कतै फेरि लोडसेडिङ हुने त होइन ? | Samir Sapkota Chhetri [Offline Thinker] #1

Samir Sapkota Chhetri

Written by Samir Sapkota Chhetri

कोरोना महामारीका कारण विश्व नै प्रभावित बनेको यस घडीमा वैकल्पिक शिक्षण (Online Class)ले हल्का राहत मिलेकै थियो तर के गर्नु, कहिले शिक्षकहरुको घरमा बत्ती काटिन्छ त कहिले विद्यार्थीहरु भएको क्षेत्रमा । नेपाल टेलिकमको ई-शिक्षा प्याक लिएको पनि थिए तर के गर्नु, घरमा नेटवर्क नटिपेर बाटोतिर जान बाध्य हुन्छु । अनलाइन कक्षा पुरै पढ्न पाए त भाग्यमानी ।
 
विद्यालय तहमा अध्ययन गर्दै गर्दा, लोडसेडिङको ठूलो समस्या भोग्नुपरेको थियो । दिनको १८ घण्टासम्म पनि लोडसेडिङ हुने गर्दथ्यो । लोडसेडिङको तालिका नै बनाइएको हुन्थ्यो । आज पनि बारम्बार बत्ती जाँदै गर्दा कता कता फेरि पहिलेको जस्तै लोडसेडिङ हुने हो कि भन्ने कुराको डर लाग्छ । यसै सन्दर्भमा, सानो छँदा मैले अध्ययन गर्दै गर्दा भोगेका समस्याहरुलाई समेटेर एउटा व्यङ्गात्मक लेख तयार पारेको थिए । आजका दिनमा अनलाइन कक्षा संचालन भइरहँदा पनि समय समयमा बत्ती निभ्न गएकाले उक्त समयमा मेरो कलिलो मानसपटलमा उब्जिएका कुरालाई समेटेर लेखेको लेख सम्झन्छु । लेख यस प्रकारले सुरु हुन्छ :-
 
लोडसेडिङ
~~~~~~
‘लोडसेडिङ’ भन्ने शब्द नसुनेको व्यक्ति कोही हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईं नेपाली समुदायमा बसोबास गर्नुहुँदैन होला किनभने यहाँ ‘लोडसेडिङ’ भन्ने शब्द यतिसम्म प्रसिद्ध रहेको छ कि, विश्वका ठूला ठूला व्यक्तिले पनि त्यो स्थान प्राप्त गर्न सकेका छैनन् होला । मान्छेको त कुरै छोडौँ, राति सडकको गल्लीमा भुक्दै डुल्ने कुकुरलाई समेत यस विषयमा राम्रो ज्ञान रहेको छ । भर्खरै जन्मेका बच्चा बाहेक अन्य सबैजना यस शब्दसङ्ग परिचित रहेका छन् तर निकट भविष्यमा त भर्खरै जन्मने नवजात शिशुहरुले पनि लोडसेडिङका विषयमा जन्मजात ज्ञान प्राप्त गर्छन् होला ।
 
‘लोडसेडिङ’ भन्ने शब्द सुन्ने बित्तिकै मलाई एउटा रमाइलो घटनाको याद आउने गर्दछ । एकताका मेरी आमाले भाइलाई खाना खुवाउदै हुनुहुन्थ्यो । खाना खुवाउने क्रममा लोडसेडिङकै कारण झ्याप्प बत्ती निभ्न गइ मुखमा लैजान खोज्नुभएको हात त नाकमा पो पुग्न गएछ ।
यो त एउटा सामान्य घटना भो, कतिपय अस्पतालजस्ता महत्वपूर्ण क्षेत्रमा त लोडसेडिङले एउटा अभिशापको रुप धारण गरेको हुन्छ ।
 
नेपालको सन्दर्भमा भन्नुपर्दा, प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेको यो देश जल सम्पदाको दृष्टिकोणले विश्वमा ब्राजिलपछिको दोस्रो धनी देश मानिएको छ । यसका अतिरिक्त, यहाँका अग्ला-अग्ला पहराबाट हाम फाल्दै बग्ने छहराहरु र पहाडको काखाबाट तराईतिर बग्ने गरेका ६००० नदीनालाहरुसङ्ग ८३,००० मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता रहेको छ तर त्यसको सदुपयोग हुन नसक्नाले ती सम्भावना र क्षमता हामी नेपाली सर्वसाधारणका लागि ‘ह्लासामा सुन छ, कान मेरो बुच्चै’ बन्न पुगेको छ । यसरी जलविद्युतको निकै ठूलो सम्भावना रहेको मुलुकमा नै लोडसेडिङको समस्या उत्पन्न हुनु त निकै लज्जास्पद कुरा हो, होइन र ?
 
धरातलीय स्वरुपकै कारणले पनि नेपालका विकट क्षेत्रका लाखौ जनताहरु विद्युत सेवाबाट वञ्चित रहनुपरेको तीतो सत्य त सबैलाई अवगतै रहेको छ । यद्यपि, भौगोलिक विकटता नभइ सुगम रहेको क्षेत्रमा विद्युत सेवा त पुगेको छ तर चाहिएको बेलामा बत्ती बल्दैन । सुगम क्षेत्रमा पनि १ घण्टामै ४/५ पटक बत्ती काटिने हुदा यहाँका जनताहरु बत्तीमुनीको अध्यारोमा बस्न बाध्य छन् । यति मात्र नभइ बालबालिकाहरुले बेलुका स्व-अध्ययन गर्न पाएका छैनन् । SEE ( तत्कालीन SLC ) जस्तो महत्त्वपूर्ण परीक्षाको समयमा समेत लोडसेडिङले गर्दा नकारात्मक असर पुर्‍याइरहेको हुन्छ ।  विद्यार्थी मात्र हैन, उद्योग-धन्दा संचालन गर्ने व्यक्ति देखि लिएर सम्पुर्ण सर्वसाधारण जनताहरु यसबाट पीडित बन्न पुगेका छन् ।
 
आजको युग वैज्ञानिक युग हो । आजसम्म जेजति उपकरणहरु आविष्कार भएका छन्, ती सबै उपकरणहरु संचालनमा ल्याउनका निम्ति विद्युतको आवश्यकता पर्दछ । यस्तो युगमा आइपुग्दा पनि लोडसेडिङकै प्रतिकुल प्रभावले गर्दा यहाँका मानिसलाई ढुंगे युगको अनुभव प्राप्त भएको छ । देशमा यस्तो दयनीय अवस्था छ, नेताहरू चाहिँ आपसमा झगडा गर्दै बस्नाले, उनीहरुको त्यस विषयमा ध्यान पुग्न सकेको छैन । यदि लोडसेडिङकै कारणले उनीहरूको घरमा बत्ती नबल्ने हो भने तब मात्र उनीहरुले गरिब सर्वसाधारण जनताको पीडा बुझ्ने थिए । अझ नेपाललाई छोटो समयमै लोडसेडिङमुक्त बनाउने भन्ने उनीहरुका सैद्धान्तिक भाषणलाई व्यवहारमा उतार्न नसक्दा कैयौं वर्षदेखि चलिरहेको नेपाललाई स्वीट्जरल्यान्ड बनाउने प्रतिस्पर्धामा आजसम्म कुनै राजनीतिक दल विजयी हुन सकेका छैनन् ।
 
वास्तवमा नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेको छ तर जलसम्पदाको सदुपयोग गर्न नसक्दा लाखौ जनताका उज्यालोमा बस्ने सपना पनि नेपालका ती ६००० नदीनालाहरुसङ्गै बगेर गएका छन् । त्यसैकारणले त्यस्ता जल सम्पदाहरुको सदुपयोग गरि अधिक जलविद्युत उत्पादन गर्नतर्फ सरकारको ध्यान जान जरुरी देखिन्छ । कतिपय युवाहरु स्वदेशमै रोजगारी नपाएर विदेशीनु परेको र अन्त्यमा बाकसमा उनीहरुको शव नेपाल भित्रिने गरेको तीतो यथार्थ हामीलाई अवगतै छ । त्यस्ता युवाहरू देशका स्तम्भ हुन् । उनीहरुलाई स्वदेशमै जलविद्युत सम्बन्धी तालिम दिइ दक्ष जनशक्तिको व्यवस्था मिलाउन सरकारले कदम चाल्नुपर्ने देखिन्छ ।
 
यसका अतिरिक्त, सरकारले बजेट विनियोजन गर्दा जलविद्युतको क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ । सबैका लागि निशुल्क र अनिवार्य शिक्षाको व्यवस्था मिलाइ सबै नागरिकलाई शिक्षित बनाउनुपर्ने अवस्था देखिन्छ किनभने अशिक्षित व्यक्तिले बगिरहेको खोलामा पानी मात्र देख्दछ । उसलाई बगिरहेको खोलाको महत्त्व थाहा हुदैन तर एक शिक्षित व्यक्तिले उक्त खोलामा बगिरहेको पानीसङ्गै विद्युत बगिरहेको महसुस गरिरहेको हुन्छ । साथै ‘एक हातले ताली बज्दैन’ भन्ने भनाइलाई आत्मसात गर्दै अन्धकाररुपी लोडसेडिङको समस्या हटाउनका लागि हातमा हात र काधमा काध मिलाइ  सबै नेपाली एकजुट हुन जरुरी छ ।
 
लेख लेख्दा-लेख्दै पनि रातको दस बजिसकेको रहेछ । आश्चर्य नमान्नुहोस्, मैले घडी हेरेको पनि छैन तर जब मैले यो लेख लेख्दै थिए तब पनि लोडसेडिङकै समस्या भोग्नुपरेको थियो । यो लेख तयार गर्दागर्दै झ्याप्प बत्ती निभ्यो । मैले हत्तपत्त टर्च लाइट बालेर लोडसेडिङ तालिका हेर्ने जमर्को गरे । तालिकामा लेखिएको थियो –
 
सोमबार – राती १० बजेदेखि ११:३० बजेसम्म
 

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *