी ।

चिठी लेख्ने बेगबहादुर आज मोबाइलमा भिडियोकल गर्छन् । छोराछोरीको अग्लो टावरका अगाडि खिचेको फोटो हेरेर र तिनले पठाएको महंगो मोबाइलले मात्र जीवन सन्तुष्ट बनाउदो रहेनछ । गास, बाँस, कपासले मात्र जीवन नगुज्रने रहेछ । माया, साथ र सहानुभूती बिनाको मान्छे एक निर्जीव मुढो सरह हुने रहेछ ।

आज बेगबहादुर भरिएको मन लिएर रित्तिएको गाउँ हेर्दैछन् । सन्तान टाढिएसङ्गै नजिकिएको पीडा भोग्दै छन् ।

बेगबहादुर मेरो समाजमा एउटा मात्रै छन् तर देशभरी लाखौँ बेगबहादुर छन् । जसको बुढेसकाल दुःखको महासागर बनेको छ । ती मध्य कुनै एक बेगबहादुरका सन्तानले यो कथा पढिसकेर बाउआमाको घाउमा मलहम लगाउन सघाउछन् भने मेरो मिहिनेतमा म धन्य हुने थिएँ ।

 

 

You may also love to read:

मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *