वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको चुनौती | Samrachana Dahal

samrachana Dahal Offline Thinker

नेपाल आमाको आर्थिक स्थिति सुधार गर्ने सहकारी
यसको ज्ञान लिएमा हुन्छ है निकै प्रभावकारी!”

सहकारीले सामाजिक र आर्थिक पक्षमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। समाजको सामुदायिक एकतादेखि लिएर राष्ट्रको स्तर उन्नतिका लागि सक्रिय रही आएको सहकारी बैंक पछिको दोस्रो महत्वपूर्ण वित्तीय संस्था हो।

वास्तवमा, अर्थपूर्ण ढंगले सहकारीलाई के भनिन्छ त?

कुनैपनि सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक वा साझा लक्ष्य राखेका व्यक्तिद्वारा स्थापित वित्तीय संस्थालाई सहकारी भनिन्छ। यसले सबैका लागि एक र एकका लागि सबै भन्ने उद्देश्य राखेर कार्यविधिको थालनी गर्छ। नेपालको परिप्रेक्ष्यमा सहकारीको स्थापना हाम्रो यस विकासोन्मुख देशलाई आर्थिक रूपमा सबल बनाएर देशको उत्थानका लागि भएको हो भन्ने बुझिन्छ।

एउटा राम्रो फूलमा किरा लागेझैँ धेरै महत्व बोकेको सहकारीमा अहिले कयौं चुनौती र समस्याहरू देखा परेका छन्। देश संघियता कार्यान्वयनमा गइरहेको परिप्रेक्ष्यमा यस्ता समस्याहरूलाई केलाउँदै यसको नियमन र व्यवस्थापनमा संवेदनशील हुनुपर्ने देखिएको छ।

त्यसैगरी, यसले सामग्री उत्पादन गर्न, घरेलु उद्योग सञ्चालन गर्नदेखि आम जनताको आर्थिक स्थिति मजबूत बनाई समाज रूपान्तरण तर्फ सघाउ पुर्याउँछ।

नेपालमा अनौपचारिक रूपमा भने ढुकुटी, पैँचो, भकारी, गुठी जस्ता चलनको माध्यमबाट सुरुवात भएको जनविश्वास रही आएको छ। औपचारिक रूपमा चितवन जिल्लाको शारदा नगरमा वि.सं. २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्थाको स्थापना गरियो! त्यसयता नेपालमा कयौं सहकारीहरु स्थापित भइसकेका छन्। मुलुकमा कूल गार्हस्थ्य उत्पादनको क्षेत्रमा समेत अहिले सहकारीले ६% योगदान दिँदै आएको छ। अहिले करिब ३५ हजार जति सहकारीहरु छन् र त्यसलाई सक्रिय बनाउन ६३ लाख हाराहारीका सदस्य छन् ।

सहकारीको महत्वको बारेमा जति चर्चा गरेपनि अपुग नै हुन्छ । सहकारीले महिला सशक्तिकरण, सामाजिक एकीकरणमा सघाउ पुर्याएको छ। यसका साथै यसले सदस्यहरूको ससाना पूँजी संकलन गरेर व्यवसाय सुरु गर्नका लागि तयार पारेको छ। के खाउँ, के लाउँ भनेर दुई छाक टार्न धौधौ परेकालाई यसले मद्दत गरेको छ। तर, एउटा राम्रो फूलमा किरा लागेझैँ धेरै महत्व बोकेको सहकारीमा अहिले कयौं चुनौती र समस्याहरू देखा परेका छन्। देश संघियता कार्यान्वयनमा गइरहेको परिप्रेक्ष्यमा यस्ता समस्याहरूलाई केलाउँदै यसको नियमन र व्यवस्थापनमा संवेदनशील हुनुपर्ने देखिएको छ।

सहकारीमा आइलागेका चुनौती र समस्याको कुरा गर्नुपर्दा सर्वप्रथम अत्यधिक संघ संस्थाको विस्तार, दोहोरो सदस्यता, राष्ट्र बैंकको नियन्त्रण नहुनु, वित्तीय अनुशासनको कमी आदि पर्छन्। साथै सहकारीमा सिद्धान्त र कर्तव्यबोधको कमीले गर्दा पनि कयौं समस्याहरू भित्रिएका छन्। आफ्नो काम, कर्तव्य, अधिकार के हो भन्ने कुराको पहिचान नगरी सञ्चालकहरु निर्धक्क भएर बस्छन् जसका कारण केही सानोतिनो समस्या देखा पर्नासाथ उनीहरू भाग्छन्।

सहकरी भनेको एउटा स्वतन्त्र र  स्वनियमित संस्था हो जहाँ आफ्नै हिसाबले नीतिनियम बनाएर काम गर्न सकिन्छ तर विडम्बना, कतिपय सहकारी संस्थामा प्रभावकारी नीतिनियम बनेको हुँदैन। त्यसैकारण त्यहाँ लगानी गर्ने सदस्यहरू पनि मर्कामा पर्दछन्। अझ, अर्को मुख्य चुनौती भनेको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई सहकारीले बचत तथा ऋण कारोबारमा बढी ध्यान दिएको पाइन्छ।

त्यतिमात्र कहाँ हो र?

विप्रेषण कारोबार, चक्रवृद्दी ब्याज असुली, अनावस्यक विषयहरू थोपरेर चर्को ऋणको शुल्क तिर्नु पर्ने कुराहरु भने सर्वसाधारण जनताका निम्ति धान्न नसक्ने चुनौतीको रूपमा खडा भएको छ। अझ, अहिलेको अवस्थालाई नियाल्दा त चौंथो आँखा मानिने मिडियाद्वारा एउटा सहकारीको नराम्रो पक्षलाई समेटेर भए नभएका विषयलाई लिएर नचाहिँदो अफवाह फैलाउने गरिन्छ जसका कारण आम जनताबाट सहकारीप्रति सदाका लागि विश्वास हटेर जान्छ । यसकारण राम्रो सहकारीलाई ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। कार्यक्षेत्र भन्दा बाहिर कारोबार, साधारण सभाको निर्णय बिना सञ्चालक र कर्मचारीले पाउने पारिश्रमिक तलब निर्धारण र वितरण आदि क्रियाकलापले गर्दा अधिकांश सहकारीको इमानमा प्रश्न चिन्ह खडा भएको छ।

अहिले अरूको हुटहुटीमा लागेर र आफ्नै नातेदार, इष्टमित्र, छरछिमेक, साथीभाइ, आफन्त आदिले खोलेको भन्दै जनताले भरपर्दो र पहिलेदेखि कारोबार गर्दै आएको सहकारीबाट सदस्यता फिर्ता लिन्छन् र सोही नातेदारहरूको सदस्य बनेर विश्वास गर्छन्। त्यो विश्वासको फाइदा उठाउँदै ती राम्रा सोचिएका आफ्नाहरू पैसा लिएर कुलेलाम ठोक्छन् । अहिले भन्नुपर्दा यो जनतालाई आवश्यक चेतना, ज्ञान र शिक्षा प्रदान गर्नु भनेकै एक प्रकारको चुनौती भएको छ।

सबै सहकारीहरु ठग्ने मनसायले बनेका हुँदैनन् भन्ने कुराको चेत जनतामा हुनु अपरिहार्य देखिन्छ । सबै सहकारीहरुमा खोट हुने भए किन मानिसहरू त्यति धेरै लगानी गर्छन् त? तर, भनिन्छ नि एउटा कुइएको आलुले बोरामा भएका सबै आलुलाई बिगार्छ। हो, सोही भनाइ अहिले सहकारीलाई भन्नु परिरहेको छ। एउटा सहकारीको लापरबाहीले गर्दा सम्पूर्ण सहकारीहरुमा आक्षेप लाग्छ जस कारण राम्रा सहकारी पनि तल पर्छन् र जनताको विश्वास हट्दै जान्छ । मानिसहरूले कुन सही छ र कुन गलत छ भन्ने कुरालाई बोध गर्न नसक्दा नै चुनौती खडा भइरहेको छ। त्यसैले सहकारी शिक्षाको प्रचारप्रसार गरिनुपर्छ।

अहिलेको वर्तमान अवस्थामा आइपुग्दा सहकारीबाट कृषि व्यवसायलाई लाभ मिलिरहेको छ। यस्तो केवल सहकारीले ऋण प्रविधि र विभिन्न तालिमहरु दिएर नै सम्भव भएको हो । अहिले त अझ विपन्न परिवार, अनाथ बालबालिका र वृद्ध वृद्वाको देहान्त भएका ठाउँमा सदस्यता बनेकाहरुलाई सहकारीले आर्थिक सहयोग गर्दछ। यही कुनै न कुनै सहकारीको गलत र ठग्ने नियतका कारण चुनौतीहरू देखा परेका हुन्। सहकारीमा आएका समस्याहरू मध्ये कमसल धितो राखी वा धितो नै नराखी ऋण दिने प्रकृति हो । त्यो कार्यलाई बन्द गर्नुपर्छ। त्यतिमात्र नभएर सञ्चालकबाट मनमानी ढंगले सेयर धनीको रकम परिचलान गरिनु पनि अर्को चुनौती भएको छ।

महिला सशक्तिकरणलाई जोड दिएर उनीहरूको स्वामित्व र हकको सुनिश्चित गर्नु पनि थप चुनौती हो। अरु भनेको सिप, श्रम र उत्पादनलाई ध्यानमा राखी थप हौसला प्रदान गरेर देशको सुदृढीकरणमा जोड दिनुपर्छ । त्यसका साथै हरेक हिसाब किताबको विवरण  जनता सामु खुलाउनुपर्छ । अहिले अरुकै नागरिकताको फोटोकपी बनाएर पैसा लिने चलन आएको छ। त्यतिमात्र नभई मानिसहरूले सहकारीको पैसा मिटर ब्याजमा लगाई अपचलन गरिरहेका छन् जसका कारण ऋण तिर्न नसके पछि ऋणी सदस्यहरू भाग्ने गर्छन्। सोही कारणले गर्दा जनताको पैसा डुब्ने अवस्थामा पुगेको छ।

उल्लेखित त्यस्ता वर्तमान समयमा घटेका चुनौतीलाई रोकथाम गर्न नितान्त आवश्यक छ। वसन्त ऋतुमा पात त अवस्य झर्छ तर पुनः ती पातहरू पलाउने भएझैं यस्ता चुनौतीहरू आइरहन्छन् र त्यसको समाधान पनि भेटिन्छ। त्यसैगरी, सहकारीले सर्वप्रथम त सहकरी अभियानका आन्तरिक संरचना व्यवस्थापन गर्न तर्फ लाग्नुपर्छ। अर्को भनेको कानुनभन्दा ठूलो कोही छैन।

यद्दपि, कानुनले सहकरीसम्बन्धी बनाएका कार्यविधि, हक, अधिकार, मापदण्ड सरल र सहज हुनुपर्छ ताकि आउने पुस्ताको लागि यसले उज्ज्वल भविष्यको निर्माण गर्न सकोस्। अरुभन्दा पनि जनताको रकम अपचलन गरी भाग्ने र सारा जिम्मेवारी सहकारी संस्थालाई छोडेर जाने सञ्चालकलाई कडा भन्दा कडा सजाय दिने प्रबन्ध कानुनले बनाउनु पर्छ ।

अधिकांश चुनौती आर्थिक संयन्त्र, कुप्रबंधन भ्रष्टाचारले हुने भएकाले सहकारीमा राजनीतिकरण आउनु हुँदैन जस्तो मलाई लाग्छ। त्यति मात्र नभएर सहकारी क्षेत्रका संघिय प्रदेश र स्थानीय गरी तीन तह हुने गर्छ। ती तीन तहमध्ये संघिय तहले प्रदेश र स्थानीय तहमा भइरहेका गतिविधि बारे निगरानी र नियंत्रण गर्नुपर्छ ।

थप, सहकारीहरुले आफ्ना नीतिनियम बनाउने हुनाले त्यस्तो बनाउँदा सहकारी र जनता दुवैको हितका लागि हुने प्रकारले बनाउनु पर्छ। थप कुरा सहकारी क्षेत्रमा आफ्नै मानिसहरू नियुक्तको नाममा अयोग्यलाई गर्नुहुँदैन। समुदायमा आधारित सहकारीको क्षेत्रमा भूमिका भन्दा पनि सहकारी स्वयमले समुदायका बारे सोचेर, बुझेर दुवैलाई फाइदा हुने किसिमको प्रबन्ध मिलाउनुपर्छ र विषम परिस्थितिबाट गुज्रिएका मानिसहरूका लागि केही व्यवस्था गर्नुपर्छ। समुदायमा अझै पनि ग्रामीण परिवेशमा हुर्केर आएका मानिसहरू छन् जसलाई सहकारी सम्बन्धमा राम्रो ज्ञान छैन।

तसर्थ, सहकारीद्वारा विभिन्न तालिम, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ र वार्षिक गतिविधि बुझाउनका निम्ति साधारण सभा गर्नुपर्छ । यसो हुँदा सबैमा ज्ञान बढ्छ र सहकारी क्षेत्रदेखि देशले समेत काँचुली फेर्छ ।

-संरचना दाहाल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *