केही पेज जिन्दगी | Sudarshan Poudel | Nepali Story

Sudarshan Poudel
“य…… टिना फलाम बोतल कापी किताब ……. “
कस्तो कर्कस आवाज। मैले खाँदै गरेको कालो चिया भन्दा पनि टर्रो। ग्यास्ट्रिक घटाउनका लागि कालो चिया खान थालेको स्वास्थ्य त मजबुत होला स्वाद बिग्रिएर हैरान।
एउटा चुरोट सल्काउँदै थिएँ। होटलकी साहुनी चिच्याउन थालिन, ” ए भैया यहाँ आउ त किताब बोतल टन्नै छन्।”
बोतल ससांरकै अद्भुत आविष्कार जस्तै लाग्छ मलाई। भरी बोतलले कसैको रित्तो मुटु भर्छ खाली बोतलले कसैको पेट। तर किताब बेचेको मलाई मन पर्दैन। किताब पुरानो हुन्छ जस्तो लाग्दैन। अझ तौलिएर कसैको सृजना बेचेको देख्दा त झन् अच्चम लाग्छ। ती गह्रौं सोँच र शब्दहरु सायद तराजुले नाप्न सक्दैन। मनले मात्र सक्छ। त्यसैले त मनलाई सिथिल बनाएर उठ्नै गार्हो बनाउने सृजनाहरु किलोको भाउमा बेचिन्छन्।
पुरानो साईकल र झुद्रा बोराहरु सहित ऊ नजिक आयो। साहुनीले देखाएको बोतलको थुप्रोबाट झिक्दै मिलाएर बोरा भर्न लाग्यो।
“यो त एक रुपैयाँ गोटा मात्र लिन्छ हामी। सम्झनुभयो?” बोतललाई अंकित गर्दै ऊ मोल भन्न लाग्यो।
“हैन के भन्छ यो भैया! सधैं दुई रुपैयाँ गोटा बेचिराको हामी। ठग्न खोज्या हो? लाने भा’ लैजाउ दुई रुपैयाँमा नत्र तिमी जस्ता जति पनि आउँछन्।” रिस र घृणा मिसिएको त्यो आवाज अझ कर्कस थियो।
मात्र एक रुपैयाँको लागि चलिरहेको थियो त्यो संवाद। सायद त्यो एक रुपैयाँमा साहुनीले आफ्नो घरको एक तला देखिरहेकी होलिन्, अनि उसले साँझको एक छाक। आखिर दृष्टि न हो दृश्य वयान गर्ने। मेरो वुबाले सुनाइरहने कुनै हिन्दी सायरको सायरीको पनि सम्झना आयो।
“नजरे बद्ली तो नजारे बदलगए
हवाने बद्ली रुख तो किनारे बदलगए।।”
***
मेरो दृष्टि भने उसले बोकेको एउटा बोरामाथिको डायरीमा पर्यो। कालो कभर भएको डायरी टुप्पोमा अलिकति जलेको जस्तो देखिन्थ्यो। आधी कभर च्यातिएको थियो। निलो मसीले लेखिएका केही अक्षर पनि देखिए। ऊ नजिकै गएर त्यो डायरी टिपेँ। बडो आश्चर्य भएर ऊ मलाई निरिह आँखाले हेर्दै थियो। सय रुपैयाँ उसको हातमा थमाएर म आफू बसिरहेको टेबलमा गएँ।
उसको अनुहारको निरिहता कम भयो। आश्चर्य भने कायमै थियो। डायरी पल्टाएर हेरेँ। केवल चार पेज लेखिएका रहेछन्। नाम थर केही थिएन। सायद एउटा गुमनाम डायरी थियो।
डायरी पढ्न सुरु गरेँ‍…
पहिलो पेज –
भेट
अचानक साथीले तिमीसँग भेट गरायो। आँखा अगाडि बिजुली चम्केको जस्तै भयो। कुनै अलङ्कारले बाध्न नसकिने रुप अनि उस्तै मीठो स्वभाव। मलाई संगीत अझ धेरै मनपर्न थाल्यो। मान्छे प्रेममा परेपछि गीत मनपर्न थाल्ने रहेछ। त्यो प्रेम भग्नावशेष भएपछि पनि। म शान्त मान्छे, बेचैन भएँ या बेचैन मान्छे, शान्त भएँ थाहा भएन तर यति थाहा भयो कि म प्रेममा परे। भेट संगसंगै सम्बन्ध बने र टुटे पनि। सायद प्रेममा मात्र सिमित हुन्थ्यो भने यथावत रहन्थ्यो।
एक त्यो भेट अनि आजको भेट। भेट उस्तै थियो तर भावना बिल्कुलै फरक। म स्वार्थी प्रेमी हुँ। प्रेमको परिभाषामा स्वार्थको ठाउँ हुँदैन रे! कि यो झूटो हो, कि म अपवाद। म तिमीलाई मसँग भेट्दा मात्र खुशी हुन सक्छु अरुसँग देख्दा होइन। सायद तिम्रो सोँच फरक होला तर म तिम्रो सोँचभन्दा फरक मान्छे बनेँ।
तिमीलाई धेरैचोटी भेटेँ जीवनमा। कहिल्यै हिमशैल भएर बस्दा तिमीलाई घाम भेटेँजस्तै भेटेँ अनि पग्लिएर बगेँ। कहिल्यै म खहरेजस्तै बगिरहेको बेला तिमीलाई ताल भेटेजस्तै भेटेँ र एकठाउँमा जमेँ। कहिले म ‘सित’ भएर बस्दा तिमीलाई मिर्मिरे जस्तै भेटेँ र बाफ बनेर उडेँ। कहिले आकाश भएँ, तिमीलाई गर्जन जस्तै भेटेँ र बर्सिएँ। तिमीलाई आफूसँग भेट्दा खुशी भएँ अरुसँग भेट्दा दुःखी।
जीवनमा धेरै मान्छेसँग भेटेँ र अझै भेट्नेछु पनि। तर तिमीसंगको भेट विशेष भयो। बिछोड पनि विशेष भयो।
तिमी विशेष भयौ।
दोस्रो पेज-
सिकाइ
तिमी एक पात्र मलाई अनेक सिख दिने पात्र भयौ। तिमी आउँदा प्रेम सिकाउँदै आयाै जाँदा पनि प्रेम नै सिकाएर गयाै। हाम्रो छोटो कथाको सबै अध्यायमा केही न केही सिकायाै। तिम्रा सिखहरुले म सधैं उत्तिर्ण भएँ विना कुनै गुनासो। तर एउटा गुनासो भने रहने छ सधैं। तिमीले उथलपुथल पारिदिएको मनोलोकको गुनासो।
मैले जीवनको मञ्चमा मञ्चन गरेका कयाैँ नाटकहरुको दर्शक भयौ। मेरा अनेक लेख र कविताहरुको शिर्षक भयौ। तिमी प्रेमीका मात्र भएनाै गुरु पनि भयौ। औपचारिक विषयहरू पढाउने गुरु होइन जीवनको एकपाटो देख्न सिकायाै। ती देखेका कुरा लेख्न सिकायाै।
तिमी मात्र होइन तिम्रा सम्झनाहरु पनि प्रेरणाका स्रोत बनेका छन्। जब मेरा कलम सेलाउँछन म तिम्रा स्मृतिहरु केलाउँछु। केहि भावना, सोँच र समयको मन्थन पश्चात उत्पादन शब्दहरु गाँस्ने गर्छु सौहार्दपूर्ण। केही अमृत जस्तै मीठो, पुरानो समय जस्तै। कोहि विष जस्तो तीताे, वर्तमान जस्तै। सायद तिमी कलमको निममा बसेकी छौ, मुटुमा जस्तै।
तेस्रो पेज-
साथ
तिम्रो साथ पाएपछि नै थाहा भयो साथको महत्व। खडेरी लागेका खेतलाई वर्षातको जस्तै, एकान्तमा रोहिरहेको मान्छेलाई काँधको जस्तो मलाई तिम्रो साथको महत्व भयो। प्रेम काँचो थियो या म, वा समय- म छुट्याउन सक्दिन तर साथ छोटो भए पनि मीठो थियो। तिमी हुँदा तिम्रो, साथ नहुँदा याद।
तिम्रो साथ बसाईँ सरेर आएका चराहरू जस्तै बने अनि मेरो मन आशावादी सिमसार बनिरहे। तिमीभन्दा त तिम्रा यादहरु वफादार रहेछन्। तिमीले मलाई खहरेलाई वर्षामा पानीले साथ दिएजस्तै साथ दियौ तर तिम्रा यादहरुले वगरलाई ढुङ्गाले दिएजस्तै साथ दिइरहे।
चौँथो पेज-
निर्णय
आफ्नो मूल्य घट्नु दुःखको कुरा हो। तर आफू शुन्य भएरै पनि खुशी हुनुहुन्छ भने तपाईं प्रेममा हुनुहुन्छ। एउटा गन्तव्यबिहिन यात्रा र निचोड बिनाको निर्णय गर्दै हुनुहुन्छ भने तपाईं प्रेममा हुनुहुन्छ।
निर्णय र परिणाम फरक पाटोहरु हुन्। परिणामको भय बिनाको निर्णय प्रेम रहेछ। सबैभन्दा मूल्यहिन शुन्य तर शुन्य हुनुपनि सबैभन्दा गाह्रो। अझ शुन्यमा हराउने निर्णय लिन अझै गाह्रो। कताकता हराउन मन लागिरहेछ देवकोटाले भनेजस्तै सुन्तलाशुन्य बनेर, त्यसैले निर्णय लिँदै छु…..
                                                ***
चाैँथाे पेज अपूर्ण थियो। सायद कोहि चार पेजमा जिन्दगी पोख्न खोज्दै थियो। असफल भयो!
बाहिर हेरेँ।
ऊ बोतल बोकेर हिँडिसकेको रहेछ आफ्नो जिन्दगीको अरु पानाहरु पल्टाउन।
एउटा गुमनाम डायरी र कथा बोकेर म पनि हिँडे आफ्नो केही पेज जिन्दगीका पाना पल्टाउन।

 

Read More From Sudarshan Poudel:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *