Nepali Poem | वैशाख र इटहरी | Sugam Dulal

nepali poem Sugam dulal offline thinker

 

हावाले जागिर छोडेदेखि
पङ्खाको ओभर टाइम सुरु भयो ।

पसिनाले लुत्रुक्क भिजेको सर्ट फुकाल्न
मास्टर साब
ओभर टाइम सकेर फर्कनु भयो
कार्यालयबाट ।

पातलो कपडा लगाएर
रातमा निदाउँदै गर्दा
ओभर टाइम गर्न बसेका
एक हुल लाम्खुट्टेले
तिखा दाँत गाडिदिए
र ब्युँझाइदिए
मास्टर साबलाई

मध्यरातमा
चलिरहेको पङ्खा मुन्तिर
थपडी मार्दै
भुतभुताउँछन् मास्टर साब
र रातारात गर्छन्
एउटा युद्धको घोषणा
पुस्छन्, पसिनाले पखालिदा पखालिदा
मेटिन लागेको निधार
हेर्छन्, लामखुट्टेले खुट्टाभरि छोडेको
नमिठो दाग
सुम्सुम्याउँछन्, ओभर टाइमले खिया पर्न लागेको
आफ्नै हत्केला

बिचैमा
जान्छ बत्ती
छाउँछ निस्पट्ट अँध्यारो
र रोकिन्छ मास्टर साबको
प्रिय पङ्खा ।
लाम्खुट्टेका गुइगुइ चल्दै गर्दा
थाकेको पङ्खाले
ठुलो सास फेर्छ
र मसिनो आवाजमा भन्छ,
‘आइ कान्ट वर्क ओभर टाइम’

आज बिहानैदेखि घाम चर्किएको छ
र मास्टर साब
आफ्नो पुरानो छाता बोकेर
फेरि छेक्न खोज्दैछन्
एउटा सिङ्गो सूर्य ।

 

 

Read more from Sugam Dulal

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *