उसले एकदिन आएर
मेरो हातमा एउटा किताब थमायो
मुसुक्क हाँस्दै,
पढ्नु है भनेर गयो।
त्यो गुलावी गाथा भएको किताब
पहिलो पानामा लेखिएको थियो
मेरी प्यारी उनीको सम्झनामा।
किताबको पहिलो अंशमा थिए
कविताहरु
सबै उसको प्यारी उनीको बारे लेखिएको।
उनको चम्किलो मुहार,
उनको मधुरो हासो,
उनको गाजलु आँखा र
उनले गाउने भाकाहरुको
बयानले भरिएको।
किताबको दोस्रो अंशमा थिए
निबन्धहरु
यी पनि सबै उनकै नामको ।
उनी खुसी हुँदा गर्ने हर्कतदेखि
दुःखी हुँदा आँसु झार्दै
खाना खाने बानीसम्म,
रिसाउँदा आँखा तर्दै हेर्नेदेखि
उनको मनपर्ने गीत आँउदाको उत्साहसम्म,
सबैको व्याख्यात्मक टिप्पणीले भरिएको।
तेस्रो अंशमा समेटिएका थिए
कथाहरु
यिनमा पनि थिए उनकै गाथाहरु
तर कथाहरुमा भने पात्र थिए
दुई उनी र उ।
जसमा कल्पना गरिएको थियो,
रोमान्चक यात्राहरुको
एक अर्काको साथ।
किताबको अन्तिम पाना
पल्टाउदै गर्दा
मनमा अनेक भावनाहरु खेल्न थाले,
कति रमाइलो हुन्थ्यो
यदि उसले यो किताब
उसको उनीलाई दिन सकेको भए।
वा
परिस्तिथि बेग्लै हुन्थ्यो,
मैले आफ्नो भावना
उ समक्ष राख्न सकेको भए।
Read More Poetry From Sajira Shrestha:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com
Facebook Comments