[ महावीर विश्वकर्मा ]
रातो र तातो रगत हुनेहरू सबै
राता र ताता मान्छे हुँदैनन्
राता र ताता देखिनेहरू सबै
भित्रैदेखि राता र ताता पनि हुँदैनन्
महावीर विश्वकर्मा – त्यो मान्छे थियो
जो भित्रैदेखि तातो थियो
जो भित्रैदेखि रातो थियो
ऊ ‘बहकिने मन’ सम्हाल्थ्यो
मन बहकिएकालाई अँगाल्थ्यो
ऊ सेलिब्रेटी थियो
तर अन्याय र विसङ्गतिका विरुद्ध
अविराम फेसबुकमा ओर्लिन्थ्यो
निरन्तर सडकमा ओर्लिन्थ्यो
कथित सेलिब्रेटीलाई जस्तो
फ्यान घट्छन् कि डर थिएन
ऊ निरन्तर बोल्थ्यो
किनकी
यो मर्न लागेको समाजमा
ऊ सीमित जिउँदो मान्छे थियो
कमिसनखोरी, दलाली, पुँजीवादी व्यवस्थामा
वैज्ञानिक समाजवाद ल्याउने उसैको ठेक्का थियो
अघाएका पेटले देखेको ठीकठाक समाजलाई
भोकाएका आँखाबाट भताभुङ्ग देखाउनु उसैको ठेक्का थियो
जात व्यवस्थाले जरासम्मै जकडिएको राज्यव्यवस्थामा
जात उन्मूलन गर्नु पनि उसैको ठेक्का थियो
ऊ सोध्दै थियो –
मुक्तक सङ्ग्रह प्रकाशनार्थ
ऊ खोज्दै थियो –
‘नालापानी’बाट भविष्य
ऊ गर्दै थियो-
दलाल पुँजीवादी व्यवस्थाप्रति असहमति
ऊ आफू कल्पिँदै थियो
र, अरूलाई सम्झाउँदै थियो
वैज्ञानिक समाजवादको बिहानी
यी सडकहरूमा –
नवराज बि.क. मारिँदा
उही झुल्किन्थ्यो
रुपा सुनारले कोठा नपाउँदा
उही झुल्किन्थ्यो
एम्. सी. सी ल्याइँदा
उही झुल्किन्थ्यो
यी सडकहरूमा –
सुन्दर हरिजन मारिँदा
उही झुल्किन्थ्यो
यो व्यवस्था भण्डाफोर गर्न
उही झुल्किन्थ्यो
तर
सडकमा घाम उदाउँदैथ्यो
कहिल्यै नउदाउने गरी
सडकमै ऊ अस्तायो
सडकभरि –
आफ्ना सपनाका बिस्कुन लाएर ।

२०७९.०८.०६
Listen to Mahabir Biswakarma:
कल्पना र जगतका १५-१५ मुक्तक ।। Bahakine Man 2079-06-31
https://www.youtube.com/c/MahabirBishwakarma/videos
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments