म खोजिरहेछु आफै भित्र एउटा बुद्ध |Nepali Poem | Rupa Thapa

gautam buddha

म खोजिरहेछु आफै भित्र एउटा बुद्ध
म सोधिरहेछु आफ्नै मन मस्तिष्कलाई
म भित्र छ कि छैन एउटा बुद्ध

सारा सुख सुविधा त्याग्न सक्ने त्यो त्याग शक्तिलाई
अंगाल्न सक्ने शक्ति छ कि छैन मभित्र
रिसका अंगारहरुले जलाउँदा मलाई भित्र भित्रै
हिऊ बनेर चिस्याउने त्यो शक्ति छ कि छैन मभित्र
निभ्न खोज्दा आफ्नै हृदयका ज्ञानका ज्योति
त्यो ज्योतिलाई बाल्न सक्ने शक्ति छ कि छैन म भित्र

फगत हाड र छाला भित्र थुप्रिएका मासुका डल्लाहरू
मेरा वरिपरि बुनिएका ती मायाका जालहरुलाई
तोडेर हिड्न सक्ने त्यो शक्ति छ कि छैन मभित्र
म गर्दैछु प्रश्न आज आफैलाई
आफनै हृदयलाई नढाटिकन जवाफ दिन सक्ने
त्यो सत्यता छ कि छैन मभित्र

खोजे त भेटिएलान् यहाँ बुद्ध पनि
तर मैले मभित्र एउटा बुद्ध भेट्छु कि भेट्दिन
उम्केला कसरी बाजको त्यो पन्जाबाट
निरही त्यो सानो कुखुराको चल्ला
उम्केला कसरी बाघको त्यो पन्जाबाट
निरही त्यो हरिणको बच्चा
पढाउँछु कि पढाउदिन मैले मभित्रको बुद्धलाई
शान्तिका ती पाठहरू
चितामा सेलाउनुभन्दा अगाडि नै
सेलाउछन् कि सेलाउदैनन् म भित्रका अहंकारहरू
जसले रोकिरहेछ मभित्रको बुद्धलाई भेट्नलाई

काँडाहरू पन्छयाउदै जाँदा
हातमा अनि पाउभरि बिझाउने ती काँडाहरुलाई झेल्न सक्ने
त्यो सहनशक्ति छ कि छैन मभित्र
मैले खोजेको मभित्रको एउटा बुद्धसँग
घाएल भई छट्पटाउदा मानव ह्रृदयहरू
मल्हम लगाउने शक्ति छ कि छैन मसँग

कोर्दै छु म, मभित्रका सरल रेखाहरू
जसलाई जोडेर म बनाउन चाहन्छु एउटा बुद्ध
जसमा भर्नेछु म सेता टक्कर फूलका रङहरू
जहाँ उडने छन् पखेटा फिजाएर सेता परेवाहरू
झुसिल्किराबाट भर्खरै पुतली बनेर उडेकी
त्यो सेतो पुतली फेरि नाच्नेछे सेतै गुलाफका फूलहरुसँग

ऐनामा स्पष्ट देखिएको आफ्नै अनुहारसँग
म सक्छु कि सक्दिन भन्न खोज्दैछु म एउटा बुद्ध
जसलाई भेटनु छ मैले आफैभित्र
एउटा उज्यालो दियो बनेर
जो बल्दा बल्दै रितिन्छ
फेरि पनि कुनै गुनासो गर्दैन
त्यहि उज्यालो बत्ती बनेर आफैलाई जलाउन सक्ने
त्यो इच्छा शक्ति छ कि छैन् मभित्र ।

-Rupa Thapa

Image by (El Caminante)

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *