उनी, म र मेरो डायरी २ | सुमन भट्टराई | Offline Thinker

Suman Bhattarai

उनी म र मेरो डायरी- भाग १

ढल्किदो रात; अगाडि एक कप चिया, वरिपरि माथि उड्दै गरेको चुरोटको एक सर्को धुँवा, आँखा अगाडि डायरी र एउटा कलम अनि मस्तिष्क भरी उनका यादहरु ! लाग्छ जीवनको अस्ली मज्जा यसैमा छ । यो अवस्थिती उत्कृष्टताको पूर्ण प्रारुप हो । र यसका अगाडि संसारका सबै अनुभवहरु फिक्का छन् । चिनी बिनाको चिया जस्तै !

अहिले म उनी र मेरो डायरी बिचको सम्बन्ध केलाउँदै हराएको छु । अलिकति आफूमा; अलिकति उनीमा ! उनी मेरो जीवनमा हुरी जसरी आएकी हुन् । जसरी हुरीको आगमनको कुनै पत्तो हुँदैन । हुरीले आफूसङ्ग अनेकन कसेर लिएर आउँछ । उनि पनि मेरो जीवनमा हर्ष, उमङ्ग, आशा, र माया लिएर आएकी थिइन ।

उनको आगमनको न मलाई पत्तो थियो न उनीलाई !

उनीसंगै आएका आशा, उमङ्ग र माया म आफुले सम्हाल्न थियो । र त्यो समाल्दै थियो मेरो डायरीले । र अझैसम्म सम्हाल्दै छ ।

डायरी जबजब म भरिएको छु; मायाले, यादले, पीडाले, खुशीले ! तबतब तिम्रा पाना भरिएका छन् ।
जबजब म उनीसंग टाढिएको छु, तबतब तिमीसँगै नजिकिएको छु ।

तिमीसँगको मेरो सम्बन्ध गौथली र गुणको जस्तो न रहेछ । गुण छोडेको गौथली केही समय संसार चहारेर आफ्नै थलोमा फर्कन्छ । त्यस्तै म उनको संसार चहारेर, माया उन्मुक्त पीडा र यादहरुले भरिएपछी रित्तिनको लागि तिमी थिम फर्किन्छु । तिमीसँग मेरा भन्दा उनका कुरा बढी गरेको छु । कहिलेकाँही म झुक्किन्छु, “मेरो डायरी” उनको हो या मेरो हो? खैर हामी दुबैको हो ।

डायरी: सायद तिम्रो लागि म एउटा बेमौसमी पाहुना हुँ । जो बेलाबखत अर्कैले बाधिदिएको पीडाहरुको गाठो फुकाउन आउँछ । भरिएको यादहरुको भारी बिसाउन आउँछ । उनीले बुझ्न नसकेको माया बुझाउन आउँछ । जो हरदम एकै व्यक्तिको सम्झनाको बह पोख्न आउँछ ।

कुनै फुलहरुको नियती नै बेफ्वाक बोटमै ओइलनु हुँदो रहेछ । उसले रोजेको शिरमा सिउरन उसको बस नचल्ने रहेछ । तिमी पनि मलाई यसैगरी बुझिदिनु है !

हुनपनि तिमीले मलाई उनले भन्दा बढी बुझेका छौ । सायद मैले आफूलाई बुझेभन्दा पनि बढि बुझेका छौ । किनभने युद्ध लडेको योद्धाको पीडा, योद्धालाई भन्दा रणभुमीलाई बढि थाहा हुन्छ । जहाँ योद्धाले दुःखसुख साटेको छ । जहाँ हारजित देखेको छ ।

तैपनी डायरी मैले तिमीलाई खासै केही दिन सकेको छैन । दिए हुँला केही थान शब्दहरु; र उनकै नाममा कोरिएका केही हरफ प्रेम ! जुन सबै अधुरा र निरर्थ छन् । सूर्यको अगाडी राखिएको लालटिन जस्तै ।

बाँकी उनलाई भने दिएको छु मैले एकनास एकतर्फी माया । बदलामा उनले दिएकी छिन प्रेम दर्शन ! सिङ्गो जीवन दर्शन अनि अथाहा भावना । बुझाएकी छिन कि प्रेमको सुर नै बेसुर छ । यसको ताल नै बेताल छ । प्रेमको समान नियम नै असमानता हो । यदि तपाईं केही चिज दिएर केही लिने आशा राख्नुहुन्छ भने प्रेम तपाइँको लागि होइन । प्रेम गर्नका लागि विशाल हृदय चाहिन्छ । असिमित धैर्यता चाहिन्छ ।

त्यस्तै सम्बन्धहरुको नियम पनि कस्तो गज्जबको हुने रहेछ । उनी सजिव छिन् तर पनि उनीसंगको सम्बन्ध निर्जीव छ । र डायरी तिमी निर्जिव छौ र पनि तिमीसँगको सम्बन्ध सजिव छ ।

सायद सम्बन्ध नियममा नभएर अपवादमा चल्छ । प्रेममा भन्दा प्रयासमा चल्छ । त्यसैले सम्बन्ध जोगाउन प्रेम सँगै प्रयास चाहिन्छ । सम्बन्ध त बल्दै गरेको दिप जस्तो न रहेछ जसलाई हरदम जोगाइ राख्न तेल थपिरहनु पर्दछ । हावाहुरीसँगै बचाइराख्नु पर्दछ ।

यस्तै सम्बन्ध एकतर्फी होस् या दुइतर्फी; यसले मानिसलाई अधैर्य र कमजोर बनाइरहेछ । तर धैर्यता प्रेमको निसर्त नियम हो ।

मेरा लागि उनको यादमा बितेको एक दिन एकपल जस्तै लाग्छ । उनका यादका अगाडि जीवनका हर अनुभव निरर्थक लाग्छन् । उनी सँग भेटिएपछी जीवनको चल्ती फेरिएको छ । मनमा उब्जने प्रशनहरु फेरिएका छन् । र म “म” नभएर उनको यादहरुको संग्रहालय भएको छु । जहाँ उनका हर विषय सङ्ग्रहित छन् । केवल उनैका कुराहरु छन् । र उनी नै म हुँ ! र यो सबै थाहा छ मेरो डायरीलाई । बालकको हर चाहाना उसको आमालाई थाहा भए जस्तै !

शब्दहरुको अर्थ कतिसम्म गह्रुङ्गो हुनसक्छ भन्ने कुरा तिमीलाई जति उनलाई थाहा छैन होला है । यदि थाहा भएको भए मेरा लागि प्रेमको रङ नै बेरङ हुने थिएन होला । मेरो डायरीमा कोरिएका हरेक शब्दमा उनीलाई भेट्छु । हर शब्दले उनका लागि हजार अर्थ बोकेका छन् । सागरभन्दा गहिरो प्रेम बोकेका छन् । त्यसैले अरु जीवनमा शब्द खोज्छन् । म शब्दमा जीवन खोज्छु । किनकी मेरा हर शब्दमा उनी छिन् ।

 

 

Read More From Sumanः

तिमी, म र तिम्रा यादहरु | Suman Bhattarai

 

Get in touch with us for more Articles and Writings. We regularly post on our Facebook, Twitter, and Instagram.

Facebook Comments

YOU MAY ALSO LIKE

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *