असल नेतृत्व गर्न चाहिने ५ खुबी | Sudarshan Poudel

Sudarshan Poudel

विभिन्न लेखकहरुको नेतृत्वको परिभाषा पढ्न पाइएता पनि वास्तविकतामा असल नेतृत्वको खडेरी लागेको राष्ट्र हो नेपाल। असल नेतृत्व गर्न आफ्नो व्याक्तित्व विकासका साथै विभिन्न गुणहरुको संमिश्रण हुनु आवश्यक छ। प्रलोभनमा पारेर भिड जम्मा गर्ने अनि कुनै वर्ग वा समुहको  नेता बन्ने परम्परागत नेतृत्व शैलीले नेतृत्व र राष्ट्र दुबै असफल भएको छ।

इमानदार अनि असल चरित्र, लक्ष्य निर्धारण गर्ने क्षमता, उत्तरदायित्वको भवना, अध्ययनशील स्वभाव लगायत अभिप्रेरित गर्ने जस्ता क्षमता भएको व्यक्तिबाट असल नेतृत्वको अपेक्षा गर्न सकिन्छ।

 

१. चरित्र

चरित्रवान नेता सधैं असल कहलिन्छ। इमान्दार अनि असल चरित्र भएको नेता जनप्रिय हुन्छन्। आफ्नो चरित्र असल राख्ने, इमान्दार र आदर्शवान नेतृत्व सबैको आशाको केन्द्रविन्दु हो। असल चरित्रसंगै आचार भ्रष्ट नहुने विश्वास बढ्ने हुनाले पनि आफ्नो लक्ष्य प्राप्तिको सम्भावना प्रवल हुन्छ।

चरित्र निर्माणमा खर्चिएको समय र अध्ययनले नेतृत्वकला सुधार्न सहयोग गर्छ। सबैलाई समान ठान्ने, सम्मान गर्ने अनि समाजका समस्या उत्त्खनन गरि समाधान गर्ने इमानदार नेताको ध्येय हुन्छ। चरित्रवान नेताका अनुयायीहरु पनि सकारात्मक नै हुन्छन्। आफ्नो कर्मप्रति आस्था राख्ने असल चरित्रको धनी नेतृत्व नै राष्ट्रनिर्माणको प्रथम आवश्यकता हो।

 

२. लक्ष्य निर्धारण

आफ्नो पछि दौडिरहेको  लक्ष्यबिहिन भिडभन्दा लक्ष्य निर्धारण गर्ने क्षमताबाट असली नेतृत्व गर्ने व्यक्तिको पहिचान हुन्छ। समयसापेक्ष निर्णय गर्ने क्षमता भएको व्यक्तिको नेतृत्व सधैँ  सफल हुन्छ।

लक्ष्य निर्धारण पछि हिड्ने बाटो प्रष्ट हुन्छ। निर्णय गर्न नसक्ने र लक्ष्य निर्धारण गर्ने पक्ष कमजोर भएको व्यक्तिको नेतृत्वको कुनै भविष्य हुँदैन। उसले अगुवाइ गरिरहेको वर्ग पनि सधैँ अन्धकारमा रुमलिरहने पक्का छ। आखिर उद्देश्यबिनाको मानिस हाड मासुको थुप्रो न हो। उसको नेतृत्वको गति के हुन्छ होला?

असल र स्पष्ट लक्ष्य नभएसम्म गणतान्त्रिक नेतृत्वको भविष्य अन्धकार नै हुन्छ। सत्ता आफ्नो हातमा भएपनि सदुपयोग चाहिँ हुँदैन। नेपाली जनताले भोगिरहेको नेतृत्व पनि लक्ष्यबिहिन अल्मलिरहेको नेतृत्वको ज्वलन्त उदाहरण हो।

 

३. उत्तरदायित्वको भावना

जुन कुरा हामीले भोगिरहेको नेतृत्वमा छैन त्यो असल नेतृत्व गर्न अत्यन्तै आवश्यक छ। त्यो हो उत्तरदायित्वको भावना। आफ्नो काम प्रतिको जिम्मेवारी बोध गर्ने  खुबी सबैभन्दा लोकप्रिय खुबी हो। आफ्नो कामको प्राथमिकता निर्धारण गर्ने र इमान्दारितापूर्वक आफ्नो काम गर्नु उत्तरदायित्वको भावना हो।

एक असल नेता कहिल्यै आफ्नो जिम्मेवारीबाट पर सर्दैन। आफुले नेतृत्व गरिरहेको समूहको मर्म, ईक्षा, आकाङ्क्षाहरु बुझेर सबैप्रतिको आफ्नो उत्तरदायित्व बोध गर्न सकेमा एउटा नेता असल तथा सफल नेता बन्न सक्छ। यो भावनाले लक्ष्यप्राप्तिमा पनि ठूलो सहयोग गर्छ। समग्रमा भन्नुपर्दा कामप्रति विश्वास गर्ने नेता सबैको खोज हो।

 

४. अध्ययनशील

प्रत्येक दिन केही नयाँ सिक्न सकिन्छ। अध्ययनको सिमा कहिल्यै अन्त्य हुँदैन। नेतृत्व गर्ने सोच भएको व्यक्ति अध्ययनशील हुनुपर्छ। यो स्वभावले समस्याको समाधान गर्न र निर्णय गर्नमा सहयोग गर्छ।

संसारका सुप्रसिद्ध नेताहरु पनि असल नेतृत्वकोलागि अध्ययन अत्यन्तै आवस्यक भएको बताउँछन्। अध्ययनशील स्वभावले व्यक्तित्व विकासमा पनि मद्दत गर्छ। कुनै नवीन विचार र योजना निर्माण गर्न र कार्यशील हुनपनि अध्ययनले सिकाउँछ। माटो सुहाउँदो योजना निर्माण र कुशल कार्य सम्पादनको गुण बढाउने हुँदा अध्ययनशील व्यक्तिभित्र एउटा असल नेता पनि हुर्किरहेको हुन्छ।

 

५. अभिप्रेरित गर्ने क्षमता

असल तथा सफल नेतृत्व गर्ने व्यक्तिले आफ्नो विचारहरुद्वारा अरुलाई अभिप्रेरित गर्न सक्नुपर्छ। आफ्ना विचारहरुप्रति अरुलाई विश्वास  दिलाउन सकेमात्र त्यो भीडले नेता स्वीकार गर्छ।

आफ्नो प्रभावकारी संचार सिपद्वारा अरुलाई अभिप्रेरित गर्ने क्षमता एउटा कुशल नेताको क्षमता हो। चर्को भाषण र आलोचनात्मक शब्दहरुको जाल प्रस्तुत गर्न भन्दापनि आफ्नो विचार प्रस्तुत गर्न सक्नु र विस्वस्त पार्नु नेतृत्व गर्न नभइ नहुने खुबी हो। यो क्षमताले आफ्नो मात्र नभइ आफुले नेतृत्व गरेको समूहको मनोबल बढाउन समेत मद्दत गर्छ।

 

यी सबैको ज्ञान र क्षमता हुँदा हुँदै पनि समाजको बौद्धिकवर्ग सामाजिक संजालमै व्यस्त छ। सधैँ गुनासो पोखेर आक्रोश देखाउनुभन्दा नेतृत्वकला विकास गरि युवाहरूको भीड नेतृत्वमा आउनु आवश्यक छ।

असल र इमान्दार नेतृत्वबिना विकास र सुधार हाम्रालागि “आकाशको फल आँखा तरि मर” भने झैँ हो।

केही सुधारको अपेक्षा गर्ने हो भने हामीले आफ्नो नेतृत्व बुद्धिमानीपूर्वक छान्नुपर्छ।

कि असल नेतृत्व छानौँ कि असल नेता बनौँ।

 

Read More From Sudarshan Poudel:

When anyone says, ” I don’t like Nepal”. Should we think, what had made him feel that way or should we sharpen our khukuris to chop him off? I will prefer to seek those weaknesses and improve them. Am I anti-National?…..Continue

Toxic Nationality Or Noble Patriotism? | Sudarshan Poudel

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *