युगान्त | Yuganta | Book Review by Suman Bhattarai
हामी महाभारतको सतही किनारमा तैरिनु बाहेक यसको विशालता र गहिराइमा पुग्न सकेका छैनौँ । हामीमा यसको महत्वबोध “भक्तिगान” मा मात्र सिमित रहेर पनि यसो भएको होला ।
यसै हप्ता सुजित मैनालीद्वारा अनुदित इरावती कर्वेको ‘युगान्त’ पुस्तक हात पर्यो । जसले महाभारत बुझ्न सघायो । केही हदसम्म यसको गहिराइ छिचोल्ने मौका दियो । भित्रका पात्रहरुलाई अझ नजिकसँग चिनायो। प्रक्षिप्त अनेक प्रसङ्गहरुको जालो हटायो । मुख्यत सहि अर्थमा जीवन सिकायो ! त्यसैले यो हप्ता पठन र जीवन युगान्तमय रहयो ।
सुजित मैनालीको उत्कृष्ट अनुवादले किताबबाट पाखा रहन दिएन । उनको सरल, सहज लेखन शैलीले किताबमा वर्णित पात्रहरुसँग बाँधेर राख्यो। अनुदित कृतिमा यस्तो मिठासपन कम नै भेटिन्छ ! त्यसैले किताब पढ्दैगर्दा सुजित मैनालीलाई सम्झि हर कोही पाठक कृतज्ञ हुन्छ ।
किताबको सुरुमै कर्वेले भिस्मलाई नियालेकी छिन्। उनको जीवनलाई अनेक कोणबाट जाचेकी छिन्। आफ्नो कुलको हितको लागि बिताएको जीवनको समीक्षा गरेकी छिन्। उनले लिएको प्रतिज्ञा, जीवनमा अरुको हितका लागि गरेका हित अहितका कर्महरु, गल्तीहरु, उनले भोगेका आरोह-अवरोहहरु र जीवनको अन्त्यमा भोग्न परेको भयावह कष्टकर परिस्थितिको व्याख्या गरेकी छिन्। व्यक्तिगत स्वार्थरहित अरुको भलाइका लागि जीवन बिताउने मानिस हानीकारक रहने सक्ने छनक उनको जीवन समिक्षामा उल्लेख गरेकी छिन् ।
त्यस्तै गान्धारीको जीवन नियाल्दा उनको अथाह पति-प्रेम र उनको पति-व्रता भेटिन्छ । एउटा निरीह पतिव्रता जसले श्रीमानको अन्धोपनलाई सघाउन आफैले आँखामा पट्टि बाधेर जीवन बिताउछिन्। जीवनको अन्त्यमा श्रीमानसङ्गै आगोमा होमिन्छिन् । त्यसैले गान्धारी प्रेम र पुरुषप्रधान समाजको महिलाहरूप्रतिको अस्तित्वको प्रतीक हुन ।
लगत्तै कर्वेले कुन्तिको जीवनलाई बिचारेकी छिन् । महाभारतका बाँकी पात्रहरुकोभन्दा कुन्तिको जीवन बढी दुःखदायी देखिन्छ। अरुभन्दा बढी साहसी पनि !
यसैगरी साहसी यो अर्थमा कि: उनी जस्तोसुकै विषम परिस्थितिमा पनि डगमगाइनन्। क्षेत्रिय नारीको कर्तव्य सम्झि समस्यासँग जुधेर जीवन बिताइन। साथै उनको चरित्रमा क्रूरपन र उदारपन दुवै भेटिन्छ । क्रूर यस अर्थमा कि: पतिको मृत्यु ताका उनी माद्री माथि आरोप थुपार्न जाइ लागिन । नरम यस अर्थमा कि: पति र माद्रीको मरण उपरान्त कहिल्यै पनि उनका छोराहरु माथि पक्षपात गरिनन् । जीवनको अन्तिम क्षणमा गान्धारी र धृतरास्ट्रसँगै सन्यासका लागि वन प्रस्थान गरिन्।
युगान्तमा उल्लेख गरिएका पुता-पुत्र र मयसभाको विवरण सबैभन्दा चाख लाग्दा र महत्त्वपूर्ण छन् । कर्वेले बिदुर र युधिस्ठिर बिचका समानताहरु केलाउँदै उनीहरु पिता-पुत्र हुनसक्ने अनुमान निकालेकी छिन्। जुन महाभारतको स्वरुप नै बदल्ने अनुमान हो । उनले यस विषयमा शंका गर्न एकाध तथ्य दिएकी छन् । जसमध्ये विदुरको मृत्युको मुखमा युधिस्ठिर विदुरको शरिरमा प्रविस्ट गर्नु हो । यस कार्यलाई उपनिषदमा मृत्युउनमुख पिताले गर्नुपर्ने कार्य भनेर भनिएको छ ।
त्यस्तै लेखकले राज्य विस्तारको क्रममा अमानवीय किसिमले अर्जुन र कृष्णले खन्डव वन दहन गरेको पुष्टि गरेकी छिन्। अनेकन प्रक्षिप्त विवरणलाई गलत्याएकी छिन्। यो आफैमा एउटा महत्त्वपूर्ण विषय हो ।
कर्वेले द्रौपतीको जीवन नियाल्दा रामायण र त्यसका नायक रामको प्रसँग निकालेकी छिन्। जहाँ उनले रामको वनवासलाई स्वेच्छाले अपनाएको कस्टकर जीवन भनेकी छन् ।(पृष्ठ ९५) तर सोही क्रम भिस्मलाई पनि लागू हुन्छ । उनले अपनाएको कष्टपूर्ण जीवन पनि उनकै स्वेच्छाले हो। तर भिस्मको सन्दर्भमा उनले सोही कुरालाई महान त्याग भनेकी छन्। यहाँनिर उनको लेखाइ र बुझाइमा विरोधाभास झल्कन्छ ।
युगान्तमा वर्णन गरिएका सबै पात्रहरु मध्य मलाई सबैभन्दा मन परेका पात्र चाहिँ कर्ण हुन्। लेखकले कर्णलाई “जीवनले पुर्ण पराजित गरेका पात्र” भनेकी छन्। तर आधुनिक जीवनको हरेक मानिस मलाई कर्ण जस्तो लाग्छ। जसमा क्षुद्रता, अहंकार, हठिपन, उदारता, धुर्त्याइ सबै मिश्रित भाव छन् जो आफूलाई नचिनेर भौतारिएका छन् । होला, कर्णले खोजेको आफू र आधुनिक मानिसले खोज्ने आफूको अर्थ फरक तर ‘म को हुँ?’ भन्ने अस्तित्वबोधको प्रश्नले हामी सबैलाई गिजोलेको छ ।
अन्त्यमा लेखकले महाभारतकालिन समाजिक बनोट, संस्कृति, रीतितिथि, रहनहसन, वर्ण व्यवस्था आदिको व्याख्या गरेकी छिन् । महाभारतका पात्रहरु सबै सिंगो जीवन दर्शन बोकेर बाँचेका छन्। त्यस कारण यसलाई बुझ्न: युगान्त सबैले पढ्न आवश्यक छ।