विश्वमा हरेक देशसँग आफ्नो मौलिक सांस्कृतिक पहिचान, भौगोलिक अवस्थिति, फरक समाजिक रीतिथिती परम्परा, भाषा र भेषभुषाहरु हुन्छ । यी सबै विषयले देशको विशिष्ट पहिचानको प्रतिनिधित्व गर्छ। देशको राष्ट्रियताको आकार र आधार निर्माणमा टेवा पुर्याउछ।
देशले अर्को एउटा पृथक सम्पत्ति बोकेको हुन्छ। बौद्धिक सम्पत्ति! यसले देशको विगत, वर्तमान र भविष्यको मार्गचित्र पहिल्याउछ। देशलाई सहि दिशामा डोर्याउने काम गर्छ।
तर नेपालमा सबै भन्दा लुट मच्चाइएको सम्पत्ति हाम्रो बौद्धिक सम्पत्ति हो।
असार २३ २०७८ मा कान्तिपुर समाचारको शिर्षकमा आँखा पर्यो “योगी नरहरिनाथका आश्रम भित्रै झन्डै ३ ट्रक किताब सडे”। देशको विशिष्ट बौद्धिक सम्पत्तिमाथि मच्चिएको यो रडाकोले देशको दुर्दशाको सपाट चित्र बुझ्न मद्दत पुर्याउछ। एउटा सच्चा राष्ट्रसन्तलाई चिन्न नसक्ने हाम्रो समाजमा देशले बौद्धिक गहना कसरी संरक्षित गर्ला ?
आशंकायुक्त प्रश्नवाचक चिन्ह ठडिनु स्वभाविक हो ।
वि.सं. २०१५ मा योगी नरहरिनाथले जम्मा गरेका सबै झोली, तमडी र थोत्रा कागजहरु सरकारले जलाउँदा तीन दिनसम्म कुहिरोमण्डल भएको थियो । योगीले सरकारलाई प्रकाशन गर्न बुझाएका २०औं हजार दस्ताबेजहरु २०२८ सालमा सिंहदरबारमा लागेको आगजनीले खरानी भएको थियो । त्यस्तै योगी नरहरिनाथको समाधी पछि सुरक्षाको नाममा उनको पुस्तकालयमा ताल्चा ठोकिएको थियो।
२०७२ साल चैत्रमा हुरीले छाना उडाएर पछी पुस्तकालय खोलियो। तर तबसम्म ८०% सामाग्री नष्ट भैसकेका थिए। यसरी शृङ्खलाबद्द देशको अमूल्य निधिमा राज्य र समाजले निरन्तर दोहन गरिरह्यो ।
बचेका अप्रकाशित सामाग्रीहरुको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा आमनागरिक र सरोकारवालाको चासोको विषयमा नपर्नु खेदजन्य छ । त्यस्तै कतिपय प्रकाशित सामाग्रीहरु पनि युवावर्गको रोजाइ र आमपहुँचमा नपर्नुले हाम्रो वैचारिक दरिद्रता र बौद्धिक हैसियत छर्लङ्ग पार्छ ।
त्यस्तै देशको सिङ्गो इतिहास बोकेको नारायणहिटी दरबार र दरबारको एतिहासिक सामाग्रीहरु: मुख्यत कागजातहरुको संरक्षण अर्को प्रमुख विषय हो । ५ लाखको वार्षिक बजेटमा ५-७ जना कर्मचारीहरु खटाएर इतिहासकै महत्त्वपूर्ण सुचनाहरुको सूचीकरण गरिनु एक उदेखलाग्दो पक्ष मान्नुपर्छ । बौद्धिक समुदायको प्राथमिकतामा पर्नुपर्ने विषयहरु पुछारमा पर्नु बौद्धिक सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउनु सहर हुन जान्छ। तर दुर्भाग्यवश कहलिएका बुद्दिजिवी नै यसमा सारिक छन्।
अझ समाजमा रहेका रीतिथिती चालचलन र यसले धानेको व्यापक संस्कृतिक महत्त्व हाम्रा बुद्धिजीवी र राज्यको आँखामा नपर्नु उराठ लाग्दो छ । मस्तिष्कमै औपनिवेश र विदेशी ज्ञानको परजीवी बनेको समाजले सङ्गै रहेको मालको चाल नपाउनु अस्वभाविक भने होइन । हाम्रो विविधतायुक्त स्थानिय ज्ञान, दर्शन, स्वविवेक र सिपको अध्ययन र परिचालनको मुद्दा हाम्रो मगजमा कहिल्यै घुसेन । समाजको नियती उसले पछ्याउँने बौद्धिक नीतिले तय गर्छ । तर जब बौद्धिक नीति नै बाहिरको कुनै शास्त्रलाई चोरी औंलाले चोरेर लाद्ने नीति बन्छ, तब समाज अभागी बन्छ ।
उदाहरणलाई आफ्नै समाज हेरौँ; आफैलाई हेरौँ !
देशका बुद्धिजीवी अनेक खेमामा बाढिएका छन् । आज हरेक राजनीतिक दल, समाजिक र निजी संस्था, एनजिओ र आइएनजिओसङ्ग आआफ्ना बुद्धिजीवी छन्। अझ अहिलेको नागरिक समाजमा उभिने हरकोही, सुचनाका सेकेन्ड हेन्ड डिलर: उर्फ बुद्धिजीवी हुन् । समूह र स्वार्थ विशेषका बुद्धिजीवी ! तसर्थ यिनीहरुको बौद्धिकता देशको बौद्धिक सम्पत्ति नभएर बौद्धिक ॠण हो ।
समाजले योगी नरहरिनाथ जस्ता गहनालाई पहिचान गर्नु र आलोचनात्मक चेत सहित स्वीकार्नु सदा फाइदाजनक रहन्छ । बौद्धिक समुन्नताले डोर्याएको बाटोले समृद्धिको यात्रा तय गर्छ ।
यसका लागि राज्य र नागरिक दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ ।
छिमेकी भारतले योग र आध्यात्मको बौद्धिक बाटोबाट देशको पहिचान स्थापित गरेको कुराको हामीलाई भान होला। यसलाई विश्वव्यापीकरण गरि आफू र आफ्नो बौद्धिक सम्पत्तिलाई सुरक्षित देखिन्छ। तर खै हाम्रो राज्यको तत्परता? खै हाम्रा बुद्धिजीवीको सामर्थ्य र इच्छाशक्ति ? किन हाम्रा बौद्धिक वर्ग सधै अरुका सिद्धान्त घोक्न र ओकल्न ताल मिलाउँछन्।
देवकोटाले त्यसै भनेका रहेनछन् “यहाँका विद्वान, अडिरका रुख । यहाँका वैज्ञानिक भुसुना ।”
सन्दर्भ स्रोत: असहमति ३, कान्तिपुर दैनिक
Read More From Suman Bhattarai:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com