मृत्यु के हो? | Suman Bhattarai

Suman Bhattarai
मृत्यु के हो? | Suman Bhattarai

मृत्यु: एकचोटी उदाएपछी अस्ताउनै पर्ने घामको अर्को रुप । जीवनको अन्तिम गन्तव्य र भ्रमरुपी जीवनको शाश्वत सत्य ! मृत्यु प्रश्न र उत्तर दुबै हो ।

एउटा यस्तो बिन्दु जहाँ राजा:रङक हरकोही एक समान रहन्छन् । एउटा यस्तो सन्ताप: जो कसैको लागि असह्य पीडा बन्छ त कसैको लागि रमिता ! यस्तो परिस्थिति जहाँ, भोग्नेले पाउँछ उनमुक्भै: हेर्नेले पाउछ रोदन । त्यसैले मृत्यु सुखान्त र दुखान्त दुबै हो ।

जन्मने हर कोही मर्छ । तर मर्ने हर कोही फेरि जन्मन्छ? प्रश्न छ र सधै यथावत रहनेछ । मृत्युले मानिसलाई जीवन बोध गराउँछ । जब कसैको शवयात्रामा निस्किन्छौ तब उदासिनताले छोप्छ । मौनताले छोप्छ । चितामा शव जल्दै गर्दा मनमा अनेकन कुरा खेल्छ्न्। जीवनमै खिन्नता छाउँछ। र त्यसबेला हर कोहिमा आउने अनुभुतीबोध जीवनको अर्थ हो । नैराश्यता, खालीपन, क्षणिक र विदारकताको बोध गर्नु जीवनको अर्थबोध गर्नु हो ।

जीवन क्षितिजमा देखिने बादल जस्तै न रहेछ । जसको अस्तित्व क्षणिक र सिमित रहन्छ । रहँदा घाम छेक्छ र सकिदा झरी भएर सबैलाई रुझाउँछ । त्यस्तै क्षणिक बादल जीवन बाँचेकाहरु आँशुको झरीले परेली रुझाएर सकिन्छन् । छोडेर जान्छन् अस्तित्व ! थाती राखेर जान्छन् फुट्न बाँकी हजारौं आँशुका मुलहरु । र जम्मा भएर रहन्छन् हजारौं यादका शृङ्खलाहरु, सुखदुःखका साथ सम्झनाहरु !

खोलाको एक किनार जीवन हो त दोस्रो किनार मृत्यु । जीवनको किनारबाट मृत्युको किनार पुग्नु बीचको यात्रा हो हाम्रो मानव अस्तित्व ! यस्तो किनारी यात्रा जसको यात्रा एकतर्फी छ । त्यसैले यो एकतर्फी यात्रामा निस्कने हर कोहीको गन्तव्य मृत्यु हो ! तर पनि यहाँ कोहि गन्तव्यबोध छैनन्। त्यसैले हामी सबै गन्तव्य बिर्सेका यात्री हौँ । फगत बटुवा हौँ।

यो यात्रामा निस्केका सबै जीवनको अर्थबोध गर्न भौतारिएका छन् । सबै अर्थको निचोड चाहन्छन् । जीवनको हरेक कोणबाट परिभाषा चाहन्छन् । तर देख्दैनन्: जीवनको अर्थ खुलाउने सजिव पाठशाला नै मृत्यु हो । मृत्यु जीवनको ऎना हो । मृत्यु जीवनको विपरार्थी हैन समानार्थी हो ।

कोहि मृत्यु पछाडिको परिभाषा चाहान्छन् । जुन अज्ञेय छ । अनेक अर्थ र विस्वास अनेक अर्थ खुलाउछन् । जुन जीवन जत्तिकै भ्रमपुर्ण छ । त्यसैले मृत्यु पछिको भन्दा अघिको समयलाई अर्थपूर्ण बनाउनु नै बुद्धिमता हो । केबल बुद्धिमता, सार्थकता भने होइन ।

हरेकको जीवन सफल वा असफल छुट्ट्याउन यथेस्ट मतहरु छन् । हामी सबै मानव भएर पनि फरक जीवन बाँच्दछौ। सबैको जीवनस्तर र एकाइ फरक छ । धेरै विषय आसमान छन् । तर मृत्युको हकमा त्यो लागु हुँदैन । किनकी मृत्यु शाश्वत सत्य हो । र सत्य सफल वा असफल हुँदैन । असमान हुँदैन ।

जीवनरुपी यात्राको जब गन्तव्य एकै छ, अन्तिम सत्य समान छ तब जीवनमा भिन्नता किन देख्ने? किन कसैलाई अलग्याउने? अहंकार र आलंकारको अर्थ के? अभिमान र तुलनाको अर्थ के? तसर्थ मृत्युलाई नजिकबाट पढ्नेलाई यो दर्शन पनि हो ।

संसार छोडेर गएपछि पनि हजारौँ मानिसहरु संसारमै रहन्छन् । सबैको मन मस्तिष्कमा सज्जिन्छन् । यश र कृतिकालाई सम्झिन्छन् । त्यसैले कसैको मृत्यु कसैलाई प्रेरणा र साहस पनि बन्न सक्छ । जसलाई चिन्न चाहिन्छ गहन गम्भीरताबोध !

मानिसको जीवन सम्बन्धहरुले घेरिएको जालो हो। आधार र साहारामा अडिएको वस्तु जस्तै हो । तर हामीले जानेर निभाएका सम्बन्ध सबै निराकार र भ्रमपूर्ण छन् । जसलाई बुझ्न कसैको मृत्यु नियाल्न जरुरी छ । जसको भौतिक शरीर माटो, खरानी या पानीमा सिमित रहन्छ । तसर्थ हाम्रो शाश्वत सम्बन्ध प्रकृतिसङ्ग छ । जबकी मानवीय संवेदनाले जोडिएका हाम्रा सम्बन्धहरु अपूर्ण छन्।

हामी सबै फरक पृष्ठभुमीमा जन्मन्छौँ । फरक पृष्ठभूमीमा हुर्कन्छौ र बाँच्छौ । जग्दीश घिमिरे सहि भन्छन, “हामी सबै उस्तै उस्तै छौँ तर दुरुस्तै उस्तै छैनौँ । हामी सबै फरक फरक छौँ तर पुरै फरक छैनौँ।” यसरी अलग्गै जीवन बाचेका हामी न पुरै समान छौँ न पुरै फरक। तर यस्तो अस्तित्वमा सबैको समान मिलनबिन्दु बनिदिन्छ मृत्यु । जसले जीवनको ढोका बन्द गरिदिन्छ । तर पढ्नेले मृत्युलाई पढ्नसके रहस्यको ढोका उघारिदिन्छ ।

कवि शिरोमणी लेखनाथ पौड्यालको एक हरफ छ “गिर्दामा साथ जाने कुन कुन चिज हुन? सम्झ ती काम गर्दा” हर कर्ममा मृत्यु सत्यातमा मित्र बन्न सक्छ । त्यसैले मृत्युलाई भयमा नलिएर प्रेरणा र ज्ञानको रुपमा लिनु नै जीवन बुझ्नु हो ।

के रहेछ र जिन्दगी? एउटा सादा खाली पाना ! जसको निश्चित आयु छ । जसमा भर्न सकिने विषय पनि सिमित छन्। त्यसैले यो सिमितताको अवसरमा आवश्यक, सनातनी र परोपकारी विचार र कर्मभर्नुमा नै जीवनको सार्थकता छ । र छ मृत्युको पनि । बाँकी “जाहे विधि राखे राम, ताहे विधि रहियो सइया !”

 

 

Read More From Suman Bhattarai:

तिमी | Nepali Poem | Suman Bhattarai

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *