मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई

गाउँ

मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई

सन २०१८ सम्मको तथ्यांक अनुसार देशको कुल जनसंख्या मध्य ८०.२६ प्रतिशत जनसंख्या गाउँमा बसोबास गर्छन् । नेपालका गाउँहरुनै हाम्रो चिनारी हुन् । हाम्रो पहिचान हुन् । विकेन्द्रित वस्ती, बहुभाषिक, बहुसास्कृतिक समाज, बहुआयामिक परम्पराहरुको मिलन, प्राकृतिक स्रोत साधनको भरिपूर्णता नेपाली गाउँहरुको विशेषता हो ।

हिमाली, पहाडी, र तराईका गाउँहरुको रहनसहन पुरापुर बेग्लै छ । समाजिक बनोट, जीवनशैली र समस्याहरु भिन्न छन् । तर पनि सबै गाउँहरुको एउटा मिलनबिन्दु हो: गुमाउँदै गरेको मौलिकता । हराउँदै गरेको सौन्दर्यता !

समयसङ्गै विभिन्न विकासे अवधारणा प्रत्येक गाउँ समाजले अपनाउँदै जान्छ । प्रत्येक ठाउँको बनोट, संरचना र त्यहाँको अवस्थिति सधैँ एकनास रहदैन । हरेक ठाउँले सुधारको अनेक चरण पार गर्दै जान्छ । त्यस्तै अनेक चरण नेपाली गाउँठाउँले पार गर्यो र अझै गर्दै छ । सुधार-विकासका क्रममा गाउँमा धेरै सकारात्मक परिवर्तनहरु आएका छन् । गाउले जीवनशैलीमा व्यापक सुधारहरु आएका छन् । संचार र यातायातको बढ्दो पहुँचले गाउँ र सहरबीचको दुरी घटाइ दिएको छ । रुढीबादी विचारहरुको बिगबिगी कम हुँदै गएको छ । तर साथमा धेरै नकारात्मक असरहरु पनि सङ्गै आएका छन् ।

अहिले गाउँको सामाजिक संरचनामा व्यापक फेरबदल भएको छ । मौलिक संस्कृति, रहनसहन र थुप्रै परम्परागत रीतिथिती लोप हुने स्थितिमा पुगेका छन् ।
जसकारण धेरै गाउँहरु सौन्दर्यहिन अवस्थामा छन् । इतिहासलाई फर्केर हेर्दा शासकको दृस्टी ग्रामिण भेगमा निकै पछाडी पुगेको भेटिन्छ । राजा महेन्द्रले २०२४ साल पुष १ गतेबाट लागु गरेको गाउँ फर्क राष्ट्रिय अभियानले धेरै सकारात्मक सुधारहरु ल्याएको थियो ।

त्यस्तै १० वर्षको माओवादी जन युद्धले गाउँमा केही सकारात्मक सुधार र नकारात्मक असर छोडेको थियो । गाउँमा सामन्तीको त्रास घटाउनेदेखि धेरै रुढीबादी उल्झनहरुलाई निर्मुल पार्ने महत्त्वपूर्ण खुटकिलो चालेको थियो जनयुद्धले । तर धेरै अपराधिक क्रियाकलाप बढाउनु, अनावश्यक त्रास फैलाउनुदेखि ग्रामिण अर्थतन्त्रमा जनयुद्धले ठूलो क्षती पुर्याएको थियो । पछि राजतन्त्रको उन्मुलन ; मुलुकमा गणतन्त्रको स्थापना र केही समयअघि मात्र भएको संघियताको आगमनले बल्ल दुरदराजमा समेत सबैको दृष्टि पुग्न थालेको छ ।

लामो अन्तरसंघर्ष पछि सबै ग्रामिण भेगहरुले पाएको समानता र अधिकार पश्चात् नेपाली गाउँ वस्तिहरुमा मौलिकता हराउँदै जानुको प्रमुख कारण हो; विकासको गलत अवधारणा । अहिले ग्रामीण विकासको प्रमुख सुचक नै सडक भएको छ । विकासे अवधारणाको मीत डोजरसित लगाइएको छ । त्यसैले हामीसङ्ग अहिले वस्ती भन्दा सडक धेरै हुन पुगेका छ्न् । अध्धयन, अनुसन्धान, सोचगमन बिना खनिएका सडकहरु हिउदे मार्ग बनेका छन्।  जुन वर्षा लाग्दैमा बन्द हुन्छन् । पहिरोले घर खेत पुरिन्छन् । फलस्वरूप हाम्रा गाउँहरु कुरुप बन्न पुगेका छन् ।

त्यस्तै पहाडमा गाउँहरुको चिनारी दिने पाटी, पौवा, चौतारीहरु सडक विस्तारको क्रममा भत्काइएका छन् । मठमन्दिरहरुको आधुनिकीकरण गर्ने होड चलेको छ । एकातिर विदेशबाट भित्रने रेमिट्यान्सले गाउँमा ठूला पक्की भवन बनेका छन् । अर्कोतिर , हाम्रा परम्परागत शैलीका घरहरु विस्तारै लोप हुने अवस्थामा छन् । त्यसैले धेरै नेपाली गाउँहरु कुनै सुन्दर सामाजिक संरचनाको भग्नावशेस हुन बाटोमा छन् ।

त्यस्तै बसाइ सराइको प्रभाव गाउँमा बढदो छ । दुर-दराजमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधाको अभावका कारण गाउँ छोड्ने संख्या दिनहुँ बढदो छ । फलतः गाउँठाउँमा जनशक्तिको अभावले ग्रामिण अर्थतन्त्रमा भारी प्रभाव पर्न आएको छ । पश्चिमी संस्कृतिको बढ्दो मोहको प्रभाव पनि गाउँमा फैलदो छ । बाहिरी रीति प्रतिको बढ्दो मोहले हाम्रा आफ्नै ग्रामीण परम्पराहरु धरापमा परेका छन्। हाम्रो गाउँ समाजको मौलिकता माथि संकट निम्तिएको छ ।

त्यसैले विकासको अवधारणामा एकपल्ट गम्भीर सोचविचार गर्नुपर्ने बेला आएको छ । बदलिँदो सामाजिक; संस्कृतिक जीवनशैलीमा बहस गर्नु आवश्यक छ । बसाइ सराइको न्यूनीकरणका लागि विशेष कदमहरु अपनाउन जरुरी छ । र नेपाली गाउँसमाजलाई संस्कृतिक पहिचानको आधारमा अघि बढाउनु पर्छ । हाम्रो ठाउँले बोकेको असंख्य स्रोत साधन र सम्भावनाहरुको खोजी गरेर त्यसको समुचित उपयोग गर्नु अति आवश्यक छ ।

हाम्रो संस्कृति र पहिचानको जगमा उभिएर पर्यटनलाई आधार बनाइ आर्थिक समुन्नति भेट्टाउनु नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्दछ ।

स्मार्ट भन्दा पनि संस्कृतिक गाउँ , सहर हाम्रो पहिचान हुन् । त्यसैले संस्कृतिक गाउँ सहर बनाउन नै हाम्रो सम्पूर्ण जोडबल रहनु पर्दछ ।
सिकलेस, घान्द्रुक, घले गाउँ , तानतिङ, बन्दिपुर हाम्रा संस्कृतिक ठाउँका उदाहरण हुन् ।अन्ततः हाम्रो समाजको मौलिकता, सौन्दर्यताको जगेर्णा गरी आउने भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको साझा कर्तव्य हो ।
सुमनले लेखेका अन्य रचना पढ्नुहोस्:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *