जीवन यसै जटिल छ
तिमी किन जन्जिरले यसलाई बाँध्न खोज्छौ?
तिम्रो क्रुरताले मेरो देशको खुशी लुट्दैछ,
तिमी मान्छे भएर कसरी यस्तो निर्दही हुन सक्छौ?
युद्धको झिल्काले छोएपछी,
लथालिंग देशले विरहीको गीत गाउँछ,
आशाहरुको घर भत्किएपछि,
अस्तव्यस्त जीवन त्यसै खरानी भइजान्छ,
हाम्रो सुरक्षाको चिन्ता कसले गर्छ?
सिथिल भएको मेरो देशलाई अब कसले बचाउँछ?
यो दुई देश बीचको लडाईमा,
तिमीले बीच सडकमै मारेका छौ कयौँ सपनाहरु,
लुछेर जवान योद्धाहरु,
कुल्चिएका छौ प्रेम गर्ने छातीहरु,
घेरेर मेरो देशलाई एकैपटक,
अन्धकार बनाएका छौ भविष्यहरु,
फालेर बम र बारुद जलाएका छौ भवनहरु,
बगाएका छौ रगतका भेलहरु,
यसरी युद्ध गरेर तिमीले कहाँ पाउनेछौ
शान्तिका बिम्ब-प्रतिबिम्बहरु?
तिमीले क्षति पुर्याउँदै गर्दा,
मेरो देशको क्षितिजको रङ्ग उड्छ,
तिमीले त्राही-त्राही मच्चाउँदा,
विक्षिप्त भई मेरो मुटुले सास फेर्न बिर्सन्छ।
युद्धको यति गहिरो तरंग फैलाएर
आखिर तिम्रो देशले के पाउँछ?
तिमीले मेरो देशको अस्तित्व लुट्दै गर्दा,
मेरो मन भासियो भने,
मैले आफूलाई बचाउन भाग्नु पर्ने हुन्छ,
अस्थिर यी पाइलाहरु भाग्दा भाग्दै
घाइते भए भने?
तिम्रो सत्ता र सोचको भुमरीले
मलाई अठ्याउन सक्छ,
युद्ध जस्तो भयानक रोगमा च्यापिएर
मेरो शरीर रगतमा लत्पत्तियो भने,
भोलि रातो रङ्ग फेरि कसले मनपराउँछ?
मैले ज्यान गुमाएर तिमीले युद्ध जित्छौ भने,
मेरो सन्ततीको अस्तित्व भोलि कसले जोगाउँछ?
मानस्पटलमा डर र त्रास भरेर तिमीले,
कति आमाको काख रित्याएको छौ,
खोसेर ओठको मुस्कान तिमीले
कलिला बालकलाई टुहुरो बनाएका छौ,
अंगालेर युद्धलाई तिमीले,
मेरो देश र जीवन दुवै आसुँमा डुबाएका छौ
युद्धले लिइआउने यस्तो परिवर्तनमा
तिमीले गर्व गर्न कसरी सकेका छौ?
वित्थामा युद्ध गरेर तिमी कहाँ पुग्छौ?
अन्त्य तिम्रो पनि हुनेछ कुनै दिन,
जितेर युद्ध तिमीले आफूसँग के नै लान्छौ?
सक्छौ भने,
युद्ध जितेर होइन मन जितेर देखाउ,
दुखेको घाउमा मलम लगाएर पठाउ,
युद्ध भन्दा ठूलो जित त्यही हुनेछ,
खुशी, शान्ती र सन्तुष्टी सबै
त्यही जितमा भेटिनेछ।
Read More From Muskan Pandey:
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com