पस्चिमी आकाश गुलाबी हुँदै थियो। म कानमा इयरफोन लगाएर डुल्दै थिएँ। कानमा बजेको गीत सुन्दा वाक्क लागेर आयो।
“धेरै भयो रेडियो नसुनेको रेडियो सुनम्” गीनको अन्तरा नसकिँदै मोबाइलमा रेडियो अन गरेँ।
“सामाजिक भेदभावको अन्त्य गरौँ। समाजमा एकता र समानता कायम गरौँ।’ रेडियोमा प्रचार प्रसार घन्किँदै थियो, ‘कुनै पनि आधारमा गरिने भेदभाव अपराध हो……….”
मैले सुनिरहेँ।
रेडियोको आवाज नेपथ्यमा पार्ने गरि कसैले बासुरी बजाएको सुनेँ। आवाज कानमै पर्यो।
वरिपरि हेरेँ। माथि चौतारीमा मैले एकजना युवकलाई देखें। सायद मभन्दा २-४ वर्षले जेठो थिए।
उनी बाँसुरीमा सास मात्र नभएर आत्मा भरिरहेको देखिन्थे। अलिकती उकालो चडेर उनी नजिक गएँ। उनले बजाउन बन्द गरिसकेका थिए।
म स्याँ-स्याँ गर्दै आएको देखेर उनी खिस्स हाँसे।
‘निकै सुरिलो बजाउनु हुँदो रैछ!’ मैले बिसाउँदै भनेँ।
‘जीवनमा भर्न नसकेको सुरताल बासुरीमा भर्ने गर्छु।’ उनको भाव बुझ्न नसके पनि सुन्दा सुन्दर जवाफ लाग्यो।
‘कसलाई के थाहा शान्त तलाउभित्र कति राजाहरु छन् भनेर।’
‘कुरा पनि उस्तै मीठो बाफरे!’ मैले भनेँ।
यस पटक उनले केहि बोलेनन्। फिस्स हाँसे मात्र।
‘आफै सिक्नु भा हो?’ मलाई कसोगरी कुराकानी अघि सार्नु थियो।
‘नाइ! म इन्डिया हुँदा सिकेको।’ उक्सिँदै भने, ‘रमाइलो लाग्छ बजाउन।’
‘पढ्न जानुभा हो ईन्डिया?” एक मनले धेरै नै सोध्दै छु क्या हो लाग्यो।
‘हाहा!’ पढ्ने जस्तो देखिन्छु र म?’ ठट्टा गर्दै कुरा थपे, ‘जिन्दगीको पाठशालाले एउटा प्रयोग गर्न पठाएको एउटा नौ वर्षको बच्चाले कत्तिको दु:ख सहन सक्छ भनेर।’
उनको कुरा गम्भीर हुँदै गए।
अकमक्क परेर केहि बोल्न सकिन।
केहि सेकेन्ड पछि आफैं बोल्न थाले।
‘समाजको तल्लो वर्ग कहलिने व्यक्ति हुँ म।’ आफ्नो कथा भन्न थाले उनले, ‘सानैदेखि पढ्न रुचाउँथेँ। जेहेन्दार छात्रवृति कोटाबाट पढ्थे तर छात्रवृति दिने प्रशासन प्रमुख कहिल्यै खुसी देखिँन।’
मैले ‘ए’ बाहेक केहि बोल्न चाहिँन।
‘उनीहरुको हातले खामको टुप्पो छोपेको हुन्थ्यो। मैले हातसार्नु लिनु अघि खाम टेबुलमा राख्दिन्थे।’
एक पटक लामो सास फेर्दै भने, ‘मेरा गुरुहरुले मलाई हातले पिटेको सम्झना छैन। स्यावासी दिने कुरै भएन। धेरै हेला गर्थे मलाई।’
‘घरमा भन्नु पर्छ नि।’ मैले साहस गरेर सोधेँ।
‘नौ वर्षको हुँदा आमा बित्नु भएको। घरमा आर्थिक चाप थियो। गाउँका एक दाइको सल्लाहमा भारत पुगेँ।’ विगतलाई सम्झिँदै भने, ‘धेरै होटेलहरुमा काम गरेँ। अर्को नौ वर्ष उतै बसेँ।’
‘धेरै संघर्ष रैछ।’
‘एउटा होटल खोल्ने विचार थियो। आफ्नै ठाँउमा एउटा खोलें पनि। तर विडम्बना ‘थर’ले व्यापार फस्टाउन दिएन। आफ्नै गाउँ-ठाउँमा यस्तो व्यवहार देखेर उराठ लाग्छ।’
‘ए!’
‘बुबा सधैं भन्नुहुन्थ्यो यता बसेर काम छैन। पर्दैन होटेल चलाउन। फेर्केर जा उतै लाहुर।” युवा जोस र परिवर्तनमा विश्वास राख्ने मैले बुवाको कुरा सुनिन।’
उनको कुरामा सत्यता झल्किन्थ्यो। साथै व्यथा पनि।
‘बुवाले भने झै भयो। होटलमा मान्छे आउथे। खान्थे, प्रशंसा गर्थे। तर परिचय गर्नासाथ मुख बटारिहाल्ने।’ उनी भावुक हुँदै कथामा बग्दै थिए, ‘मलाई व्यवसाय बन्द गर्न धम्की आयो। मेरो अटेरीपनको ईर्या गरेर एकदिन होटेलमै आगो सल्काइयो। आँखै अगाडी सपना खरानी भए। मेरो कारण बुबाले पनि गाली सुन्न पर्यो। केहि महिना अगाडी उनबाट बाच्न हक पनि खोसियो। अनि मलाई……”
‘त्यहि हो! ओइ! केटा हो आइज।’ अज्ञात समूह चौतारीतिर वेगमा हुलिए, ‘फेरि कसलाई ठग्दैछ त्यसले।’
म रनभुल्ल भए।
‘यो पागल हो। यही बस्छ। कहाँ तपाई यस्तो को कुरा पत्याएर बसिरा?’ ठीटामध्य अग्लोले भन्यो, ‘गिद्दी गर्छ यसले। अहिले छोइदिन्छ अनि अर्को आपत। जानु हजुर।’
“तिमीहरू पागल।” उनले गाली गर्दै कराए। मैले बल्ल उनको लुगा याद गरेँ। पछाडीबाट लुगा च्यातिएको छ। खुट्टामा चपप्ल थिएन। पाइन्ट धुलोमैलो। तर अनुहारमा आशा झल्किन्थ्यो। समानताको।
ठिटाहरुले गिज्याउन छोडेनन्।
रिसले बासुरी कम्मरमा घुसार्दै नजिकैको ढुङ्गा टिपेर उनी लखट्न दौडिए।
मेरो इयरफोनको तार उनको बासुरीमा अल्झियो र लाउड स्पिकर अन भयो।
रेडियो गुन्जिदै थियो, ‘सामाजिक भेदभाव अन्त्य गर्न पहल गरौँ………..’
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com