म ईटहरीबाट पूर्व जाने गाडी चढे । गाडी खचाखच भरिएको थियो। विराट चौक पुगेपछि केही यात्रु ओर्लिए। बसको पछिल्लो ३ सिट खाली देखेर त्यहि बस्न गएँ । लालभित्ती पुगेपछि एकजना ‘सिट खाली हो ?’ सोध्दै छेउमा आयो। मैले टाउकोको इशारामा हो मा हो मिलाए। ऊ हेर्दा गुरुङ जस्तो देखिने अन्दाजी ३०-३२ वर्षको थियो। कानमा एयरफोन ठुसेर मोबाइलमा केही सुन्दै थियो। यसो छड्के आँखा पारेर हेरेँ। यूट्युव हेर्दै पढ्दै रैछ ! म हेरेको थाहा पाएछ क्यारे उसले मलाई पुर्लुक हेर्यो ।
अक्कनबक्क भएर “तपाई शिक्षक हो ?” भनेर सोधे । उसले “हो” भन्यो। म यत्तिकै मुस्कुराइदिए। उसले पनि मुस्कान फर्कायो र यूट्युव हेर्न थाल्यो ।
म भने बसको झ्यालबाहिरको दृश्य अवलोकन गर्न थालेँ।
मलाई मेरो साथी राशिकाको बिहेमा पुग्नु थियो। ठाँउ सानो बाह्रघरे। तर थोरै अलमलमा थिएँ उर्लाबारी झरेर जाउ कि दमकबाट भनेर। सोच्दासोच्दै बस मंगलबारे पुगेकाले दमकबाट नै जाने निधो गरे ।
उर्लाबारी पुगेपछि मेरो छेउको त्यो अपरिचित युवक ओर्लियो । अन्य केही यात्रु झरे र केही चढे। अनि गाडी दमकतिर हुइकियो। अर्को आधा घण्टामा मलाई गाडीले दमक पुर्यायो। त्यही झरेर म बाह्रघरे गाडी स्टेण्ड खोज्दै हिडेँ। उता जाने गाडी १-१ घण्टा विराएर जाने रहेछ । स्टेण्डमा एउटा मात्र बस देखेर त्यसैमा चढेँ। बिचको खाली सिटमा गएर बसे । केही बेरमा गाडी स्टेण्डबाट हिड्यो।
अलि पर नपुग्दै खलासीले ‘बाह्रघरे, बाह्रघरे’ भन्दै यात्रुहरूलाई बसमा हुल्यो। एक यात्रु मेरो छेउको सिटमा आएर बस्यो । यसो हेरेको उही उर्लाबारीमा ओर्लेको एयरफोन ठुसेको गुरूङ केटोजस्तै थियो। त्यही केटो हो कि होइन भनेर ठम्याउनै सकिन। उही भएनि नभएनि मलाई केको चासो भन्दै वेबास्ता गरेँ र झ्याल बाहिर हेर्न थाले।
सानो बाह्रघरे पुग्न मलाई झन्डै दुई घण्टा लाग्यो। साझ परिसकेको थियो । साथी राशिकालाई भेट्न हतारो भइसकेको थियो। गाडीबाट उत्रिएर लम्किएर उसको घरतिर लागेँ। १० मिनेरमा उसको घर पुगेँ म। काठको ठूलो घर र ठूलो आगँन देखेर सानो छँदा त्यही आगनमा खेलेको यादले मेरा आँखा रसाएर आए। ढोकामा उसको परिवारले स्वागत गरे र राशिकालाई बोलाइदिए।
“कत्ति वर्ष पछि बल्ल भेटियो, कस्तो लागि रहेछ तलाई’, राशिकाले मलाई अंगाल्दै सोधी।
“कस्तो रमाइलो लागि राछ नि ! क-कसलाई बोलाको छस् ? साथीहरू कोको आएका छन्” मैले राजेश, राष्ट्र, तिर्थ, प्रकाश, हिराधन, शशीहरू अनुहार वरिपरि खोज्नथाले।
एकजना आएर, “रुबि होइन ?” भनेर सोध्यो ।
मैले नचिनेको देखेर राशिकाले भन्यो,’ “चिनिनस् ? कालु हौ, कालु मेचे !”
धेरै वर्षपछि भेटेकाले मैले उसलाई चिन्नै सकिन सायद। केहि बेर उभिएर गफ गर्यौं।
‘भोलिभरै भेटौ ल !” कालु गयो ।
म थाक्दै गएको देखेर राशिकाले आफ्नो कोठामा आराम गरिराख्न आग्रह गरेर बाहिर गइ। धुलोले गुज्मुजिएको कपाल मिलाउन कोठाको उत्तरतर्फ रहेको ऐना हेर्न थाले।
तर जब ऐना हेरे यस्तो लाग्यो कि ऐनाभित्रबाट मलाई कसैले हेरिरहेको छ। मुन्टोलाई हल्लाउदै फेरी हेर्दा ऐनाको एकाकुनामा पासपोर्ट साइजको फोटोले मेरो ध्यान खिच्यो। फोटो हेर्दै गर्दा बाहिरबाट सुजाताले मलाई चिनेर दौडिदै पछाडीबाट अंगालो हाली।
‘मलाई चिनिस्? तँ त कति मोटाको’ भन्दै प्रश्नमा प्रश्न थपि। उत्तर दिन छोडेर मैले प्रतिप्रश्न गरे, ‘यो ऐना छेउ टाँसिएको फोटोमा को हो?’
सुजाताले उत्तर दिन आनकानी गरी। ‘ह्या पछि भनौला नि, भर्खर त आको छस्। अरू कुरा के छ नयाँ’ भनेर कुरा टार्न खोजी।
मैले पुनः प्रश्न सोधे, ‘भन्न? हुनेवाला भिजानु उनै त होइनन नि?’
हासिरकेकी सुजाता केही सिरियस देखिइ र भनि, ‘उनी ठूलो बाह्रघरे बस्ने धन दाइ हुन्। हामी कलेज पढ्न जाँदा राशिका र धन दाइको भेट डुम्री चौरमा भएको थियो। विस्तारै चिनजान र बोलीचाली प्रममा परिणत भयो। उनीहरू कलेज बंक गरेर चौरमा दिनभरी गफ गरेर बस्थे। पछि दाइले आर्मीमा जागिर पाएर अफगानिस्तान जानुभयो।’
म मेरो कल्पनामा त्यो पललाई देखिरहेको थियो।
अनि सुजाताले भनि, ‘तर पछि युद्धमा बस बिस्फोटमा परेर उनको ज्यान गयो। हामीले सुने अनुसार त्यही नै थाहा छ’
अन्तिमको वाक्य सुनेर मेरो शरिर चिसो भएर आयो। आत्तिएर भुइमा थचक्क बसेँ। सुजाताले हतारहतार पानीको बोतल थमाइ र सोधी, ‘ओइ के भयो तलाई?’
मैले काप्दै भने, ‘त्यो ऐनामा भएको मान्छेलाई मैले आज गाडीमा भेटेको थिएँ। यो उही गुरूङ केटो हो जसलाई मैले बसको छेउको सिटमा बस्न दिएको थिएँ।
कोठाभित्र आउदै गरेकी राशिका यी कुरा सुनेर ढोकाको पिढमै मुर्छा परी……
-डा. किशोर गुरुङ्ग
विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल
Read More Nepali Poem:
Nepali Poem | प्वाल | Pari Vikram – Offline Thinker
Read More from Subin Bhattarai:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com