मैले देश छोड्ने दिन
सुसेलिरहेको बतासले देखाउने छ
समयको गति
शीतलता बोकी
आधा मुस्कुराउँदै गरेको जूनले
बुझाउने छ भूगोलभरि छाएको मौनताको रंग!
शरणार्थी शिविरहरुमा
पराधीनता र विस्थापनका कयौं खडेरी सहेर
फुलेका
बहुरङ्गी कलिला फूलहरुको गरेर हत्या
सल्काइएको छ चारैतिर
अमेजन जङ्गलमा झैं मानवीय आतंकको डढेलो
सदियौंदेखि
धर्म र दर्शनको आवरणले छोप्दै – छोप्दै
बचाइएको छ मानव हुनुको अस्तित्व
निरन्तर दमनको प्रचण्ड ताप झेलेका
भियतनाम र सिरियाका खण्डहर बस्तीहरुमा
खोजेर
खरानी भएका तिनै कलिला फूलहरुको
सबैभन्दा संवेदनशील आँखा
बटुलिदिनु छ आँसुहरुको लामो नदीले तय गरेको
हजारौं माइलको यात्रा
इरान र प्यालेस्टाइनका जङ्गलहरुमा
नयाँ इतिहास कोर्ने भ्रमित विश्वास देखाएर
दिनहुँ
अराजक मानसिकताको बन्दुक बोकाइएको
एक प्यालेस्टाइनी बालकलाई भेटाएर
खिचिदिनु छ आफूसँगै – जसोतसो बोकिहिँडेको
एकथान निर्दोष मुस्कान
जो कुनै बखत
खोसिनसक्छ प्रतिकूल समयको निरंकुश हातबाट
युद्धले ग्रस्त बग्रेल्ती लासहरुमाथि
बुझेर
मृत्युको कुनै देश,धर्म र दर्शन हुँदैन
चढाइदिनु छ संवेदनायुक्त श्रद्धाञ्जलीको पुष्पगुच्छा
कर्णालीको तीरैतिर
युगौंदेखि ईन्द्रेणी सपना बोकेर
हिँडिरहेका धमिला आँखाहरुलाई
फर्किदा
ल्याइदिनु छ चेतनाको सबैभन्दा उज्यालो घाम
उन्मुक्त भइ
पहिल्याउने छ जसले
आफैंले खनेको विकासको साँघुरो गोरेटोसम्म
देशको सुनौलो भविष्य
निराशाको अन्धकार क्षितिजमा हाम फाल्नुपूर्व
योजनाको अलिकति नौलो अनुभूति लिएर
जसरी पनि
आइपुग्नु छ म आफ्नै देश ।
-उमेश पुन
रुकुम पश्चिम्
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com