दुई दाजुको बीचमा बसी,
सेता दाँतका लहर देखाइ,
हासिरहेको थिए म कान्छो भाइ।
तर,
हे माइला दाजै,
तिमीले गर्दा आज त्यो हाँसो,
आशु बनिरहेको छ ।
हे माइला दाजै,
उहिले बाबुबाजेको पालामा,
कान्छो भएरै होला,
अंश पनि कम पाएको थिए ।
र पनि म खुसी नै थिए ।
तर तिमी खुसी थिएनौ ।
तिम्रै खुसीका लागि मैले,
आफ्नो अंशको केहि भाग छोडेँ,
हाम्रो सिमानामा पर्खाल पनि लगाइन ।
तर त्यसको बदलामा तिमीले,
आज मलाई बाटो छेक्छौ?
नुन, तेल रोक्ने धम्की दिन्छौ?
मेरा सन्तानलाई दु:ख दिन्छौ?
मेरै वीर सपूतहरु आफ्नो सुरक्षामा खटाउछौ?
मेरै बारीको जडिबुटी लगेर मलाई नै व्यापार गर्छौ?
तर आज म चुपचाप सहेर बसिरहेको छु ।
तैपनि किन आज मलाई मेटाउन खोज्दै छौ?
हे माइला दाजै,
आजसम्म तिमीले जति दु:ख दियौ,
म चुपचाप सहेरै बसेँ ।
तर
अबका तिम्रा अत्याचार,
कदापी सहने छैन् ।
त्यसैले अब तिमी होसियार रहनु,
नत्र,
पीडाले भरिएको यो मेरो मन
थामिने छैन् अब ।
क्रोधको ज्वालामुखी विष्फोट हुनेछ,
र
सदा सदाका लागि मेटिनेछ
हाम्रो रगतको सम्बन्ध ।
-Samir Sapkota Chetri
Photo by shubham sharma

