स्वर्गको एक टुक्रा : नेपाल | समीर सापकोटा क्षेत्री

Samir Sapkota Chhetri

नेपाल

दक्षिण एसियामा अवस्थित हाम्रो देश नेपाल एक भूपरिवेष्ठित मुलुक हो । विश्व मानचित्रमा नेपाल २६°२२’ देखि ३०°२७’ उत्तरी अक्षांश र ८०°४’ देखि ८८°१२’ पुर्वी देशान्तरसम्म फैलिएको छ । विश्वको कूल क्षेत्रफलको ०.०३ प्रतिशत भूभाग ओगटेको हाम्रो देश नेपालले एसिया महादेशको ०.३ प्रतिशत र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग ओगटेको छ । नेपालको उत्तरमा चीन रहेको छ भने पूर्व, पश्चिम र दक्षिणमा भारत रहेको छ । यसरी एसियाका दुई विशाल मुलुकहरूको बीचमा रहेको हुँदा यसलाई दुई ढुङ्गा बीचको तरुल पनि भन्ने गरिन्छ । क्षेत्रफलको आधारमा भारत नेपालभन्दा करिब २२ गुणा ठूलो रहेको छ भने चीन नेपालभन्दा करिब ६५ गुणा ठूलो रहेको छ । क्षेत्रफलको हिसाबले नेपाल एक सानो मुलुक भए पनि प्राकृतिक तथा सांस्कृतिक विविधताले यो मुलुक सम्पन्न रहेको छ ।
 
नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश हो । यहाँ समुद्र सतहको ५९ मिटर देखि ८,८४८ मिटर उचाइसम्म पाइने सबै किसिमका जैविक विविधता अवलोकन गर्न सकिन्छ । यहाँको उत्तरी भेगमा सेता दन्त लहर देखाइ मुसुक्क हासेका, चादीको पर्खालझै टल्कने हिमालहरु रहेका छन् । विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा चुचुरामध्ये नेपालमा ८ वटा पर्दछन् । विश्वको सर्वोच्च शिखर सगरमाथा ( समुद्र सतहदेखि ८,८४८ मिटर ) पनि नेपालमै रहेको छ । जलसम्पदाका दृष्टिकोणबाट नेपाल विश्वमा ब्राजिलपछिको दोस्रो धनी देश मानिएको छ । यसका अतिरिक्त पहाडको काखबाट तराईतिर बग्ने ६,००० नदीनालाहरु, सुन्दर तालतलैया, रहस्यमय गुफाहरु, विश्वमै दुर्लभ मानिएका वन्यजन्तु, वनस्पति एवम् जडिबुटीले नेपालको सिङ्गो प्राकृतिक क्षेत्रको प्रतिनिधित्व गर्ने गर्दछन् ।
नेपालमा पाँच प्रकारका हावापानी र ११८ प्रकारका पारिस्थितिकीय प्रणाली रहेको पाइन्छ ।
 
नेपाल सांस्कृतिक विविधताले पनि भरिपूर्ण देश हो । यो १२५ जातजाति, १२३ भाषाभाषी र १० धर्मावलम्बीहरुको साझा घर हो । हामीहरुको आ-आफ्नै संस्कृति, परम्परा, मूल्य-मान्यता र धर्म अनुसारको चाडपर्वहरु रहेका छन् । यसरी जातीय विविधता भए पनि हामीहरु एकाअर्कासङ्ग मिलेर बस्ने गर्दछौं । कसैलाई आपत परेमा समाजका सम्पूर्ण सदस्यहरु मिलेर सक्दो सहयोग गर्छौं । यसरी हामी राष्ट्रिय एकताको भावनामा सङ्गठित छौ । त्यसैले गर्दा पनि अनेकतामा एकता नै नेपाली समाजको विशेषता बन्न पुगेको छ । ” अतिथी देवो भव: ” भन्ने मूल मन्त्र जप्दै साझमा आउने पाहुनालाई ईश्वर मान्ने हाम्रो चलन रहेको छ । नेपाली समाजको यिनै विशेषताको अवलोकन गर्न यहाँ वर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्दछन् ।
 
यस पवित्र भूमिमा गौतम बुद्धको जन्म भएको थियो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पशुपति क्षेत्र, पाटन दरबार क्षेत्र, हनुमान ढोका दरबार क्षेत्र, बौद्धनाथ महाचैत्य गरि आठ वटा सांस्कृतिक सम्पदाहरुलाई  विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
यहाँका प्राकृतिक सम्पदामध्ये, चितवन राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ । यहाँ काठमाडौँ उपत्यका, पोखरा, लुम्बिनी लगायत थुप्रै पर्यटकीय क्षेत्रहरू रहेका छन् । पदयात्रा, धार्मिक पर्यटन, साहसिक पर्यटन तथा जल पर्यटनका दृष्टिकोणले नेपाल एक महत्त्वपूर्ण देश मानिएको छ । विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैडा, पाटेबाघ, लगायत विविध जीवजन्तु, हाम्रै देश नेपालमा अवलोकन गर्न सकिन्छ । हिमाली चिसो हावापानी, हरियो पहाड र तराईको  समथर भूमिको अनुभव नेपालमै गर्न सकिन्छ । गोसाइँकुण्ड, रारा, शे-फोक्सुण्डो, तिलिचो लगायत विभिन्न सुन्दर तालहरु नेपालमै रहेका छन् । सहरिया अस्तव्यस्त जीवनशैलीबाट मुक्त बनाएर गाउँले जीवनको अनुभव गराउने किसिमको होमस्टेहरु संचालनमा ल्याइएका छन् ।
 
यसरी नेपाल सांस्कृतिक तथा प्राकृतिक दृष्टिकोणले सुन्दर र विशाल रहेको छ, जसलाई स्वर्गसङ्ग सजिलै तुलना गर्न सकिन्छ । यस्तो स्वर्गको एक टुक्रामा जन्मिन पाएकोमा मैले आफूले आफैलाई गर्व गर्ने गर्दछु र हरेक जन्म यसै पुण्यभूमिमा होस् भनी ईश्वरसङ्ग प्रार्थना पनि गर्दछु ।
 
– समीर सापकोटा क्षेत्री
 

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *