सेलिब्रेटी लेखक सुबिनको किताब इजोरिया रिभ्यू | Ijoriya Book Review | Subin Bhattarai

subin bhattarai

नेपालमा ‘सेलिब्रेटी लेखक’ कमै छन्। औंलामा अट्छन्। हरेक पटक पाठकले पढ्न रुचाउने कथा पस्किन सफल लेखकै विरलै भटिन्छन्। थोरै लेखक नै पाठकको पपुलर लेखकको सूचीमा पर्छन्। ती थोरै लैखकमध्यको शिर्ष स्थानमा आउछन् सुबिन भट्टराई।

मैले उनको सबै किताब पढेको छु। किताबको कथा र पानाभित्रको लेखाइले उनलाई बुझ्न पाएको हुँ। तर सुबिनलाई मैले लेखक मान्दैन थिए। जब इजोरिया पढे, अनि बल्ल मैले सुबिनलाई लेखक माने।

समर लभ, साया, प्रिय सुफी जस्ता बेस्ट्सेलर कृति पस्कीसकेका सुबिनको नयाँ कृति इजोरियाले छोटो समयमै पाठकबीच बेस्टसेलरको तक्मा पायो। बजारमा किताब सर्टेज भयो। किताबको दोस्रो संस्करणको माग अझै उस्तै छ।

सधै सहरको मुटुमा उम्रेका नवपुस्ताको प्रेमिल जीवनशैली र ती बिचका सामाजिक तथा मनोवैज्ञानिक उल्झनको सिमामा मात्र रचिएका कृति लेख्ने लेखकले यसपटक अल्लि पर पुगेछन्। प्रथमत: आफ्नो लेखनको कम्फर्ट जोन छोडेर नयाँ परिवेश, शैली, भाषा र विषयवस्तुलाई अंगाल्न सक्नु लेखकको पहिलो सफलता हो।

इजोरियाले नेपाली साहित्यले विरलै देखेको मधेशको भुगोल, साधारण मधेसको जीवनशैली, सामाजिक परम्परा, विश्वास-अन्धविश्वासमा अडिएका सम्बन्ध, प्रेम, मित्रता, करुणा, अधिकार, मुक्ति र समग्र आम मान्छेको जीवनको हरेक पक्ष समेटेको छ।

प्रमुख पात्र सिमृकको बाल्यकालबाट सुरु भएको उपन्यास हरेक पाना पिच्छे अनेकौं स्वाद, रङ र साहित्यिक आनन्दले भरिएको छ। जति किताबका पाना पल्टिन्छन् त्यति पाठकलाई तृप्त पार्दै जान्छ।

उपन्यासको सबैभन्दा सबल पक्ष भनेको सुबिनको शैली र शिल्प हो । हरेक घटनामा प्रयोग भएका बिम्ब उच्चस्तरीय छन्। सुबिनको लेखनले कुनै पनि बेला पाठकलाई पुस्तक अध्यनबाट फुत्कने मौका दिएका छैन। मुख्यत किताबमा प्रयोग गरिएका उखान, गीत, कविता र घटनाको विवरणले पाठक स्वयमलाई मधेसको भुगोल पुर्याउछ।

हरेक सूक्ष्म पक्षको संलगनता र तिनको तथ्यसंगत विवरणले पुस्तकलाई बढी ओझिलो बनाएको छ। हरेक मान्छेसित मेल खाने विषयवस्तु भएकाले पाठकलाई इजोरिया आफ्नै कथा जस्तो लाग्छ। अति सामान्य विषयलाई अति विशिष्ट शैलीले प्रस्तुत गरेका कारण इजोरिया जिवन्त बनेको छ। सुबिन भट्टराईको यो लगन र मिहिनत साच्चै तारिफ योग्य बनाएको छ।

प्रमुख पात्र सिमृकको परिवारिक कलहबाट बिस्तारै लय समातेको इजोरियाले नेपाली परिवारमा हावी हुने भालेवाद वा भनौं पुरुषप्रधान नेपाली परिवारका आम बुझाइका समस्या, पारिवारिक हिंसा, धार्मिक अन्धविश्वासले निम्त्याउन सक्ने विपत्ति जस्ता यावत विषयको नांगो विश्लेषण छ ।

बाँकी, सम्बन्ध परिवारकै आड, अवस्थाले जोड्ने हुन्। मित्रता पनि तिनै कारणको परिणाम हो । मान्छे जति परिवारभित्र च्यापिन्छ, त्यति मित्रताको कसीमा फुक्दै जान्छ । सो कुरा, सिमृक र ठाकुरको कसिलो सम्बन्धले पुष्टि गर्छ ।

रङ, लिङ्ग, संस्कृतिक भिन्नता भन्दा पर रहेको मित्रताको महत्त्व जीवनको हरेक मोडमा अविछिन्न रहेको सार यो सम्बन्धबाट बुझ्न सकिन्छ। त्यस्तै पारिवारिक सम्बन्ध कमजोर रहँदा सिमृकजस्ता युवापुस्ता कसरी गलत निर्णय लिन्छन् भन्ने कुराको उदाहरण प्रशान्त संगको सम्बन्धले प्रष्ट पारेको छ । नवपुस्तालाई उसकै चाहना अनुरुप सहि दिशा निर्देश गर्न नसके उसले खप्ने सास्ती सिमृककै जस्तै हुनेछ ।

लागू औषध, पारिवारिक झगडा, अनुशासनहिनता जस्ता विषय अहिलेको युवा पुस्तालाई सामान्य लाग्न थाल्छन्। एउटा असाधारण क्षमता बोकेको युवा साधारण भन्दा अति तल्लो स्तरमा खुम्चन बाध्य हुन्छन्। त्यसैले यो पुस्ता र संगै जोडिएको समस्यालाई परिवारले सहि रुपमा चिर्नसक्नु पर्ने इजोरियाले स्पष्ट बुझाएको छ। जीवनका सबै सबल र दुर्बल पक्ष र सबै समस्यालाई थाती राखेर केही समय गम्भीर भएर सोच्ने हो भने हाम्रा सबै समस्याका कारक हिंसा विरुद्दको सहनशीलता नै हो।

चाहे सामाजिक होस् या घरेलु हाम्रो समाजले सबैलाई हिंसा सहनमात्र सिकायो। यसैको जालमा बाँधिन, थुनिन मात्र सिकायो। जसले कैयौं रमिलाको समस्या उसैको अन्तर हृदयमा मात्र कैद भयो। जसले कैयौं शिरिसको भविष्य कतै बिचैमा हराइदियो। जसले कैयौं सिमृकको भविष्य अन्धकारतिर धकेलिदियो ।

त्यसैले हिंसाको विरुद्ध शून्य सहनशील हुनुपर्छ । विद्रोहको विगुल फुक्नुपर्छ । परे कानुनकै विरुद्ध ढाल बनेर उभिनुपर्छ। जीवनको हरेक पक्ष समेटेको इजोरियाको सार पनि यहि हो।

अन्तमा इजोरिया पढेपछी लाग्यो सुबिन भट्टराई बल्ल लेखक भए !

अब उनको कलम र उनमा भरिएको जादुमयी शिल्पको माध्यमबाट नेपाली समाजका साहित्यले नचिनेको अनेकन समस्या यसैगरी साहित्यको मुलधारमा छिरुनु । साहित्यले लेखकको पेट र पाठकको मन भर्ने आधार मात्र नभएर सिङ्गो समाजको लय निर्धारण गर्न सक्ने बलियो पक्ष बनेर उभियोस ।

सुबिनलाई शुभकामना !

 

Read More From Subin Bhattarai:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *