कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

Suman Bhattarai
कथा खोज्न हिडेको, व्यथा टिपेर फर्किए | Suman Bhattarai

गाउँभरिका कथा खोज्न हिडेको म। गाउँभरिका व्यथा टिपेर फर्किए ।

आफ्नो कथाको पात्रमा गाउँलाई समेट्न हिडेको, उल्टै गाउँको कथामा समेटिएर फर्किए ! एउटा दोसाध लिएर फर्किए कि जीवन, जीवन हो या हो कथा ? या हो व्यथा ?

लाग्छ हामी सबै एक कथा जीवन बाँच्दै छौँ ।

यो धर्तीमा एउटा सानो गाउँ छ मैदान । एउटा मगर गाउँ । करिब सय घरको वस्ती । त्यहाँ छन् करिब ६०० जहान । हरेक एकै परिवेशमा जीवन बाँच्दैछन् । समयसँग सुखदुःख साट्दै छन् एकै ठाउँमा । र पनि सबैको कथा फरक छ  र फरक छ जीवन !

त्यहाँ ८० को हाराहारीमा पुगेको लालबहादुरको जीवन अस्ताउँदो छ । खुजुरे पसलले धानेका छन् गाउँ र आफ्नो परिवार । बढ्दो उमेर, रोग, कमजोरी र बढ्दो उधारोको समयमा गुमाएका छन् वैशालु यौवनको उदाउँदो सन्तान । उकालो चढेको पीडालाई ओराली झार्न बाह्रैमास लगाउँछन् तीनपानेको असारे झरी ! उनलाई देख्दा औसत नेपालीको जीवन देखेजस्तो लाग्छ । त्यसैले उनको कथा, उनको निजी होइन साझा हो ।

मैदानमाथि छ कर्मडाँडा । गाउँलेको भाषामा कर्मडाँडो । जहाँ घरमा भन्दा बढी समय खेतमा बिताइन्छ । गाउँमा छन् २३ वर्षीय सुर बहादुर । गाउभरिका एक्ला दमै ठीटो । धानेर बसेका छन् बाउको बिडो । थामिदिएका छन् कथित ठालुहरुको अभिमान । उद्रेको कमिजमा सिउँदै छन् सबल भविष्यको सुन्दर सपना । पानी पधेरो र भोजभतेरमा सधै एक्लिने सुरे, एक्लो बृहस्पति भएर जिउने सुर कसेको छ । गाउँलेले दिने तिरस्कार र आफ्नो माटोले दिने अपन्त्व र मायाको मिलनबिन्दु खोज्दैमा बिताउँदैछ यौवन । उसले छोएको नचल्ने पानी र चल्ने बगेको पसिनाको खोज्दै छ मूल्य । सुरबहादुरको जीवन नियाल्दा लाग्छ सुरे उत्पीडित युवाहरुको साझा चित्र हो ।

ठिक पारी छ बाहुन गाउँ भुतडाँडो । पहिलेको भुतियाडाँडो । जहाँ छन् डेढ सय घर । ती घरको संख्या डेढ सय अझै दुरुस्तै छ । तर वस्ती र रौनक सधै उस्तै नरहने । बटौली मोहले नाङ्गिएको छ गाउँ । करिब २५ घरमा मात्र जहान बाँकी छन् । साझ बिहानको बत्तिको मायाले घर छोडन नसकेका डाँडामाथि पुगेमा, घाम जुनले थामिदिएका छन् गाउँ ।

गाउँको पुछारतिर बस्छन् तारा प्रसाद बस्याल । गाउँमा फलेको अन्न पिस्ने मिल चलाएर जिविका चलाएका कर्मविर ! तर आजभोलि उनको मिल, उनको शरिरजस्तै कम चलायमान छ । समयसँगै पातलियो वस्ती, पातलियो खेतिपाती र पातलियो उनको मिलको कामधन्दा। अनि पातलियो उनको आम्दानी ।

तर पातलिदो आम्दानीमा बाक्लिँदै थिए उनका पारिवारिक समस्या । बाध्य भएका थिए उनका सन्तान भासिन मुग्लान । काखबाट फुस्केर उडेका सन्तानलाई दैवले फेरि कहिल्यै फर्किन दिएन । मिलको उपकरणमा जस्तै खिया लागेको जीवन बाच्दै छन् उनी । यो उनको कथा हो या व्यथा । कर्म हो या नियती। एकैछिन घोत्लिएर फर्किए ।

समाज र त्यहाँका कथा खोज्न र पढन निस्कँदा जीवनको अर्थ पढेजस्तो लाग्छ । लाग्छ जीवन जिउनु नै पढनु रहेछ । केही सिक्नु रहेछ । जब एकटक अडिएर समाज नियाल्न थाल्छु, लाग्छ संसार ठूलो हतारोमा छ । कहिल्यै नसिधिने चटारोमा छ । जहाँ हरकोही आफूमा व्यस्त छ । मगनमस्त छ । सबै दौडिएका छन् ।

सायद दौडिनु जीवन हो ।

त्यस्तै जहाँ कही देख्छु समाज सम्बन्धले जिवित छ । एकको भरमा अर्को जिवित छ । सबै सबैसँग आश्रति छन् । यहाँ हरकोहीसगँ गासिन सक्छ सम्बन्ध ।

एउटा सादा मुस्कानले जोडिन्छ दुई जीवन ! एउटा सानो गुनले काटिन्छ हजार बैगुन ! एउटा भेटले बद्लिन्छ जीवन । त्यसैले सायद जीवन सम्बन्ध र संयोगले जुराएको अवसर भएको होला।

त्यस्तै समाज प्रेममय छ । प्रेमको चक्रमा घुम्दैछन् सबै । एउटा अनौठो चक्र । यस्तो प्रेमको चक्र जहाँ हिजोको अनजान आजको जीवन भैदिन्छन् । आजको जीवन भोलिको अनजान भैदिन्छन् । बिपनीमा नभेटिनेहरु सपनीमा भेटिन्छन् । विगतमा भेटिएकाहरु सधै स्मृतिमा भेटिन्छन् । र जीवनबाट हराएकाहरु कुनै कविको कवितामा भेटिन्छन् ।

समाजमा अनेकन जीवन र कथाहरु छरिएर बसेका छन् । सिङ्गो पाठशाला र दर्शन बोकेका आदर्श जीवनहरु आफैमा हराउँदै छन् । जीवन जिउन चाहिने पौरख र कलाहरु हाम्रै आँखा अगाडी गौण भएर बसेका छन् । त्यसैले समाजरुपी खुल्ला किताबका पानाहरु जति पढ्यो त्यति अर्थ निस्कने रहेछ ।

 

Read More From Suman Bhattarai:

 

राजनीतिक र सामाजिक घटनाहरु नियाल्न ‘असहमति’ | Suman Bhattarai | Book Review #1

बिपिका उत्कृष्ट आख्यान ‘सुम्निमा’ | Suman Bhattarai

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *