परदेशी मजदुर
१.
म बिहानै उठेर
कुँडो खान्छु
र
जोतिन निक्लन्छु
दिनभर जोतिन्छु
फर्किएर पुनः कुँडो खान्छु
र सुत्छु ऐंठन पर्ने निद्रा
म हिजो घरदेशमा पनि मजदुर थिएँ
आज परदेशमा पनि मजदुर नै छु
फरक यति मात्र हो कि
हिजो हलि थिएँ- जोत्थेँ
आज गोरु भएको छु- जोतिन्छु
यसरी चुपचाप चुपचाप
मालिक बलियो बनाइदिने मजदुरहरू देखेर लाग्छ
मेरा सन्तति पनि मजदुर नै बन्नेछन् ।
२.
दुईतले खाटमा सुतेर
दुईतले घर बनाउने सपना देख्ने –
परदेशी मजदुरको
दुई दिनको जिन्दगीबाट
पौने दुई दिन सक्किसकेछ !
३.
एउटा परदेशी मजदुर जति मजबुर
को छ होला दुनियाँमा ?
प्रकाश खरिद गर्न घामको पसलमा पुगेको छ
आखिर उज्यालो छर्न पनि त
घाम जत्तिकै दूर हुनपर्दो रहेछ
एउटा मजदुर यति बेला आफैँ घाम बनेको छ
ताप, राप र चाप सहेर उज्यालो बाँडेको छ ।
४.
मजदुरको एउटा सपना छ
उसको सन्तानलाई ठुलो
मान्छे बनाउने !!
ऊ पनि जन्माउँदै छ,
अर्को मालिक !
Read More From Janak Karki:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments