बुद्धिसागरको लेखनका ५ राम्रा गुण | Buddhisagar | By Sudarshan Poudel

Sudarshan Poudel

बुद्धिसागरको लेखनको ५ राम्रो गुण | Written by Sudarshan Poudel

सङ्घर्षरत सयौं जीवन अनि सयौं जीवनका हजारौं कथाहरु। ती सबै जिवनका भावहरुको निचोडलाई  शब्दमा रुपान्तरण गरी प्रस्तुत गर्ने लेखकहरुको भीडमा मलाई “बुद्धिसागरको कविता”, ” फिरफिरे” र “कर्नाली ब्लुज” जस्ता कृतिका रचयिता बुद्धिसागर उत्कृष्ट लेखक लाग्छ।

शब्दहरुको छनोट, उचित प्रयोगले उनका कथाहरु जिवन्त छन्। मलाई उनका कृतिहरु पढिसकेपछी समाज अवलोकन र अध्ययनमा निकै समय खर्चको भान हुन्छ।

कविताबाट साहित्यमा प्रवेश गरेका बुद्धिसागर अहिले भने आफ्ना मनछुने आख्यानहरुबाट निकै प्रख्यात छन्। उनका आख्यान, कविता अनि विभिन्न पत्रपत्रिकाका लेखहरु पढेपछी मलाई यी पाँच कुराहरुले निकै प्रभावित पार्यो।

१. बाल मनोविज्ञानको चित्रण

बुद्धिसागरका कृतिहरुमा बाल पात्रहरुको प्रयोग निकै पाइन्छ। बाल पात्रहरुको जिवन्त चित्रणका साथै मनोविज्ञानको विश्लेषण पनि भेटिन्छ। सन्तोषी माँ को फोटोमा जुँगा बनाएर सन्तोषी बा बनाइदिने वृषबहादुर, धेरै सख्तिको कारणले मनोबल कमजोर भएको चन्द्रे साथै अनेक बदमासी गर्ने वसन्त र पवन जस्ता पात्रहरुको प्रयोग गरी बालमस्तिष्क र चञ्चल स्वभाव देखाइएको छ।

सानासाना कुराहरुले गहिरो असर परेका कथाहरु र आफ्ना साथीहरुप्रतिको भावना ती पात्रहरुमा असली समाजको जस्तै यथावत भेटिन्छ। यस्तै मनोविज्ञानको चित्रणहरुले उनले छनोट गरेका हरेक पात्र जिवन्त छ्न्।

उनले कोमल बाल मस्तिष्कलाई केलाएर आफ्ना पाठकहरुबीच छर्लङ्ग बनाई दिन्छन्।

 

२.समाजको यथार्थ चित्रण

बुद्धिसागरका कृतिहरुमा पुरानो समय र समजको असली चित्रण भेटिन्छ। उनको लेखनशैली र परिस्थितिको सुक्ष्म रूपमा वर्णन गर्ने कलाले त्यो समाज र पात्रहरु आफ्नै आँखाले देखेजस्तै लाग्छ उनको किर्तहरु पढ्दा। सुदुर पश्चिम नेपाल, तराई भेगको जीवनशैली, भाषा र संस्कृतिको यथावत वर्णनले कथाको समाज सजिव भएर आउँछन्।

आफैले भोगेको कथाहरू नै पानामा पोखेजस्तो अनुभव हुन्छ ।

 

३. हरेक पुस्ताका पाठकलाई आकर्षित गर्ने कथावस्तु

यो पुस्ताका पाठकहरुले ‘समर लभ’, “साया” आदिजस्ता रोमान्टिक  कथाहरुलाई धेरै प्राथमिकता दिएको पाइन्छ। तर बुध्दिसागरका लेखहरू म र मेरो बुवा दुवैको मन जित्न सफल छन्। ‘कर्नाली ब्लुज’को कथाले म र बुवा दुवैलाई उत्तिकै छोयो। ‘फिरफिरे’ले हामी दुवैलाई नोस्टाल्जिक बनाइदिन्छ।

त्यसैले उनका प्रशंसकहरुको भीड फराकिलो छ। समाजका समस्या र सुन्दरता दुबैलाई समेटेर लेखिएका कथामा पाको मस्तिष्कले खोजेको गम्भीरता अनि चञ्चल मनले खोजेको थ्रील र सुन्दर कथा दुबै पाइन्छ।

उनको लेखेका कथाको भावनामा सबै पुस्ताका पाठक सन्तुष्ट हुन सक्छन्।

४. पात्र छनोट

मलाई सबैभन्दा मन पर्ने विशेषता पात्र छनोट हो। बुद्धिसागरका आख्यानहरूमा प्रयोग भएका पात्रहरुसँग पाठक वर्ग निकै सजिलै जोडिने गर्छन्।

समाजका हरेक पक्षलाई प्रतिनिधित्व गर्ने पात्रको प्रयोगले कथावस्तु अझ चाखलाग्दो हुन्छन्। हाम्रो समाजमा कुनै न कुनै मोडमा एउटा असामान्य जीवन बिताइरहेका भागिराम थारुहरु भेटिन्छन्। हर्षबहादुर जस्ता हाम्रो हरेक आवश्यकता पुरा गर्न मरिमेट्ने बुबाहरु छन्। वसन्त र पवन जस्तो मित्रता हामीले पनि अनुभव गरेका छौँ । यसरी हामीसँगै जोडिएका पात्रहरुको प्रयोग र समान भावनाहरुले कथासँग सजिलै बाँधिदिन्छ।

५. सरल भाषाको प्रयोग

सरल र रैथाने भाषाको प्रयोगले बुद्धिसागरका कृतिहरु सरस छन्। सरलता नै विशेषता भएकाले कथा कहिँ कतै अड्किएको भान हुँदैन। कथा निरन्तर बगिरहन्छ।

उनको रचनात्मकता र रुपकहरुको प्रयोगले पढाईलाई निकै रोचक बनाउने गर्छ। भाषा प्रयोग लेखकहरुको ब्राह्मास्त्र हो र बुद्धिसागर यसको उपयोग गर्न निक्कै अब्बल छन्। प्रत्येक पात्रानुरुपको भाषाले उसको हाउभाउ र चरित्रलाई जिवन्त बनाइदिन्छ।

भाषाको उत्कृष्ट प्रयोगले बुद्धिसागरका आख्यानहरु निकै सरल र सरस छन्। साथसाथै कविताहरु पनि भावले ओतप्रोत छन्। साधारण कथावस्तुलाई पनि लेखन शैलीले निकै राम्रो बनाइदिन्छ। ठेट भाषाको प्रयोगले त अझ समाज र पात्रको यथार्थ चित्रण गरिदिन्छन्। कथा वर्णन गर्ने शैलीले त झन कायल नै बनाउने गर्छ। प्रत्येक लेखले एउटा सन्तोष दिने अनि मस्तिष्कको कुनै कुनामा कौतुहलता जगाउने गर्छ।

यसरी हजारौं पाठकहरुको मन जितिसकेका बुद्धिसागर मेरो पनि मनपर्ने लेखक हुन्। उनको ‘बुद्धिसगर का कविता’ (कविता संग्रह), ‘कर्णाली ब्लुज’ (उपन्यास), ‘फिरफिरे’ (उपन्यास) सबै पढिसकेँ। अब उनको नयाँ कृतिहरुको पर्खाइमा रहेको पाठकवर्गको लामो पंक्तिमा म पनि समावेश छु।

– Sudarshan Poudel

Read More From Sudarshan Poudel:

समाजमा समानता खै? | Sudarshan Poudel

Also Read: Why Bring Politics In Environment? | Sudarshan Poudel

Why Bring Politics In Environment? | Sudarshan Poudel

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *