कवि ‘परि विक्रम’का ११ कविता | Pari Vikram | Nepali Poem

nepali poem Pari Vikram

 

Table of Contents

१. औकात

तिम्रो संगत चाहेथें
मैले तिमी नै पाएँ

थाहा पाएँ-
ढुंगा खोज्दा देउता भेटेछु

मलाई माफ गरिदेऊ
म ढुंङ्गा पुज्ने पुजारी हुँ
देउता पुज्न ओकात पुग्दैन।

 

२. बाको घर

छोरिले तासको घर बनाउँछ
ढल्छ अनि मेरो मुखमा हेर्छ
छोरीले खोयाको घर बनाउँछे
ढल्छ अनि मैलाई नै हेर्छे

सोच्छन् होला-
बाले ढल्दा पनि टुलुटुलु हेरे

छोराछोरीलाई म नढल्दै
घर कसरी थामिन्छ बुझाउन सकूँ।

३. युवा

बालगृह जाऊँ?
-बच्चा रहिनँ।

बृद्धाश्रम जाऊँ?
-बृद्ध भई सकिनँ।

म यो उमेरमा बेसहारा भएँ
जुन उमेर पत्याएर पृथ्वी
मेरो सहाराले घुम्न खोज्छ।

 

४. बिन्तीभाउ

थिइन त, प्रेमकै गुलेली थियो
धोकाको मट्याङ्ग्राले हानियो
म झरें, तिमीले देख्यौ र बचायौ
मेरा प्रमिल रहर पुनः फटफटाए

धेरैपछि बल्ल बल्ल उड्दै थिएँ
देखें- तिमी नि ताक्दै रहेछौ गेलेली

बिन्ती, अब यसरी हानेर झारिदेऊ
कसैको दया र दबाइले उड्न नसकूँ
मलाई फेरि प्रेमको सिकार बन्नु छैन।

 

५. घाम


म घाम अगाडि बढिरहेँ

एक ठाउँले अस्ताएको देख्यो
बिदाइमा,
अँध्यारोको अँगालो हाल्यो

अर्को ठाउँले उदाएको देख्यो
स्वागतमा,
उज्यालोको दोसल्ला ओढायो

धन्न,
मान्छेसँग स्वार्थका पहाड छन् र
उदाइरहन, अस्ताइरहन पान्छ।

६. चोतारी

हिजो फगत बाटो थिएँ
आउँदा मात्र नि भेट हुन्थ्यो

आज पर्खिँदा पर्खिदै
म चौतारी बनिसकेको छु
भेट्न मन भए-
जिन्दगीदेखि थाकेर आऊ।

७. बयान

प्रेमी साँचो थियो
उसको प्रेम झूटो थियो

सत्य, सत्य नै हो
झूट, झूट नै हो
दुवैसँगै हुनै सक्दैनन्

मैले प्रेमी बचाउन-
प्रेमको हत्या गरिदिएँ।

८. प्वाल


लाग्थ्यो,
घरको छानो चुहियो भने
घाम लाग्दा-
केही छिर्का घाम पस्ला
वर्षातमा-
धेरै पसे त्यही पानी पस्ला

तर होइन रहेछ,
म पनि मुग्लान पुस्नु पर्यो।

 

 

९. फलेको सन्तान

आफैंले रोपेको रहर
समयसँगै झाङ्गिए
हालिदिएँ- थाँक्रो
फले- टुप्पामा पुगेर

तर अब टुपूँ भने-
न भाग्यको त्यत्रो तोस्त्रो छ
न थाँक्रोमा चढ्न मन मान्छ।

 

 

१०. काम

हुन त, म बाँचेर-
कति ओठमा फूल बन्लान्
कति ओठले ‘कठै’ भन्लान्

हुन त, म नबाँचेर-
कति जोर आँखा रोलान्
रुने कति साँचो होलान्

तैपनि साथी,
जीवनमा यत्ति त गर्न सकियोस्
केही नाप्दैनस् भन्नेको मुख थुन्न
आफैंलाई मारेर देखाउन नपरोस्।

 

११. अमर

मरेपछि मरे पनि के भो?
बाँच्दासम्मन् बाँच्नु पर्ने थ्यो

तर पढाइदिनेले पढाइदिँदैमा
मरेपछी पनि बाँच्नेको जीवनी

हामी नगर्नुपर्थ्यो-
मरेपछि पनि बाँच्न भनेर
बाँचुन्जेली मरी मरी काम।

 

 

 

Read More From Pari Vikram:

तिमी अचेल पहिले जस्ती छैनौ | Pari Vikram | Nepali Poem

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *