ह्याप्पी बर्थडे बुबा | Sugam Dulal | [Offline Thinker]

Sugam Dulal

ह्याप्पी बर्थडे बुबा | Sugam Dulal

 

आज बुबा ५५ को हुनु भो , हैन ५६ हो कि !
खैर उमेर जतिसुकै होस् मलाई यति थाहा छ कि आज बुबाको जन्मदिन हो । फेसबुकमा आज बिहानै साउन १५ अर्थात खीर खाने दिन लेखिएको पोस्ट देखेको थिए ।
मलाई झट्ट याद आयो आमाले सधै बुबाको जन्मदिनमा खीर बनाउने गर्नुहुन्थ्यो । खीर खाने दिन भन्ने बित्तिकै बुबाको जन्मदिन याद आउँछ । तर बुबाको जन्मदिन अरु कुनै सामान्य दिनमा परेको भए मैले उहाँको उमेर जस्तै जन्मदिन पनि भुलिसक्थे होला ।
हुन त बुबालाई पनि मेरो जन्मदिन कहाँ याद हुन्थ्यो र ? त्यो त आमाले मलाई सबेरै उठाएर मन्दिर लैजादा बुबाले बल्ल पत्तो पाउनुहुन्थ्यो । मन्दिरबाट घर फर्कदा बुबालाई म कहिल्यै घरमा भेट्दिनथे । म चाहन्थे कि मेरो जन्मदिनमा बुबा मसङ्गै बस्नुहोस । केही छिन मसङ्गै बोल्नुहोस् ।
बुबा उहीँ खुइलेको ढाकाटोपी र आस्टकोटमा एक्कैपल्ट राती घर आइपुग्नु हुन्थ्यो र म बुबासङ्ग केही नबोली मलिन अनुहार लिएर आफ्नो सुत्ने कोठाभित्र पस्थे । म सोच्थे बुबालाइ म भएको नभएको कुनै चासो थिएन । तर म कहिल्यै बुझ्दिन्थे कि भोलिपल्ट मेरो फाटेको स्कुल जाने जुत्ता आफै टालिएको थिएन ।
भोलिपल्ट स्कुलमा मेरो टिफिन बक्सभित्र मलाइ मनपर्ने बिस्कुट कहाँ बाट आयो ? म जान्दिनथे  । हो बुबा सधै मेरो जन्मदिन बिर्सनुहुन्थ्यो तर प्रेम गर्न भने कहिल्यै बिर्सनु भएन ।
तर के म भने आज प्रेम गर्न त भुलिरहेको छैन?
ऋण काढेर मलाई राजधानी पठाएका मेरा बुबाको जन्मदिनमा एक फोन गर्न पनि किन हिच्किचाइरहेको छु  ? म जसरी आफ्नो जन्मदिनमा बुबा कति बेला आउनुहुन्छ भनेर पर्खिन्थे , बुबाले पनि त्यसरी नै मेरो फोन पर्खिरहनु भएको होला । आमाले खीर पकाइसक्नु भयो होला ।
म चाहन्छु बुबाले आज खाने खीर खल्लो नहोस । के भन्नू म बुबालाइ ? मलाई फोन गर्नु छ र बुबाले सकि नसकि मेरा हरेक आवश्यकताहरु पूरा गरिदिएकोमा धन्यवाद दिनु छ । मलाई आज बुबाको उमेर सोध्नु छ र बाँकी उमेरसम्म  कहिल्यै प्रेम गर्न भुल्ने छैन भनी आश्वासन दिनु छ । हरेक कक्षामा मलाई नया किताब फेरिदिए झै मलाई पनि बुबाको खुइलेको आस्टकोट र ढाका टोपी फेरिदिनु छ । बुबाले मेरा फुस्किएका दात गनेझै आज मलाई पनि बुबाका फुलेका कपाल गन्नु छ ।
मलाई आज ” ह्याप्पी बर्थडे बुबा” भन्नु छ।
Photo by Juan Pablo Serrano Arenas
__________________

You May Also Like: 

पिता । कविता | Krishna Dahal [Offline Thinker]

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *