म श्रमिक र मेरो जीवन | कविता | Samir Sapkota Cheetri | काव्यकुञ्ज कविता प्रतियोगिता

श्रमले मानिस सफल हुन्छ,
सुनेको थिए मैले ।
तर
सफलता भनौ या असफलता,
यतिका दिनसम्म श्रम गरेर मैले,
चुहिने छानो फेर्न सकेको छैन,
इच्छा पुर्याउन सकेको छैन,
चाहना पूरा गरेको छैन,
मीठो खान, राम्रो लाउन,
पाएको पनि त छैन ।
दुःखी यो मनमा,
खुसीको बाढी ल्याउन सकेको छैन ।
साहुको चर्को ब्याजले
घरखेत खान लागिसक्दा पनि
यतिका दिनसम्म श्रम गरेर मैले,
ऋणसमेत तिर्न सकेको छैन ।
पोहोर साल,
उपचार नपाएर मेरा बुबाले,
प्राण त्याग्नुभएको थियो ।

आज,
बुढी मेरी आमाको
दमले सास फुलेको छ ।
उपचार नगरौँ त कसरी नगरौँ,
र गरौँ त कसरी ?
आज यो मन दोधारमा छ ।
श्रमिकहरुको जीवन,
पैसाको अभावमा बित्दो रहेछ ।
पैसाकै अभावमा हाम्रो जीवन,
दुःखको संग्रहालय बन्दो रहेछ ।

कर्ममा विश्वास गर्ने श्रमिक हुँ, म ।
त्यसैले यति धेरै कठिनाइका बिच,
जीवनबाट हार मानेको छैन ।
मेरा आशाका किरणहरु,
अझै पनि जीवितै रहेका छन् ।
आशा छ कुनै दिन,
हाम्रो पनि पालो आउनेछ,
श्रम गरेरै कुनै दिन,
सम्पूर्ण रहरहरु पूरा हुनेछन्,
घरको चुहिने छानो फेरिनेछ,
साहुको ऋण पनि अवश्य तिरीनेछ,

उपचारको अभावमा कसैले मृत्यु अंगाल्ने छैनन्,
धनी र गरीबको बिचमा रहेको,
त्यो ठूलो खाल्डो,
अवश्य पुरिनेछ,

अवश्य, एक दिन,
चारैतिर खुसीयाली छाउने छ ।

-Samir Sapkota Cheetri

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *