आपनो के र ? देश बाहेक | Poem by Chhiring Sherpa Abiral

म सङ्ग धेरै
सपनाहरू छ्न्
जो म निदाए पछि देख्छु
म सङ्ग धेरै
आशाहरु छ्न्
जो म राम्रो सपनाको गर्छु
म सङ्ग अनगिन्ती
भरोसाहरु छ्न्
जो जहिले पनि टुट्न सक्छ
सपना आशा अनि भरोसा
सिसा जस्तै लाग्छ
सकभर बचाउने कोशिश गर्छु
अह ! सक्दिन

म आफ्नै धरतीमा उभिरहेको छु
म आफ्नै आगनमा खुशी रोपिएको छु
म आफ्नै फुलहरु हेरिरहेको छु
म आफ्नै सडकमा कुदिरहेको छु
के सबै यी आपनो हुन त ?
आफू उभिएको धरतीमा
अरु नै आउँछ र घर बनाउछ
आफूले रोपेको खुशी
अरु नै आउँछ र टिपेर लान्छ
आफूले हेरिरहेको फूल
अरु नै आउँछ र कुल्चेर जान्छ
आफू कुदिरहेको सडकमा
अरु नै कसैले पर्खाल लगाउछ
म त फगत सपनामा अल्झिएको रहेछु
महसुस गरिरहेको छु
जिन्दगी त सपनाको एक खण्डाहार रहेछ ।

म जो पलंगमा निदाउछु
त्यो अर्कैको थियो
म जो भित्ताहरुमा पोत्छु
त्यो अर्कैको थियो
म जो झ्यालहरु नियाल्छु
त्यो अर्कैको थियो
भने पछि
रातका सपनाहरू पनि
पक्कै मेरा थिएनन
अरु नै कसैको हुनुपर्छ !

मेरा हातहरुले
अरु नै स्पर्श गर्छन्
मेरा शरिरका छालाहरु
अरु नै महसुस गर्छन्
यी मेरा एक जोर आँखाहरु
अरु नै हेरिरहेका हुन्छन्
मेरा कानहरुले
अरु कै कुरा सुन्छन्
मेरो यो मन
अरु कै लागि हराउँछ
याद अरु कै गर्छ
आखिर आफ्नै शरीर त अर्काको रहेछ नि !
आफू नियाल्न त ऎना हेर्नुपर्छ
तर ऎनाको के भर
सपना, आशा र भरोसा जस्तै
जहिले पनि टुट्न सक्छ
ऎना जिन्दगी जस्तै लाग्छ

तर म चाहन्छु
आफू आपनो नभए पनि
मेरो माटो कहिल्यै अर्काको नहोस्
मेरो देश कहिल्यै अर्काको नहोस्
देश बाँचे हामी बाच्छौ
पुर्खाले यहि सिकाएका छन् ।
म मरे पनि मेरो देश बाचिरहोस्
पूर्खाले यही गाएका छ्न् ।

-Chhiring Sherpa Abiral

 

Photo by Prasesh Shiwakoti

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *