आमाको युद्ध | Poetry by Bijayata Bhandari

युद्ध

अभाव र ओजले उमारिएका उर्जाहरु
आगो बनेर बल्न नसके पछी अगेनामा
भयंकर युद्ध लडिरहेकी छिन् आमा !

छोराको भविष्य सिँन्चाउन बगाउँछिन् पसिना
र, ढुुङ्गालाई दिएर आफ्नै शरिर खाना
लड्छिन् गिट्टी-मार्तोलसँग युद्ध !

जब मार्तोलले निरन्तर ओकल्छ कर्कश ध्वनि
आमा सुन्न सक्दिनन् छोराको चिच्याहट पनि
जब सुन्छिन् आतिएझैं कतै
काखमा च्यापेर चुसाउँछिन् पालैपालो स्तन
र, खसाउँछिन् आमा-
पसिनाजस्तै आँसु तप्प-तप्प छोराको निधारमा !

धर्तीले बोझ बोकेर आँगनमा सुन्दर
फूल फुलाएझैँ-
फुलाउनु छ आमालाई पनि सन्तान !
आफू बनेर वेगवान पानीले छोडेको बगर जस्तै
हुर्काउनुछ आमालाई पनि सपना केही थान !
र, लगाइदिनुछ छोरालाई आङमा भोटो !

घामको तापले सुकाएको शरिर बनिसक्यो कंकाल जस्तै-
लाग्छ आमालाई गुमाएको छैन केही
आमा हरेक क्षण महसुस गर्छिन् छोराको मुख हेरेर-
संसार पाएको जस्तै !
हारे पनि जितेको जस्तै !

पानीले रङ्ग बदले जस्तै
बदलिँदो छन् अझ आमाका सपना र रहरहरु
अफसोच् !
त्यही ढुङ्गाझैँ फुटिरहेछन्
आमाका विश्वास र आशाहरु

दिनेहरुले उर्लदो नदिलाई जस्तै
भगवान, देवी हजारौं नाम दिए आमालाई
तर,
बुझ्न सकेनन् आमाको दुःखको वजन !
सोध्न चाहेनन् कति सुत्छन् दु:ख आमालाई सिरानी हालेर !

आमा शक्ति हुन् /आमा श्रोत हुन् !
आमा शब्द हुन् / आमा स्वर हुन् !
आमा लक्ष्य हुन्/ आमा श्वास हुन् !
विश्व परिक्रमा गर्ने ए घाम, जून…हो
भनिदिए हुन्छ ती नालायक सन्तानहरुलाई-
बगरलाई साथी बनाएर तिम्रो खुसी किनीदिने आमा
यतिबेला, निरीह नदिझैं रोइरहेकी छिन्
त्यो रैथाने बगरले पनि
तिमीले जस्तै चिन्न छोड्यो रे तिम्रो आमाको अनुहार !

ढुङ्गा फुटाएर नियति जोड्ने क्रममा
भिजेको आमाका आँखामा लागिरहेछ आजसम्म घाम !
गिट्टी बटुलेझैं सपना बटुलेर बगरमा माया रोप्ने आमाहरु
अस्ति अभावसँग युद्ध गर्थे सन्तानलाई फूल जस्तै फुलाउन
आज पनि युद्ध गर्दैछन् त्यही सुन्दर फूल जस्तै फुलेको काँडाले घोचेको तिरस्कार भुलाउन !

रित्तिए हजारौं खुसीहरु-
रित्तो हुनै सकेन दु:खको भकारी !
सकियो लालुपातेझैं फुलेको जवानी-
सकिँदै सकिएन तर आँसुको जिन्दगानी !
काखमा च्यापेर सन्तान
चुसाउँदै पालैपालो स्तन
ढुङ्गा कुट्ने आमा जस्तै
हजारौं आमाको युद्ध
हिजो जस्तै छ आज पनि….!

बिजयीता भण्डारी

 

Read More Poems:

When to Stop? | Poetry by Sushant Thapa | Offline Thinker

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE