ल है सिट खाली छ, टिकट पर्दैन। जाने भए चढिहाल्नुस्!’
पैसाको मुठो जिन्स पाइन्टको गोजीमा राख्दै गाडिको सहचालक घाँटि सुक्ने गरि चिच्याउँदै थियो।
म टिकट काउन्टरबाट अलि अगाडि लम्किए।
‘ओ भाइ, यो कहाँ जाने गाडी हो?’
अहँ! सहचालकले फिटिक्कै सुन्दैन। ऊ चुरोट सल्काउनमै व्यस्त थियो।
‘ओ भाइ!’ अलि नजिक गएर बोलाउँदा पनि मरिगए सुन्दैन त!
म अझै अगाडि लम्किएँ। र बोलाएँ।
‘ओ भाइ! कता जाने हो यो गाडी?’
मेरो तेस्रो पटकको प्रयासपछि उसले फर्कदै जवाफ दियो, गल्छी हुँदै त्रिशुली जान्छ दाइ, जाने हो? गाडी गइहाल्ने हो, चढ्नुस् टिकट काट्नु पर्दैन। ऊ थप्दै थियो चुरोटको धुँवा नाकबाट फुङ्ग उडाउँदै।
लगबग १० बज्न लागेको थियो। म गाडी चढिहालेँ।
४-५ जना यात्रु थिए गाडी भित्र।आफूलाई सहज लाग्ने सिट रोज्दै गर्दा ‘ए’ साइडको ‘७’ नं झ्याल पट्टीको सिटमा बस्न पुगेछु। सोचेँ, मनोरम दृश्यका तस्विर टन्नै खिच्छु।
***
दिनेशलाई लामो दुरीको गाडि चढ्न निकै झन्झटिलो लाग्थ्यो।छोटो दुरीको पनि खासै रुचाउने त होइन। कहिले काहीँ बाध्यता पर्दा मात्र चढ्ने गर्थ्यो। सकेसम्म जता पनि पैदल नै पुग्थ्यो। गाडी चढ्न नरुचाए पनि गाडीमा देखिने र भेटिने यात्रुलाई नियाल्न भने ऊ खुब मनपराउँथ्यो।
***
“आयो है आयो, चना, बदाम, तितौरा!”
‘ओहो! घाम पनि यति चर्को छैन होला, कस्तो चर्को चिच्याएको।’ एक्लै बोलेँ।
म गाडीको सिसाबाट बाहिरको दृश्य नियालेर हेर्दै थिएँ।
केही समय पश्चात्।
‘दाइ, पानी चाहिन्छ पानी?’
एउटा फुच्चेले झ्यालको सिसा ढक्ढकाउँदै सोध्यो।
‘पर्दैन भाइ!’ मैले मुन्टो हल्लाएँ।
हेर! पढ्ने उमेरमा पानी बेच्न विवश छ। मनमनै सोचेँ। विचरा सपना देख्ने उमेरमा आफ्नो बाल्यकाल बेच्दै थियो। दुख लाग्यो।
म बस स्टेशनको चहलपहल चुपचाप हेर्दै थिएँ। लाग्यो, म यात्रा होइन जीवनको यात्रा अवलोकन गर्न आएको छु र झ्यालको सिसाबाट पुरै संसार हेर्दैछु। गाडीभित्र यसो मुन्टो घुमाएँ। थरीथरीका मान्छेहरुको आगमनले गाडी बिस्तारै भरिँदै थियो। यसो सहचालक भएतिर आँखा घुमाएँ, अझै चुरोट तान्दै रहेछ। यो सहित चार ओटा हुन्छ।
उफ्फ! कत्ति तान्न सकेको होला?
***
दिनेश आश्चर्यचकित हुँदै मानिसका फरक फरक आचरणहरु नियाल्दै थियो, र साथै नियाल्दै थियो फरक फरक अनुहारमा देखिएका फरक फरक भावहरु। उसले जो देख्यो सबैको अनुहारमा विवशताको धर्सो देख्यो।
विवशता- पैसा कमाउनुपर्ने, जिम्मेवारीको बोझ उठाउनु पर्ने, गन्तव्यमा पुग्नु पर्ने, दिनरात खटिनुपर्ने, आदि यस्तै यस्तै विवशता।
विडम्बना हुन् यी विवशता पनि। जिन्दगीमा विवशता नहुने हो भने बाँच्न कति सहज हुन्थ्यो।
जीवन पनि कस्तो अचम्मको छ है! खैर, आफ्नो आफ्नो जीवन आफैँ आफैँ जिउनु पर्ने, आफ्नो भागमा परेको दुःख आफैले भोग्नु पर्ने। उ मनमनै कुरा खेलाउँदै थियो।
***
सुन्नोहोस् त! पछाडीबाट केटीको नम्र आवाज आयो। म फरक्क फर्किएँ।अलिकति झ्याल खोल्छु नि!
‘ए भइहाल्छ नि!’ मैले झ्यालबाट मेरो हात हटाएँ। छेउमा एकजना वुवा बस्नुभएछ यादै नगरेको। गाडी पनि भरिएछ।
***
सहचालकले हातमा रहेको चुरोटको ठुटो भुइँमा फाल्छ त्यसलाई कुल्चिएर गाडी चढ्छ र ढोका ढ्याम्म लाउँछ। दिनेशले मोबाइलमा एयरफोन घुसाउँछ। उता गाडी स्टार्ट हुन्छ यता दिनेशको मोबाइलमा गीत।
१ दर्जन गित सुनिसक्दा उसले एकै दर्जन तस्विर खिच्यो होला। ‘गाउँबाट फर्केर आएपछी आमालाई देखाउँछु’, ऊ तस्विर हेर्दै मुस्कुराउँछ। यात्रा अलि परै पुगिसकेपछी उसलाई ओर्लने ठाउँ नजिकिँदै गएको आभस हुन्छ र उ भित्र भित्रै अत्तालिन्छ।
बुवाको मनपर्ने गीत “तिमी मेरो राधा पियारी” उसको एयरफोनमा बज्दै थियो। तर दिनेशको ध्यान गीतबाट बिस्तारै टाढिदै जान्छ। ऊ पटक्कै शान्त हुन सकिरहेको थिएन। जति जति घुम्तिहरु कट्दै जान्छ, दिनेशको मन उति धेरै सम्झनाहरुले बाधिँदै जान्छ।
***
‘मलाई गाउँको औधी माया लाग्छ। बुवालाई सम्झँदा त झनै बढि।’ दिनेशले १ वर्ष अगाडि आमासँग गरेको संवाद सम्झँदै थियो, ‘म फर्केर गएँ भने त्यहाँको सम्झनाले मेरो मुटु चिथोर्नेछ, म छिया छिया हुनेछु। मायामा फिँजारिन खोज्दा म उल्टै लथालिङ्ग हुनेछ। भयो, बरु म जाँदै जान्न।’
झ्याप्प ब्रेक लाग्छ। ऊ झसङ्ग झस्किन्छ। कुनै गहिरो तन्द्राबाट व्युँझिए जस्तो। उसको सोचमा पनि अचानक ब्रेक लाग्छ।
***
“जिन्दगी पनि एउटा यात्रा नै हो। यस्ता ब्रेकहरु धेरै लाग्छन्। जिन्दगीले पनि यसैगरी बेलाबखत झस्काइरहन्छ। तर जिन्दगीले अत्यायो भन्दैमा आफै यसरी आँत्तिनु हुन्न नि बाबु। सानो खाल्डो थियो कटिसक्यो।”, बाजेले मुसुक्क मुस्कुराउँदै मतिर फर्केर भन्नुभयो। म झनै झसङ्ग भएँ। हात खुट्टा क्षणभरमै चिसो भएर आयो। म केही बोल्न सकिन।
मरेर गएको मान्छे फर्कदैनन् भन्थे तर मलाई मेरो बुवा फर्केर आए जस्तै लाग्यो। वर्षौँ पछि आफ्नो बुवाको छवि भेट्दा मलाई बुवालाई भेटेजस्तै लाग्यो।
आँखाबाट आँसु झरेको पत्तै पाइनछु! यी अभावमै झरेका आँसु थिए तर सायद बुवाले छोडेर गएपछी म पहिलो पल्ट यसरी मुस्कुराएको थिएँ।
***
चाहे त्यो क्षणिक नै किन नहोस्, जिन्दगीले हरेक मोडमा यस्तो अकस्मात खुशी लिएर आउने हो भने मानिसको मनको घाउ केही हदसम्म निको हुन्थ्यो होला।
ओहो ! दिनेश कल्पनामै रमाए जस्तो देखिन्थ्यो।
***
‘हजुर त मेरो बुवा जस्तै हुनुहुँदो रहेछ। कुरा पनि यस्तै गर्नुहुन्थ्यो। मलाई आफ्नै बुवा आएर सम्झाए जस्तै लाग्यो।’ मैले बाजेतर्फ फर्कदै भनेँ।
‘तिम्रो बा हुनुहुन्न र?’ उहाँले सोध्नुभयो।
‘अहँ!’ मैले आँखा रसिलो बनाउँदै केवल मुन्टो हल्लाएँ।
‘कति भयो बा बित्नुभको?’ उनले प्रश्न गरे।
‘तीन वर्ष।’ मैले जवाफ दिएँ।
‘बिरामी हुनुहुन्थ्यो?’
बा पहिल्यैदेखि धेरै चुरोट खानु हुन्थ्यो अरे! दमको रोगी पनि हुनुहुन्थ्यो। ५-६ वर्ष सार्है गलायो। पछि फोक्सोको क्यान्सर भएर बित्नुभयो।
‘सुनेर दुख लाग्यो बाबु।’
घाउ त अझै ताजा नै होलान् तिम्रो तर धेरै नआत्तिउ। यो जीवन हो। जस्तो कठिन समय पनि गुज्रेर जानेछ, बस् धैर्य गर। धैर्यताले मानिसलाई सहनशील बनाउँछ। सहनशीलताले सन्तुष्टि र सुखको बाटो डोर्याउँछ।
***
खाल्डाखुल्डीहरु छल्दै गाडी रफ्तारमा चल्दै थियो। यता म बाजेको कुरा सुनेर जिन्दगीका ठूल्ठूला खाल्डाखुल्डीहरु टाल्न खोज्दै थिएँ।
केही समय शून्यतामा बिलाएजस्तै शान्त भयौँ।
म मनमनै सोच्दै थिएँ, ‘सहचालकले पछि कतिवटा चुरोट खाएर भ्यायो कुन्नी।’
***
फरक फरक मुहारमा फरक फरक भावहरु खोज्दै गर्दा आफ्नै बा को छवि आफ्नो छेवैमा भेट्छु भनि कल्पनै नगरेको। ७ नं को सिट मेरो लागि बुवाको साथ जत्तिकै मीठो बनिदियो।साँच्चै न्यानो र सुमधुर बनिदियो।
***
दिनेशलाई यो यात्रा कहिल्यै नसक्कियोस् जस्तो लाग्दै थियो। उसले पुन: एकपल्ट बस स्टेशनमा पानी बेच्ने फुच्चेलाई सम्झियो, बदाम बेच्ने अंकललाई सम्झियो, सहचालकलाई सम्झियो, झ्यालको सिसाबाट देखिएको संसार सम्झियो, र सम्झियो आफ्नै बुवाको छविलाई।
***
‘मैले २ घण्टाको यात्रामा पुरै जीवन जिएर आएको छु।
जीवनको यात्रामा भेटिने यात्रुहरुले जीवनकै मीठो पाठ सिकाएर जाँदा रहेछन्। मीठो याद छोडेर जाँदा रहेछन्!’ दिनेश यसरी आफ्नो मनलाई शान्त बनाउन खोज्दै थियो।
त्यत्तिकैमा उताबाट सहचालक चिच्याउँछ- ‘गल्छी झर्ने छ? भाँडा झिकुम् है!’ उसले गल्छी ओर्लने जति सबैको भाँडा उठाउँछ।
मैले ओर्लनु अघि बाजे अन्तिमपटक एकटकले हेरेँ। बोल्न खुब मन लागेतापनि उनी निदाएको देखेर बोलाउन मन लागेन। एउटा तस्विर खिचेँ र गाडीको ढोकातर्फ लम्किएँ।
***
‘भाइ! तिमी कति वर्षको भयो?’, मैले सहचालकलाई ओर्लने बेला सोधेँ।
‘२१ वर्ष भएँ दाजु, किन?’ उसले उत्तरसँगै प्रश्न फर्कायो।
भर्खरको रहेछौ। उमेर नपुग्दै यति धेरै चुरोट नखाउ है! जीवन चुरोट जस्तै हुन्छ। भुइँमा झरेको खरानी मानिस जस्तै अनि खुशी, चुरोटबाट उडेको धुवाँ जस्तै।
चुरोट सक्किन लागेको थाहै नपाई सक्किन्छ। र जब थाहा हुन्छ सक्किएर खरानी भइसकेको हुन्छ। ठ्यक्कै मानिसको जिन्दगिजस्तै।
सहचालक भाइ केही बोल्दैन। म पनि केही बोल्दिन। लगबग १० मिटर अगाडि पुगेर गाडि रोक्किन्छ। ड्राइभर र यात्रुहरु खाजा खान ओर्लिन्छन्। र म यात्रालाई मस्तिष्कमा कैद गर्दै ओर्लन्छु।
***
यसरी दिनेश गन्तव्यको एउटा यात्राबाट ओर्लन्छ र गल्छिको होटेलबाट फरक्क फर्किन्छ। जिन्दगीको यात्रु बनेर मानिसको फरक फरक भावहरु समेट्न, अझै धेरै याद बटुल्न। ऊ पुन: जिन्दगीको लामो यात्रातर्फ लम्कन्छ।
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com