तिमी अचेल पहिले जस्ती छैनौ | Pari Vikram | Nepali Poem

nepali poem Pari Vikram

तिमीलाई भेट्दा तिमी ‘इन्द्रेणी’ थियौ
अचेल देख्दा लाग्छ, म ‘ह्यालुसिनेसन’मा छु
म देख्छु – स्पष्ट छुट्टिन नमानेका सात रङ
म नियाल्छु – तिम्रो अस्तित्वको अर्ध चक्र
तर पाउँदै पाउँदिनँ, तिमी जस्ती तिमी ।
कहरका शीतले कठ्याङ्ग्रिएका रहर देखे
तिमी बाध्यताका डाँडा छिचोलेर नि उदाउँथ्यौ
अभावले सेकेर धाँजा फाटेका सपना देखे
तिमी आफन्तहरूसँग चड्केर नि वर्षिन्थ्यौ
वसन्तको दयामा खुसीको एउटा आँकुरा देखे
तिमी आफ्नै खुसी बन्धकी राखेर नि बेरबार गर्थ्यौ
अचेल,
शीत लहरले रहर लग्नै लाग्दा झुल्किन्छ्यौ
म देख्ने हालतमै थिइनँ भनेर उम्किन्छ्यौ
प्रिय,
मलाई तिम्रै गमलामा हुर्केको बानी छ
बगैँचामा प्रकृतिको भव्य स्याहारले पनि पुग्दैन ।
चित्त नबुझेर खुम्चेको निधार देखे
तिमी पश्चातापको लाली लाएर चुम्न आउँथ्यौ
चित्त बुझेर फुलेको छाती देखे
तिमी समानुभूतिको आँगालोले नाप्‍न आउँथ्यौ
चित्त दुखेर बर्सेका आँखा देखे
तिमी सहानुभूतिका औँलाले पुछ्न आउँथ्यौ
अचेल,
तिम्रो ओठले निधार चुम्दैन
चुमे पनि लाली औपचारिकताको हुन्छ
तिम्रो अँगालोले छाती नाप्दैन
नापे पनि नाप्‍ने फिता विवशताको हुन्छ
तिम्रा औँलाले आँसु पुछ्दैनन्
पुछे पनि आँसु मात्र पुछ्छन्
पीडाको खिल डिलमै छाडेर जान्छन् ।
अचेल,
मलाई देख्न नपाउँदै तिम्रो मुटु भतभतिन्छ
प्रेमको गाजल लाउन नपाउँदै गालाभरि लतपतिन्छ
जुन मेरो चुम्बनले मेटाउन सक्दैन ।
अचेल,
मेरो स्वर सुन्‍न नपाउँदै तिम्रा कान भनभनिन्छन्
प्रेमको झुम्का झुन्डिन नपाउँदै भुइँमा रनथनिन्छन्
जुन मेरा हातले भेटाउन सक्दैनन् ।
अचेल,
मैले जे गरे पनि तिम्रो मुहारमा बादल लाग्छ
किन सोध्न नपाउँदै रिसले तिम्रो वक्ष फैलिन्छ
जुन मेरो अँगालोमै अटाउन सक्दैन ।
अचेल,
हो, तिमी अचेल पहिले जस्ती छैनौ
हुन त म पनि पहिले जस्तो छैन कि ?
परिविक्रम ( Pari Vikram )

 

 

Read More From Offline Thinker:

मरेको मानिसले पछाडी फर्केर……..| Buddhisagar | Offline Thinker

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *