अश्विन शुक्लपक्षभरी नेपालभर मनाईने दशैँ एउटा धार्मिक चाड मात्र नभएर सम्पूर्ण समाजलाई एकताको डोरीमा बाध्ने कडि हो। अन्य मुलुकहरूमा पनि दशैं मनाउने गरेको पाइन्छ तर नेपालमा जस्तो भव्य तरिकाले अन्य मुलुकहरूमा मनाइएको पाइदैन। दशहरा, नवरात्री लगाएतका चाडपर्वहरू मनाइएता पनि नेपालको जस्तो सांस्कृतिक भिन्नता र भव्यता अन्यत्र भेटिदैन।
दशैं सम्बन्धी विभिन्न कथाहरु किंवदन्तीहरू सुन्न पाइन्छ। शक्ति र सिर्जनाकी स्रोत दुर्गा माताले महिषासुर भन्ने राक्षसको संहार गरेकाले दशैँ मनाइएको भन्ने चलन पनि रहेको छ। युद्ध गरेको दसौं दिनमा विजय प्राप्त गरेकाले विजयादशमी भन्ने गरेको भनाइ पनि सुन्दै गरेका किंवदन्तीहरूमध्ये एक हो। घटस्थापनादेखि नौ दिनसम्म देवी दुर्गाको नौ फरक रुपको आराधना गर्ने संस्कृति रहेको छ। अहिले सम्पूर्ण विश्व नारीको सम्मान र अधिकार खोजिरहेको बेला शताब्दीऔँदेखि हाम्रो पूर्वीय संस्कृति भने स्त्रीलाई सहनशीलता, शक्ति, प्रेम, सृजना संहार आदिको रूपमा पूजा गर्दै आएको छ। सामाजिक बर्बरताको बादल हटाउने हो भने हाम्रो दर्शन र मान्यता धेरै दूरदर्शी छन्।
नेपालको ऐतिहासिक पाटो हेर्ने हो भने वि. सं. १६१६ देखि गोर्खा राज्य हुँदै अन्य राज्यमा दशैं परम्परा फैलिएको अनुमान लगाउन सकिन्छ। वि.सं. १६१६ असोज २३ गते द्रव्य शाह लगायत उनका लडाकु समूहले गोरखाका खड्का राजाको हत्या गरी आफू राजा भएको खुसीमा अश्विन शुक्लपक्षभरि खुशीयाली मनाएको र सोही पर्व विजयादशमी भनेर प्रत्येक वर्ष मनाउँदै आएको उल्लेखहरु पनि ऐतिहासिक पुस्तकहरुमा पाईन्छ। गोर्खा जिल्लाको लिगलिगकोटमा हरेक वर्ष टिकाको दिन राजा भेट्ने चलन पनि रहेछ।
द्रव्य शाहकै सन्तती बडामहाराज पृथ्वीनारायण शाहले पनि वि. सं. १८२५ मा काठमाडौँ उपत्यकामाथि विजय प्राप्त गरी दशैं पर्व राजधानीमा भित्राएका थिए। अहिलेपनि फूलपातीको दिन गोरखादेखि ल्याइएको फुलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याएपछि मात्र अन्य पुजा गरिन्छ। वि.सं. १६१६ भन्दा पहिले नेपालमा दशैँ मनाइन्थ्यो -मनाइदैनथ्यो वा कसरी मनाइन्थ्यो भन्ने कुराको रेकर्डहरु भने रहेनछ।
अहिले हामीले देखेको दशैँभन्दा बुढापाकाले सुनाउने कथाहरुमा दशैं अझ रमाइलो देखिन्छ। त्यो रहर, रङ्ग, एकता सबै सेलाउँदै गएको अनुभव हुन्छ। सायद अभावले पनि चाडपर्वको महत्व बढी हुने गर्छ। त्यही पुराना कथाहरुमा मच्चिने लिङ्गेपिङ्हरु, घुमिरहने चर्खेपिङ्हरु, पिङ् खेल्न लाग्ने भिडहरु, उत्साहको छालहरु, तन्नेरी तरुनीका चालहरु सबै अहिले वेग्लै भेटिन्छ। सामाजिक सञ्जालमै रमाई रहन्छन् आजकाल उत्साहहरु।
म आफैंले सम्झिने बालापनको दशैंहरु र अहिलेको दशैंमा धेरै फरक छ। अझ पुरानो दशैहरूको उत्साहा कस्तो थियो होला? मिल्ने भए एक पल्ट अनुभव गर्नहुन्थ्यो। त्यो नयाँ कपडाको उत्सुकता, दक्षिणा र मीठामीठा परिकारका लोभ अहिले छैन। अभावको कमीले पनि होला चाडपर्वमा मौलिकता, रमाइलो घट्दै गएको छ। सायद एउटा औपचारिकता मात्र छ।
समयअनुसार संस्कार फेरिन्छन्, सोँच फेरिन्छ र शास्त्र फेरिन्छन्। परिवर्तन सामान्य हो तर परिवर्तन र आधुनिकीकरणकै कोलमा पिल्सिँदै गर्दापनि हाम्रा चाडपर्व जिवितै छन्। खुसी लाग्छ कि कहिँ कतै इतिहास र मौलिकताले स्वास फेरिरहेको छ।
अझैपनि तरिका बेग्लै भएपनि दशैं उमंग हो। समाजलाई एक बनाउने माध्यम हो। धार्मिक मात्र नभएर ऐतिहासिक महत्व हो। नेपालको बहुसांस्कृतिक समाज र सहिष्णुताको प्रतिक हो। सबैभन्दा ठूलो कुरा दशैं खुशी हो।
आज आकाश फरक देखिन्छ | Sudarshan Poudel
________________________________________________________________________
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments