Nepali Poem | गरिब देशको गरिब म | Sarojdillu Vishwakarma

london bridge offline thinker

लण्डन टावरब्रिजबाट हेर्दा

 

कुशल मस्तिकको सिर्जना

अलौकिक कला र श्रृंगारहरु

रहरै रहर हुनेहरुको शहर

पैसा बगाउनेहरुको लण्डन शहर

सांसारिक सुख र खुशी पोखिन्छ सबै प्रहर

सुन्दरी, अझ झनै सुन्दरीहरुको जमघट्

प्रेमिल सपनाहरु भेटिने क्यानडा नहर

सानो देशको अझ सानो मानिस

गरिब देशको झनै गरिब म

सिरानबारीमा दुईमाना कोदो छरेर

डलर र पाउण्डमा रमाउने कल्पना गर्दैछु म ।।

 

सयर गर्छन् कोही यहाँ उबरहरुमा

पौडन्छन् कोही पानी भित्रभित्रै ट्रेनट्युवहरुमा

वारपार गरिरहन्छन्

दुइतले बसहरुका नाङ्गा छानो

क्यानडा बाटरको उमङ्ग न्यानो

कसले कसलाई सोध्ने बुझ्ने फुर्सद छ र

कहाँ हुन्छ र प्रेम यहाँ, फूल र भमराको मिलन झैँ

छताछुल्ल अंग, बस्त्र भंग कसलाई हेर्ने चासो छ र !

संसारभरीका मान्छेहरुको भीडमा

सानो देशको झन सानो मान्छे

गरिब देशको अझ गरिब म ।

लण्डन टावरब्रीजमा उभिएर संसार हेर्दैछु म ।।

 

यघ्रब्यघ्र छन् पानीजहाज र जलरेलहरु

मान्छेहरुको भीडमा समुद्र पो डुबिरहेझैँ

विद्यार्थीदेखि भद्रभलादमीहरुको चलिरहेछ भीड

यौनाङ्ग देखाउनैका लागि आउँछन् कतिजना

सर्वनङ्ग नै भएपनि कसले हेरिदिने

बेलायती छाउरीहरु भन्दा कहाँ फरक छन् र !

सेताकाला सिंगो तिघ्रा देखाएर

वक्षस्थल पुरै उघारेर क्लिक्क्लिक् फोटो खिच्नेहरु

लुकेर झुकेर हेर्ने नै फुर्सद कसलाई छ र !

सानो देशको सानो मानिस

गरिब देशको झनै गरिब म

प्रेमिल सपनाहरु बोकेर

सुन्दरीहरुको नाङ्गा वदनहरुमा हराइरहेछु म ।।

 

जापानदेखि अमेरिकासम्म, सिंगापुरदेखि ब्राजिलसम्म

पेरिसदेखि मेलबर्नसम्म, अफ्रिकादेखि ओस्लोसम्म

सौन्दर्यका बासनाहरु छर्दै

अनेकन् रंग र ढंगका अंगअंगहरु फिजाँउदै

कोही अनुभवको खोजीमा,

कोही धन उडाउने हतारोमा

चरीझैं उडिरहेछन् बादलमाथि अनन्त

विश्वसुन्दरीको ताजजस्तो लण्डन टावरले

मलाई खिज्याइरहेछ, जिस्क्याइरहेछ ।

सानो देशको सानो मानिस

गरिब देशको झनै गरिब म

चम्किला सिसाभित्र थुनिएर

सारा नेपालीको यस्तै आलोक खोजिरहेछु म ।।

 

शरीर गह्रुँगो हुन्छ आफैलाई हेर्दा

भाउन्न चल्छ मेरा शासकहरुलाई देख्दा

अरुलाई मन्तरेर चोख्याउँदै हिड्नेहरुले

अपवित्र पारेको मेरो देश सम्झँदा

इच्छाहरु दबाएर छटपटिन्छु म

अनि ती खुशी मान्छेहरुको भीडमा

हीन भएर, सुख्खा अधरहरुमा मुक्स्कान लुकाएर

लाग्छ– निर्जिव पुत्लासरी भएको छु म ।

यस्तो छ संसार, त्यस्तो छ मेरो देश

उस्तै बनाउने झिनो अभिलाषाको

मैनवती बाल्न खोजिरहेछु म ।

सानो देशको सानो मानिस

गरिब देशको झनै गरिब म

आफ्नै माटोमा फूलफुल्छ की भनेर

लुमण्डहरुको देश फर्किरहेछु म ।।

 

 

 

Read More From Offline Thinker:

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *