राजनीतिक र सामाजिक घटनाहरु नियाल्न ‘असहमति’ | Suman Bhattarai | Book Review #1
लामो समयदेखि स्तम्भ लेखनमा सक्रिय “सौरभ” एउटा परिचित नाम हो। अखबारे लेखनबाट उदाएको यो नाम अहिले पुस्तकको माध्यममा चर्चामा छ। समाजमा स्थापित मानकहरु, बद्लिदो राजनीतिक र समाजिक परिस्थिति र अनेकन ट्रेन्डिङ एजेन्डामाथि गरिएका उनका खरो टिप्पणीबाट उनी चर्चित छन्।
२०४६ साल यताका उनका स्तम्भहरु नेपाली राजनीतिको केन्द्रमा रहेर लेखिएका छन् । त्यसैले अहिलेका युवावर्गले विगतका राजनीतिक र सामाजिक घटनाहरु नियाल्न उनलाई र उनका लेखहरु पढ्नु आवश्यक छ ।
केही समयअघि ‘असहमति १’ पढेर सके । सौरभको जोडदार तर्क प्रस्तुति, टिप्पणी र अब्बल लेखन शैलीले भरिएको उनको असहमतिहरुको संगालो हो “असहमती” । असहमतिमा पुरै सहमत हुन सकिएन र न हुन सकियो पुरै असहमत ! त्यसैले यसमा विमती र सम्मती दुवै छन्। यद्द्पी समाज हिडेको वैचारिक बाटोभन्दा अलग मार्ग खोज्नु आफैमा एउटा बौद्दिक साहस हो ।
नेपाली समाजमा भारतवर्ष एउटा स्थापित मानक हो । सामान्यत कर्मकाण्डदेखि धार्मिक अनुस्ठानमा नेपाल र सङ्गै जोडिएको भारतवर्षको उल्लेख गरिन्छ । यहाँका धार्मिक बुद्धिजीवी र अन्य सबैले नेपाल भारतवर्षको भाग भनेर गर्व गर्ने गरेका छन्। तर सौरभ नेपाल भारतवर्षमा नपर्ने उल्लेख गर्छन्।
उनी लेख्छन्, “आदि शन्कराचार्यले खडा गरेको चार मठहरुमध्य कुनै एउटा पनि नेपालका छैनन्। अन्यथा बद्रीनाथभन्दा अघि नै प्रसिद्द शैवतीर्थस्थल मानिएको पशुपतिनाथलाई उनले छान्नु पर्थ्यो, भारतवर्ष भित्र ठानेको भए।” (पृष्ठ ९) त्यस्तै अर्को प्रमाण स्वरुप उनी थप्छन्, “देविपुराणमा १०८ शक्तिपिठमा नेपालका कुनै पिठ पर्दैनन र ज्योतिर्लिङ्गहरुमा समेत नेपालको कुनै परेको छैन ।
त्यसैले आदिसन्तहरुले कोरेको भारतवर्षको नक्सालाई आजकाल विस्तृत गरिनु उचित नहोला ।” (पृष्ठ ९)
यसरी समाजमा गडेर रहेको भाष्य विरुद्द उनले प्रमाणिक मत दिएका छन्। यसमा सहमती जनाउने या विमती जनाउने आफ्नो ठाउँमा छ तर उनले उठाएको विषय विचारणीय छ ।
त्यस्तै विषयक्रम “समाजविज्ञान भित्रको अवैज्ञानिकता” मा उनी लेख्छन् “मदिराको हजारौं वर्षको चर्को उपयोग गैरब्राहमण वर्गको मगजको ढिलापनको उपज हो।” उनको यस तर्कमा भने सहमत हुन सकिएन । जबकी ‘ग्लोबल ड्रिंक डेमोग्राफी’ (Global Drinking Demography) अनुसार चर्को मदिरा सेवन गर्ने देशहरुमा युरोपियन मुलुकहरू अगाडी छन्। जसमध्य फ्रान्स, बेल्जियम, बेलायत जस्ता विकसित मुलुकहरु अग्रपंक्तिमा छन्। के त्यहाँका नागरिकहरु दिमागको ढिलापन लिएर बाचेका छन् ? सौरभको यस तर्कमा सत असहमति छ ।
असहमतिको सबैभन्दा बलियो पक्ष उनले राष्ट्रिय झण्डा सम्बन्धी गरेको अनुसन्धान हो । जसबाट उनले राष्ट्रिय झण्डाको सेरोफेरोमा रहेका देश अनुमान र लक्षित आरोपहरुको खण्डन गरेका छन्। प्रमाण स्वरुप ईस्वीको ६०० को मानाङ्कमा नेपाली झण्डा देखिएको कुरा एन.जी रोडको ग्यावर्स र सि भदेत्रोले क्वाइनेज अफ नेपालमा लेखेको उल्लेख गरेका छन्। त्यस्तै चन्द्र पनि भएको ईस्वीको ६०५-६१५ मा ढालिएको मुद्रा नेपाल राष्ट्रिय मुद्रा संग्राहलयमा भेटिने र ईस्वीकै ६०५ कै अर्को मुद्रामा पछाडी सूर्य र ६४१ कोमा अगाडि पछाडी सूर्य र चन्द्र भएको कुरा ग्यावर्स र भदेत्राकै किताबमा भएको उल्लेख गरेका छन्।
त्यस्तै प्रमाण स्वरुप लुम्बिनी उत्खननताका सगरहवाको स्तूप नं. ८ को पिँधमा पाइएको एउटा ईट्टा झण्डायुक्त रहेको वर्णन गरेका छन् । मल्लकालमा भवन र मन्दिरका ढोकाहरुमा दुइतर्फ दुई पाताका धातुका राजकीय चिन्ह स्वरुप झण्डा टाँगिएको मत दिएका छन् । (पृष्ठ ६०-६१)
बेलाबेला राजनीतिकरण भइरहने झण्डा विवाद सुल्झाउन यो निकै गहन मत हो ।
सौरभले नभएको किरातकालमाथि लामो लेख लेखेका छन् । किरातकाल एउटा मिथ्या रहेको प्रमाणित गर्न तथ्यभन्दा बढी अनुमान दिएका छन्।
(पृष्ठ १६०-१६६) यद्दपी किलोग्राम दङ्ग्रालाई किरातकालिन मानिएको अवस्थामा ई. ५३० को पाटन खपिन्छे, ई. ६१५ को जैसी देवलको मीन नारायणस्थलको अभिलेख, ई. ६३२ को थानकोटको अभिलेख र ई. ६४० को लगनटोल यङ्गालहिटीको अभिलेखले किरातकालको जनाउ दिन्छ ।
सौरभले पृथ्वीनारायण शाहमाथी लगाइने आरोप र दुस्प्रचारको नालिबेली निकालेका छन । उनले नाक काटेको अमानवीय कदम प्रचलित विषय हो र यदाकदा सबैले सुनिराखिन्छ तर उनले सो आरोप झुटो र मिथ्या रहेको पुष्टि गरेका छन । सो समयको जनसंख्या, अवस्था, पस्चिमाको पुर्वाग्रहको आधारमा सो बिषय कु प्रचार रहेको प्रमाणित गरेका छन । त्यसैले यसमा असहमत रहनुको कारण रहदैन ।
सौरभले डोर बहादुर विस्ट दरबारबाट परिपोषित थिए भनेर लेख्छन् । (पृष्ठ ८८)
उनको पुस्तक (फ्याटलिजम एन्ड डिभलेपमेन्ट) स्वार्थका लागि प्रोमोटेड थियो भनेर लेखेका छन्। यद्दपी उनी स्विकार्छन्, “भाग्यवादको नेपालको विकासमा बाधक रहेनचाहिँ भन्न सकिँदैन” (पृष्ठ २९)
त्यस्तै उपत्यकावासी कृषकहरुले म्याक्सवेभिएर शैली कृषि उत्पादनमा अत्याधिक परिणाम हासिल गरिएपछी औद्योगिरणमा लाग्न सजिलो हुने विषयमा जापानलाई उछिनेको तथ्य प्रस्तुत गर्दा सन्दर्भ सुचीको रुपमा “फ्याटलिजम एन्ड डिभलपमेन्ट” लाई लिन्छन्। (पृष्ठ २०५) यहि नै हो वैचारिक स्वीकारोक्ती !
यसमा सौरभ अब्बल देखिएका छन् । तर कथित विज्ञहरु सौरभको पुस्तकमा पुरै असहमत रहनु बौद्दिक हावादारी र वैचारिक दरिद्रताको पराकाष्ठा हो ।
Read More Book review from Suman Bhattarai:
Read More Book review from Suman Bhattarai: