आजभन्दा करिब चार वर्ष अगाडि +2 पढ्दै गर्दा साथी सुदर्शन पोख्रेलले सुनाए, ‘उज्ज्वल र रबिन्द्र बुटवल आउदै छन्।’
कताकता नाम सुनेको, फेसबुकमा देखेको, कहिलेकाहीँ पत्रिकामा पढेको व्यक्तिहरुको नाम सुन्नासाथ मेरा पाइलाहरु घरमा अडिन मानेनन् । मन र आँखा दुवैले उनीहरु दुबैलाई हेर्ने रहर गर्यो ।
हामी दुई जानै लाग्यौँ ‘रोज पार्टी प्यालेस’ जहाँ विवेकशील साझाको कार्यक्रम हुँदै थियो ।
हामी जाँदा प्यालेसमा फ्याट्टफुट्ट मान्छेहरु जम्मा भएका थिए। हामी दुईले हतार नगरी पहिलो लहरको कुर्सी समायौ । केही छिनमै आँखाले खोजेका मान्छेहरु हलभित्र देखिए । बाँकी छेउछाउमा अरु पनि थुप्रै थिए तर दिमागले अन्त ध्यान खिचेन ।
कालो कोट र चस्मामा थिए रबिन्द्र मिश्र र सङ्गै थिए आकाशे रङको दउरा सुरुवाल र कालो टोपीले सजिएका मुस्कुराइरहेका शालिन उज्ज्वल थापा।
आगमन पछि केही शब्द रबिन्द्रले बोले अनि लगतै स्टेज उक्लिए उज्ज्वल थापा ।
उज्ज्वल दाइ भावुकताका साथ महत्त्वपूर्ण एवम् गहन विषय निकै मिठास र सरल भाषामा बोल्दै हुनुहुन्थ्यो । सम्झ्न्छु, उहाँले भनेको, “अरु देशले विदेशमा सरसामान निर्यात गर्छ, हामीले विदेशमा आफ्नो देशबाट सृजनशिल युवा निर्यात गर्छौ।” यो वाक्यले मलाई हृदयमा कतै घोचेको थियो।
उहाँ लुम्बिनी पुगेर फर्कनुभएको रहेछ । त्यसबारे बोल्दै हुनुहुन्थ्यो, “साउदी अरबले मक्कामदिनालाई ईस्लामिक धार्मिक केन्द्रविन्दु बनाएजस्तै हामीले लुम्बिनीलाई सोही स्तरमा विकास गर्न सक्छौ।” यिनै कुरासँगै उनले नजिकै रहेका अनेक विशेष सम्भावनाहरुबारे बोल्नु भयो । केही समस्या र तिनका दीर्घकालीन सामाधानका उपायबारे बोल्नु भयो ।
मेरो उहाँसित पछि केही समय कुराकानी गर्ने अवसर पनि जुरेको थियो । उहाँलाई भेटेको र उहाँको कुरा सुनेको केही समयमै हामी दुवै साथी उहाँबाट निकै प्रभावित भएका थियौँ ।
कार्यक्रम सकाएर घर फर्किएपछि उज्ज्वल दाइ बारे विशेष अरु जान्न मन लाग्यो । केही खोज गरे । गुगल, फेसबुक सबै चहारेँ। उहाँ विभिन्न अभियानका संचालक र कुसंस्कृत राजनीतिको फोहोर बढार्ने बाटो बनाउँदै गरेका राजनीतक योद्धा हुनुहुँदो रहेछ ।
दाइलाई भेटेको र उहाँको उद्देश्य बुझेको केही समयपछी मैल उहाँकै पदमार्गमा चल्ने निधो गरे । उहाँसित धेरै कुरा सिक्न र बुझ्न मन थियो तर त्यसपछि उहाँसित भेट्ने अवसर जुरेन।
जब उहाँको आकस्मिक निधनको खबर पाएँ, मलाई पछुतो लागेर आयो। तर आज पनि म उहाँले देखाउनुभएको पदमार्गलाई भुल्न सक्दिन।
यहति भन्न मन छ कि दशकौँदेखि थुप्रिएरका राजनीतिक फोहोर बढार्ने संकल्प लिएर उहाँले जीवन जिउनु आफैमा एउटा चुनौती थियो । उहाँको अतुलनीय साहस र अटल विश्वास हाम्रो लागि अविस्मरणीय रहनेछ।
नेपाललाई उज्ज्वल बनाउने उज्जव दाइको अपूरो सपना अब भने लाखौ युवाहरुको हातमा सुम्पिइएको छ। यो यात्रालाई हामी टुंगोमा नपुर्याइ न थाक्नेछौँ, न बिसाउनेछौँ ! भन्नु पर्दा उज्ज्वल थापा एउटा व्यक्ति मात्र थिएनन्, एउटा सपना, एउटा लक्ष्य र एउटा ब्रान्ड थिए जसले नेपालको समृद्धि र विकास देखेका थिए।
खुशीको कुरा, उनले रोपेको राजनैतिक बोटले फल दिन थालेको छ। मुलधारको राजनीतिमा सुधारिदो क्रममा शिक्षा र स्वास्थय सम्बन्धी बहस र कार्यक्रमहरु बढ्न थालेका छन् । आम हडतालका विरुद्दमा प्रतीकात्मक र सृजनशिल विरोध गर्ने शैली बढ्दै छ । युवाहरुको राजनीतिमा चासो र सक्रियता बढ्दो छ । त्यसैले उनको जीवनलाई आदर्श मान्नुपर्छ।
यदि कुनै व्यक्तिसँग बिनाकुनै साक्षात्कार लाखौँ युवाहरु उनको विचारमा होमिन चाहान्छन् भने उनले गरेको कर्मलाई चमत्कार मान्नुपर्छ। जसको जीवन इमानदारीता, निस्वार्थ र निरन्तरताको सिङ्गो पाठशाला हो, त्यो व्यक्तिसङ्ग समाजका हर कोहिले सिक्नु आवश्यक छ। र उहाँले देखाउनुभएको सुसंस्कृत बाटो पक्कै यात्रा हो, कठिन नि छ र जारी छ !
दाइको आत्माले शान्ति पाओस् !
उज्जवल थापाले लेख्नुभएका केहि विचार र सपनाहरुः
https://docs.google.com/document/d/1KnALASM5J4uYN0M65iCT0PBfUETPwOKkOisHp62O3cI/edit?usp=sharing
आउनुहोस् ! कमन सेन्स (विवेकशीलता) भएका नेपालीहरुको सञ्जाल बनाऊँ
https://www.whynepal.com/
Read More From Suman Bhattarai: