आउ! आज म सुनाउछु केही किस्साहरु,
जिन्दगी जिउन भुलेका मान्छेहरुलाई,
बुझाउँछु जिन्दगीको रहस्यमय हिस्साहरु!
खुशी, दुःख, पीडा अनि मनका भावनाहरु,
सबै समेटेर कोर्नेछु केही हरफहरु।।
गाइरहनु जिन्दगीका गीतहरु,
सुनाउनु केही रमाइला किस्साहरु,
समयको कैदमा रहेको जिन्दगीमा
खुलेर बाँच्नु केही पलहरु।
कहिले उकाली कहिले ओराली
हुन्छन् यात्राहरु,
भेटिनेछन् कयौँ पात्रहरु,
अनेकौँ भयानक गल्लीहरुमा
खोज्नु शितल छहारी दिने चौतारीहरु।
कहिले सहनु नमिठो भारहरु,
कहिले अङ्गल्नु आफ्नै हारहरु,
आफ्नै कलामा रङ्गिने कला हो जीवन
संघर्षले नै सिकाउनेछ अनुभवका पाठहरु ।
देख्नु सपना पूरा गर्नु आफ्नो जिज्ञासाहरु,
मर्न नदिनु मनभित्र पलाएका आशाका टुसाहरु,
के हुन्छ कस्लाई के थाहा?
कस्ले पो देखेको छ र जिन्दगीमा आउने दिनहरु।
बाँढ्ने गर्नु अनि सुन्ने गर्नु प्रेमका कथाहरु,
तितो यथार्थ कुनै दिन बन्नेछन् मिठो यादहरु,
विश्वास अथाह गर्नु आफूले आफूलाई
बस केही मुठ्ठी सासले नै चल्छ यहाँ केही जिन्दगीहरु।
समेट्नु जिन्दगी रङ्ग्याउने रङ्गहरु,
बनाउनु चित्र अनि अस्तित्व बोकेका चरित्रहरु,
बाँचुन्जेल सजाउनु, रमाउनु अनि आफ्नौ संसारमा हराउनु ।
सम्झनु! फर्केर आउँदैनन् यहाँ मरेर गएका मान्छेहरु।
आमाको काखमा लुट्पुटिदा तानेका सयौँ धोतिका फेरहरु,
बुवाको काँधमा चढेर देखेको कयौँ सपनाहरु,
जिन्दगीको मोडमा आएर कुनै दिन टक्क अडिए
अङ्गाल्नु एकैपल्ट आमाबुवाको माया, ममता अनि स्नेहहरु।
खोजेजस्तो पाइदैन सबै कुराहरु,
सोचेजस्तो हुँदैन यहाँ जिन्दगीहरु,
लाखौँले पछ्याउँने बाटो बनाउनु
यहि छोटो जिन्दगीमा,
छरेर जानु ओठको कुनामा मुस्कानहरु,
छोडेर जानु मेटाउन नसकिने मिठा यादहरु।
-Muskan Pandey